बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

बुधबार, २८ पुस २०७८, १९ : ३९
बुधबार, २८ पुस २०७८

संखुवासभाको खाँदबारी नगरपालिका –१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । 

प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तीको क्रममा सडक छेउमा थुपारिएको बोरा खोलेर हेर्दा विभिन्न सामग्रीहरु फेला परेको बताए । मंगलबार बिहान सडक छेउमा राखिएको बोरा भित्र ९ हजार ५ सय २० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधी १ सय १६ प्याकेट, केएचटुपिओ नामको औषधी १५ प्याकेट, सिलिलोङ नामको औषधी २० बोतल र वाटर पम्प लेखिएको औजार एक थान फेला परेको हो । चेप्टो र चिल्लो रुद्राक्षको दाना चिनियाँ ब्यापारीहरुको रोजाईमा पर्दै आएको छ । 

सबै सामग्री भन्सार छलेर ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त सामान हालसम्म कोही पनि दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बरामद भएको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी पठाईएको प्रहरी निरिक्षक अधिकारीले बताए । पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाईदै आएको छ । क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किने गरेको छ । त्यस्तै, रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधीहरु छर्किने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप