बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घातलाई प्रश्रय दिनु हुँदैन : रामचन्द्र पौडेल

बुधबार, २८ पुस २०७८, २० : २३
बुधबार, २८ पुस २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तर्घातलाई प्रश्रय दिन नहुने बताएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

‘पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तर्घातलाई प्रश्रय दिनुहुँदैन’, उनले भने, ‘काँग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।’ वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताए ।

वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, ‘केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।’ वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति श्याम मौरातीले पदस्थापन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप