शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममा करियर चाहनेलाई थिएटरमा नअल्मलिन विपिनको सुझाव

बिहीबार, २९ पुस २०७८, १० : ५०
बिहीबार, २९ पुस २०७८

अभिनेता विपिन कार्कीले फिल्ममा करियर बनाउने सोच भएकालाई व्यक्तिलाई थिएटरमा नअल्मलिन सुझाएका छन् । अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँगका हालै अन्तरक्रियामा उनले फिल्म र थिएटरको अनुभव समेत बाँडेका छन् ।

‘मलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर दुवैमा व्यापक भिन्नता रहेछ,’ विपिनले भने  । ‘आचार्य’ फिल्ममा सानो भूमिकाबाट अभिनय सुरु गरेका विपिनले ‘लुट’ र ‘छड्के’ पछि ‘पशुपतिप्रसाद’ अभिनय गरेका थिए । ‘पशुपतिप्रसाद’ मा गरेको भष्मे डनको भूमिकाले उनी अभिनयमा सर्वत्र चिनिन सफल भएका थिए ।

कार्यक्रममा विद्यार्थीसँगको कुराकानीमा उनले आफूले गर्ने चरित्रको तयारीदेखि फिल्ममा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए । आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आ–आफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए । दुई घण्टा लामो अन्तर्क्रियामा गुरुकुलका दिनदेखि अहिलेका दिनसम्मको चर्चा गरेका विपिनले फिल्ममा सफल हुन साना साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिन सुझाएका थिए ।

‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो । तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो । फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ । मेरो तपाईँहरूलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’ उनले विद्यार्थीलाई सुझाएका थिए । 

अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तर्क्रियामा निम्त्याउँदै आएको छ । चार हप्तासम्म चल्ने यो अन्तर्क्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थी माझ आफ्नो अनुभव बाँडिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप