शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा सक्रियतापूर्वक लाग्न मन्त्री लामाको निर्देशन

बुधबार, २८ पुस २०७८, १८ : ४९
बुधबार, २८ पुस २०७८

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बुधबार हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय रुपमा लाग्न र आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

मन्त्री लामाले अस्पताल र निर्देशनालयले प्रदेशस्तरमा कोरोना जोखिम नियन्त्रणका लागि भएको तयारी र व्यवस्थापनका बारेमा  हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयबाट जानकारी लिएका थिए । निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामहरु र पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।

मन्त्री लामाले हेटौंडा अस्पतालको बन्दै गरेको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए । उनले बन्दै गरेको नयाँ भवनको बाँकी काम तत्काल सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरी कोरोना नियन्त्रण र स्वास्थ्य उपचारका अन्य सुविधाहरु सञ्चालन गर्न निर्देशन दिएका छन् ।

उनले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम तत्काल अघि बढाउन र स्वास्थ्यकर्मीहरुको अवस्थाबारे सचेत रहन पनि आग्रह गरे । उनले स्वास्थ्यकर्मीहरुले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोगमा कुनै कमि नरहने र आगामी दिनका लागि पनि तयारी अवस्थामा रहेर सक्रियतापूर्वक काम गर्न आग्रह गरे ।

प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिबद्ध रहेको भन्दै उनले अस्पताल टिम पनि सोहीअनुसार प्रतिबद्ध हुनपर्ने उनले बताए । त्यस्तै, स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्यअनुसार खोप अभियान सञ्चालन हुन नसकेको र त्यसको प्रभावकारितातर्फ ध्यान दिन पनि आग्रह गरे । उनले खोप सेवालाई थप प्रभावकारी ढंगले अभियान सञ्चालन गर्न र आम नागरिकको पहुँचमा पुर्याउन पनि निर्देशन दिए ।

खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईहरुले जनचेतनामूलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप