खोप लगाउँदै गर्दाको त्यो क्षण
सवैभन्दा पहिले कोभिड १९ चीनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तीव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिस संक्रमित हुन पुगे भने संक्रमितको संख्या लाखौं पुग्न कति पनि समय लागेन । जव अमेरिका र युरोपका शक्तिशाली देशमा यसले विकराल रुप धारण गर्यो, तत्पश्चात विश्व नै आतंकित हुन पुग्यो । सुविधा सम्पन्न देशहरुले समेत यसलाई नियन्त्रण गर्न नसकेपछि विश्वका मानिसहरु आतंकित हुनु स्वभाविक थियो ।
नितान्त नयाँ खालको सरुवा रोग भएकोले त्यतिबेला यसको रोकथाम गर्ने न त कुनै औषधी बनेको थियो, न कुनै खोप नै निस्केको थियो । सरुवा रोग भएका कारण यसवाट बच्न केवल सावधानी अपनाउनुको विकल्प थिएन । यही तथ्यलाई मनन गर्दै विश्व स्वास्थ संगठनले स्वास्थ्यसम्वन्धि मापदण्ड वा स्वास्थ्य आचारसंहिता तयार गर्यो र कोभिडबाट प्रभावित सवै देशलाई हुबहु पालना गर्न गराउनका लागि आग्रह गर्यो । मास्कको प्रयोग, स्यानिटाईजरको प्रयोग, सामाजिक दुरी कायम गर्ने, सावुनपानीले हात धुने, भीडभाडमा नजानेजस्ता सावधानीका उपाय कडाईका साथ पालना गर्दा मात्र यो महामारीवाट बच्न र बचाउन सकिने अवस्था रह्यो । त्यसैले, कोभिड प्रभावित सवैजसो देशले स्वास्थ्यसम्वन्धि यी मापदण्ड पालना गर्न थाले ।
यद्यपी लकडाउनका साथै सावधानीका उपाय अपनाउँदा अपनाउँदै पनि मानिसले मृत्युवरण गरिरहेकै थिए भने संक्रमित हुनेको संख्या पनि वृद्धि भैरहेकै थियो । तर पनि जुन जुन देशमा कडाईका साथ सावधानीका उपाय अवलम्वन गरियो, ती देश हेलचेक्र्याइ गर्ने देशको तुलनामा कम प्रभावित देखिए । यसको ज्वलन्त उदाहरणको रुपमा चीनलाई लिन सकिन्छ । त्यहाँ बुहान प्रान्तमा देखिएको कोभिडलाई अन्य कुनै प्रान्तमा पनि फैलिन दिइएन । त्यसै गरी सुरुमा देखिएको संक्रमित संख्या ४ हजारलाई त्यतिमै सीमित राखियो र अरुलाई सर्न दिइएन । पद्दतिमा चलेको राज्य प्रणाली र अत्यन्तै अनुशासित नागरिक यसको पछाडिको कारण थियो ।
सुरुका दिनहरुमै युरोप, अमेरिकी देशहरुमा यसले वितण्डा मच्चाईरहँदा, ठूलो संख्यामा मानवीय क्षति पुर्याईरहँदा नेपालमा भने अत्यन्तै नगन्य रुपमा यसको प्रभाव परेको थियो । २०७६ को फागुनमा नेपालमा विदेशबाट फर्किएका एक युवालाई पोजेटिभ देखिएपछि चैत्र १८ गतेबाट सरकारले देशभर लकडाउनको घोषणा गरेको थियो । केवल एकजनालाई देखिएकोले सुरु सुरुमा खासै यसको प्रभाव परेको थिएन । विस्तारै संक्रमितको संख्या बढेपनि अन्य देशको तुलना र प्रतिशतका हिसावले संक्रमितको संख्या नगन्य नै रहेको थियो ।
त्यतिबेलासम्म हामी विश्वस्त थियौं कि हाम्रो खानपान, संस्कार, संस्कृति, व्यवहार, धर्म, वातावरण, प्रकृति, भूगोल आदिका कारण हामीमा रोगसँग लड्न सक्ने क्षमता सवल रहेको छ । तर जव सक्रिय संक्रमितको संख्या वृद्धि हुन थाल्यो र मृत्यु समेत हुन थाल्यो, त्यसपश्चात विस्तारै अन्य देशमा झैं नेपालको आकाशमा पनि आतंकको कालो वादल मडारिन थाल्यो । डर र त्रासले नेपालीको मन र मष्तिष्कलाई पनि बेचैनी बनाउन सुरु गर्यो । एकातिर लकडाउनका कारण बन्द, ब्यापार, पेशा, व्यावसाय ठप्प भएकाले नागरिकहरुको रोजी, रोटी गुमिरहेको थियो भने अर्कोतर्फ दिन प्रतिदिन कोभिडको प्रभाव बढ्दै गइरहेको थियो ।
यसरी संक्रमित र मृतकको संख्या बढ्दै जाँदा चिनजानका व्यक्तिहरुको समेत मृत्युको खवर भटाभट पाउँदा भने झनै आतंकित हुने र पीडाबोध हुने अवस्था सिर्जना भयो । यतिबेलासम्म आइपुग्दा न त औषधी नै पत्ता लागिसकेको थियो, न त खोप नै । केवल मेडिकल विज्ञहरुको प्रयास जारी थियो । २०७७ असारसम्म पुग्दा कोभिडको प्रभाव विस्तारै कम हुन थाल्यो । सरकारले लकडाउन खुकुलो गर्दै लग्यो ।
यही प्रशंगमा म कोभिडमा मेरो परिवारको अनुभव बाँड्न चाहन्छु । २०७७ भदौ महिनामा कोभिडको खासै लक्षण नै नदेखिईकन सामान्य जिउ दुखाइमा मेरो जीवनसंगिनीलाई पोजेटिभ देखियो । त्यस्तो गाह्रो नभैकन दुइ तीन दिन विहान बेलुका सामान्य सिटामोल खाएपछि पूर्ण निको भइन् । २१ दिनमा पीसीआर चेक गर्दा रिपोर्ट नेगेटिभ आयो ।
त्यसको डेढ महिनापछि सामान्य टाउको दुखाइमा मलाई पोजेटिभ देखियो । मैले पनि कोभिड विज्ञ डाक्टरको सल्लाहअनुुसार तीन दिन विहान बेलुका सामान्य सिटामोल खाँए र पूर्ण रुपमा निको भएँ । यद्यपी शारीरिक कमजोरी भने दुवैले अनुभव गर्यौं । कोभिड लागेर अस्पतालमा गम्भीर अवस्थामा छटपटाइरहेका र मृत्युवरण गरेकाहरूलाई मिडिया तथा सामाजिक सञ्जालमा देख्दा कता कता डर भने पैदा हुन्थ्यो । २१ दिन पश्चात रिपोर्ट नेगेटिभ आएपछि भने त्यो डर र त्रासवाट मुक्त भइयो ।
त्यतिबेला मनमा प्रश्न उब्जने गर्दथ्यो कि के संसारमा कोभिडको औषधी बन्ला त ? यसका विरुद्ध लगाउने खोप निस्केला त ? यो कल्पना भन्दा बाहिरको कुरो मानिन्थ्यो । तर नभन्दै मेडिकल विज्ञहरुको अथक प्रयासका कारण चीन, भारत, अमेरिका लगायतका देशहरुमा खोप बन्न थाल्यो ।
फेरी पनि प्रश्न उब्जियो, के खोप हाम्रो पहुँचसम्म आईपुग्ला त, के खोप लगाउन पाउने भाग्यमानी हामी पनि हौंला त ? भन्ने प्रश्नले मनमा घर गरिरहन्थ्यो । नभन्दै पहिलोपटक छिमेकी देश भारतवाट कोभिशिल्ड खोप भित्रियो । त्यसैगरी दोश्रो पटक छिमेकी देश चीनबाट भेरोसेल खोप भित्रियो । पछिल्लो पटक अमेरिकाबाट जोन्सन एण्ड जोन्सन ल्याइयो ।
यसरी सरकारी प्रयास र चिकित्सकको प्रयासमा म लगायत आमनेपालीहरुको कल्पनामा मात्र सीमित कोभिड विरुद्धको खोप आज हामी नेपालीहरुको पहुँचसम्म आईपुग्दा हामी आफूलाई अत्यन्तै भाग्यमानी ठानिरहेका छौं । खोप लगाउँदै गर्दाको क्षण कता कता म भावुक बन्न पुगेछु । राज्य संरक्षक भएकोमा गौरव महसुस भयो । बाँकी रहेका सम्पूर्ण नेपालीले छिटोभन्दा छिटो खोप लगाउने अवसर प्राप्त गरुन् भन्ने कामना गर्दछु ।