शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सातामै ९ प्रतिशतले बढ्यो कोरोना, लकडाउनको त्रास

बुधबार, २८ पुस २०७८, २१ : ३३
बुधबार, २८ पुस २०७८

 

आज २०७८ पुस २८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. कोरोना एक सातामै ९ प्रतिशतले बढ्यो

नेपालमा कोरोना संक्रमण दर एक सातामै ९ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो साता आरटी–पीसीआर विधिबाट ४९ हजार ८७७ जनाको परीक्षण गरिएकोमा २ हजार ३० जनामा संक्रमण पुष्टि भएको थियो । यो साता परीक्षण दर २५.८ प्रतिशतले बढाउँदै ६२ हजार ७५५ जनाको पीसीआर परीक्षण गरेकोमा ८ हजार ३७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण दर १३.३ प्रतिशतले बढाउँदा संक्रमण दर अघिल्लो साताको तुलनामा ९.२ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ ।

२. बतासको ७ बुँदे विज्ञप्ति 

विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ  सिकाउने उद्देश्य भने आफ्नो नभएको उनले बताएका छन् । 

३. प्रदेश २ मा शक्ति संघर्ष

नेकपा एमालेको प्रदेश २ मा नेता रघुवीर महासेठ र प्रभु साहबीचको शक्ति संघर्षले प्रदेश २ का केही जिल्लामा अधिवेशन सम्पन्न हुन सकिरहेको छैन । दुवै नेताबीच मधेशमा आफूलाई शक्तिशाली देखाउन होडबाजी चलेकाले जिल्लाको अधिवेशन हुन नसकेको हो । एमाले केन्द्रीय सचिव समेत रहेका महासेठ पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् भने स्थायी कमिटी सदस्य साह माओवादी केन्द्रबाट एमालेमा गएका हुन् । 

 


 

४. ४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने

सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ ।  ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

५. सरकार, काँग्रेस र माओवादीको ‘रहस्यमय’ मौनता

 ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली काँग्रेस विगतदेखि नै निरन्तर प्रस्ट छ । नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनीतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली काँग्रेसको सम्पुर्ण साथ सरकारको साथमा रहने छ,’ २८ वैशाख २०७७ मा काँग्रेस सभापति शेरबहादुर देउवाले लिपुलेकमा भारतीय पक्षले सडक उद्घाटन गरेपछि विज्ञप्ति जारी गर्दै भनेका थिए ।

६. सुवेदी दम्पती रिहा

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ ।  पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले रातोपाटीलाई बताए ।

७. आर्थिक वृद्धिमा बाधक बन्दै ओमिक्रोन

विश्व बैंकले सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने सात प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेको छ । 

८. लकडाउन त्रास

सरकारले राखेको चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने करिब–करिब निश्चित भइसकेको छ । यही साताको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखा समितिमा बोल्दै अर्थतन्त्रमा चारैतिरबाट चाप परेकाले सरकारले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने बताएका थिए ।

९. राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । 


१०. १० वर्षमा बल्ल बन्यो पुल

निर्माण सम्झौता भएको साढे १० वर्षपछि बागमती प्रदेशको २ जिल्ला सिन्धुली र मकवानपुर जोड्ने बागमती खोलामा पुल निर्माण भएको हो । एक दशक लामो प्रतीक्षापछि पुल निर्माण भएकोमा स्थानीय भने दङ्ग छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप