आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रेल सञ्चालनका लागि ज्यालादारी कर्मचारीलाई तालिम, पूर्व कर्मचारीले गरे विरोध

बिहीबार, २९ पुस २०७८, ११ : ०९
बिहीबार, २९ पुस २०७८

नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।

कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर्मचारी नियुक्त गरिएको भन्दै महाप्रवन्धक निरञ्जन झाले उनीहरुलाई हटाएका थिए । पहिलो चरणमा सहायक स्टेशन मास्टर पदका तालिम लिएका इन्द्रजित गोइतले आफूहरुले यस्तो तालिम लिइसकेको उल्लेख गर्र्दै आफूहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गरी फेरि तालिम सुरु गरिएको जनाए ।

उनले विगतमा आफूहरुले पनि एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत नदिई पुनः सोही तालिम अरुलाई दिनु अनुचित भएको बताए ।

त्यस्तै सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पुराना जनशक्तिलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम सञ्चालन गरेको भन्दै आपित्त जनाए । उनले पुराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरे ।

यता महाप्रबन्धक निरञ्जन झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरुमार्फत नयाँ नियुक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको जानकारी दिए । उनले यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको बताए ।

महाप्रबन्धक झाले कानुन अनुसार नयाँ कर्मचारी नियुक्त गरेको र नेपाल रेल्वे ऐन अनुसार तालिम सञ्चालन गरिरहेको बताए ।

सरकारले खरिद गरेको दुई सेट रेल नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषाको ईनर्वामा थन्क्याएर राखिएको छ । उक्त रेल सञ्चालन गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप