‘द ब्रिटिश कलेज नेपालमै विश्वस्तरीय शिक्षा दिने शैक्षिक संस्था हो’
नेपाल सरकारबाट अनुमति लिएर सन् २०११ देखि नेपालमै विश्वस्तरीय शिक्षा दिइरहेको शैक्षिक संस्था द ब्रिटिश कलेज यतिखेर चर्चामा छ । युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड र लिड्स बेक्केड युनिभर्सिटीसँग सहकार्य गरी नवीनतम र अन्तरराष्ट्रिय स्तरको पाठ्यक्रममार्फत नेपाली विद्यार्थीलाई दीक्षित गराइरहेको कलेजले हालै साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय नेपालमा भित्र्याइसकेको छ ।
यो विषय भित्र्याएसँगै यो कलेजको चर्चा चुलिँदो छ । किनकी, साइबर सुरक्षामा विविध उल्झन झेलिरहेको र समस्या पर्दा विदेशी जनशक्ति गुहार्नुपर्ने स्थितिलाई अन्त्य गर्न डिजिटल फरेन्सिकसहितको यो कोर्ष नेपालमा अत्यावश्यक भइसकेको थियो । यो विषयमात्रै नभइ द ब्रिटिश कलेजले नेपालका अन्य शैक्षिक संस्थाले पठनपाठन नथालेका र पढ्नका लागि विदेश नै पुग्नुपर्ने वाध्यात्मक अवस्थालाई पनि केही हदसम्म अन्त्य गर्दैछ । फिनटेकदेखि तथ्याङ्क विज्ञानसम्मका कोर्सहरू नेपालमै अध्ययन गराउनेगरी कलेजले सरकारसँग स्वीकृति मागिसकेको छ । २०१३ देखि ब्रिटिश कलेजमा आवद्ध र हाल कलेजको एशोसियट डीन रहेका अरूण जोशीसँग द ब्रिटिश कलेज, यसको शैक्षिक गतिविधि र भावी योजनाबारे रातोपाटीले गरेको कुराकानी :
नेपालमा नवीनतम विषय भित्र्याएको दाबी गरिरहने ब्रिटिश कलेज कस्तो शैक्षिक संस्था हो ?
स्थापनाकालदेखि नै द ब्रिटिश कलेज विश्वस्तरीय अन्तरराष्ट्रिय शिक्षा प्रदायक संस्थाका रूपमा रहीआएको छ । यो कलेजले मुख्यतः बेलायती पाठ्यक्रमको शिक्षा दिने गरेको छ । हाम्रो लक्ष्य र रणनीति नै यही हो । यहाँबाट दीक्षित भएका जनशक्ति रोजगार बजारमा संसारभर नै अब्बल रहुन् भन्ने लक्ष्यसाथ हामीले नेपालमा विश्वस्तरको शिक्षा भित्र्यायौं । अर्कातर्फ, दीक्षित विद्यार्थीहरूलाई अभिनव उद्यमशीलतामा आवद्ध हुने शैक्षिक आधार दिने गरेका छौं ।
हामीले सन् २०१२ मा ब्रिटिश एजुकेशन नेपालमा भित्र्यायौं । युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड र लिड्स बेक्केड युनिभर्सिटीसँग सहकार्य ग¥यौं । हामीले त्यतिखेर जनरल बिजनेश प्रोगाम र आईटी प्रोगाम शुरू गरेका थियौं । आज हामीसँग आठवटा कोर्स छन् । उल्लेखितसँगै हस्पिटालिटी बिजेनश म्यानेजमेन्टदेखि साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिकसम्मका कोर्स द ब्रिटिश कलेजमा उपलब्ध छन् ।
व्यवस्थापनसँगै अरू कोर्स पनि पठनपाठन गराउने योजना छ ?
यो योजना छ । अहिले पनि व्यवस्थापनबाहेक बीएस्सी कम्प्युटिङ र एमएस्सी इन्फर्मेशन एण्ड टेक्नोलोजी पढाइरहेका छौं । साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पनि विज्ञान संकायअन्तर्गतकै हो । अर्कातर्फ, हामीले फाइनान्स, मार्केटिङ, ह्युमन रिसोर्स, एमएस्सी फिनटेक (फाइनान्सिएल टेक्नोलोजी) लगायत कोर्षहरू पाइपलाइनमा छन् । नेपाल सरकारले स्वीकृति दिएपछि आगामी सेप्टेम्बरदेखि दुईवटा कोर्समा पठनपाठन नेपालमै शुरू हुनेछ ।
तपाईंहरूले नवीनतम कोर्सहरू ल्याइरहनुभएको छ । शैक्षिक पूर्वाधार पनि तुलनात्मक हिसाबले सुविधासम्पन्न देखिन्छ । कुन वर्गका विद्यार्थीहरूलाई लक्षित गर्नुभएको हो ?
मध्यमवर्गीय विद्यार्थीलाई नै लक्षित गरेर हामीले शैक्षिक कार्यक्रमहरू चलाइरहेका छौं । अन्तरराष्ट्रियस्तरकै मान्यताप्राप्त शैक्षिक संस्था भएकाले बेलायतकै विश्वविद्यालयका सुविधाहरू हामीले सुनिश्चित गरेका छौं । कक्षाकोठादेखि प्रयोगशालासम्म सोहीस्तरको छ । रजिष्ट्रेशन शुल्कदेखि सबै लागतका कारण निम्न मध्यमवर्गीय विद्यार्थीलाई अलिक भार पर्नसक्छ । शैक्षिक शुल्क नेपालका अन्य शैक्षिक संस्थाहरूमा भन्दा धेरै नै बढी नभएपनि समयका हिसाबले अलिक बढी पर्न जान्छ । स्थानीय विश्वविद्यालयहरूमा शुल्क अलि कम भएपनि समयमै दीक्षित नहुनु र रोजगारी सुनिश्चित नहुने समस्या द ब्रिटिश कलेजमा छैन ।
पूर्वाधारबारे केही उल्लेख गर्नुभयो, नेपालका अरू शैक्षिक संस्थामा भन्दा द ब्रिटिश कलेजमा निकै राम्रो पूर्वाधार छ भन्न खोज्नुभएको ?
सबै शैक्षिक संस्थामा पूर्वाधार बढ्नु राम्रो हो । त्यसले शिक्षासँग जोडिएको समग्र पक्षलाई फाइदा पुग्छ । द ब्रिटिश कलेजको कुरा गर्दा हरेक वर्ष सेप्टेम्बरदेखि हाम्रो ऐकेडेमिक साइकल शुरू हुन्छ । पढाइ शुरू हुनुअघि हरेक वर्ष विश्वविद्यालयले हामीकहाँ भएको शैक्षिक पूर्वाधारदेखि जनशक्ति र विद्यार्थीबारे अनुगमन गर्छ । हामीले प्रतिवेदन पठाएपछि बेलायतको विश्वविद्यालयले कोर्षमा भएको परिवर्तन र त्यसअनुसार आवश्यकता परिपूर्ति गर्न सिफारिस गर्छ । किनकी हामीलाई सम्बन्धन दिने विश्वविद्यालयलाई पनि त्यहाँको नियामकले नियमन गरिरहेका हुन्छ । त्यसैले, विश्वविद्यालयले हामीमाथि पनि नियमन गर्ने नै भयो । विश्वविद्यालयको सिफारिसअनुसार नै हामीले कक्षाकोठा, पूर्वाधार, सफ्वेयर, सपोर्ट लगायत पक्षलाई थप बलियो बनाउने गरेका छौं ।
बेलायती विश्वविद्यालयको सम्बन्धन लिएर पढाइरहनुभएको छ, द ब्रिटिश कलेजबाट दीक्षित विद्यार्थीहरू काम खोज्न विदेश नै जानुपर्ने अवस्था छ कि नेपालमै काम पाइरहेका छन् ?
यसबारे हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ । नेपाल वा बेलायतको बजारलाई मात्रै केन्द्रित गर्ने भन्दा पनि हाम्रो पाठ्यक्रम विश्वव्यापी हो । रोजगारदाताले नै अनुसन्धान गरेर आवश्यकता पहिचान गरी तयार पारेको पाठ्यक्रम हामीले अपनाएका छौं । हाम्रो पाठ्यक्रम हरेक तीन वर्षमा परिवर्तन हुन्छ । त्यसैले, विश्वको रोजगार बजारले माग गरेको जनशक्ति उत्पादनमै हामी केन्द्रित छौं ।
यहाँ पढेका विद्यार्थीलाई विश्वको रोजगारी बजारमा कसरी प्रतिष्पर्धी बनाउने भन्ने हामै हाम्रो मुख्य ध्येय हो । यसका लागि केही महत्वपूर्ण दक्षता चाहिन्छ । कम्प्युटर, विज्ञान, प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ र म्याथम्याटिक्समा विद्यार्थी अब्बल हुनुपर्छ । त्यसैसँग सम्बन्धित ज्ञान हाम्रो पाठ्यक्रमले दिन्छ । आज विश्वबजारमा प्रतिष्पर्धी हुन समस्या समाधानदेखि आलोचनात्मक सोचसम्म आवश्यक पर्छ । विद्यार्थीलाई यी समग्र पक्षमा विकास गरेपछि ऊ नेपालमा मात्र नभइ विश्वमै रोजगार पाउन सक्षम हुन्छ ।
तपाईंहरूले कुनै नयाँ विषयमा अध्यापन थाल्दा ‘नेपालमा यो कोर्स पढाउन थाल्यौं’ भन्नुहुन्छ, तपाईंहरूले पढाउने पनि नेपाल विद्यार्थीलाई नै हो । विद्यार्थी दीक्षित भइसकेपछि ‘हामीले नेपाललाई यो योग्यता भएको जनशक्ति दियौं’ भन्ने अवस्थामा तपाईंहरू हुनुहुन्छ ?
विद्यार्थीको रोजगारी र इलमबारे केन्द्रित हुन हामीकहाँ एउटा विभाग नै छ । त्यो विभागको काम नेपालमा रोजगारी दिनसक्ने उद्योगहरूसँग सहकार्य गर्नु हो । हामीसँग व्यापारिकदेखि वित्तीय संस्थाहरूसम्म गरी करिब १०० कम्पनीहरूसँग समझदारी गरिसकेका छौं । हामीले ती संस्थालाई द ब्रिटिश कलेजमा यस्तो पढाइ भइरहेको छ भन्ने जानकारी दिन्छौं र उनीहरूको आवश्यकताअनुसार जनशक्ति दिन तयार भएको बताउँछौं । हरेक शैक्षिक सत्रमा हामीले रोजगारी मेला नै आयोजना गर्छौं । विद्यार्थीहरूले नेपालमै रोजगारी पाउन् भनेर नै यी व्यवस्था गरिएको हो ।
अहिले हाम्रो आल्मुनाइमा करिब १५ सय विद्यार्थी हुनुहुन्छ । आइटी र व्यवस्थापन दुवैतर्फका विद्यार्थीहरूमध्ये करिब ५० प्रतिशत थप अध्ययन निम्ति विदेशमा जानुभएको छ । बाँकी केही विद्यार्थीहरूले द ब्रिटिश कलेजमै स्नातकोत्तर अध्ययन निम्ति भर्ना हुने गरेका छन् । अर्कातर्फ, हामीले रोजगारी भन्दा पनि उद्यमी बन्न सिकाउने गर्छौं । स्टार्टअप व्यवसाय थाल्न के गर्नुपर्छ भन्ने मञ्च पनि दिएका छौं ।
पछिल्लो समय तपाईंहरूले स्नातक तहमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स विषय पढाउनु थाल्नुभएको छ, यो विषय के हो र नेपालका विद्यार्थीले किन पढ्ने ?
हामीले बजारमा अनुसन्धान गरेरै नयाँ विषयहरू पढाउन थाल्छौं । यही क्रममा गरिएको पछिल्लो अनुसन्धानले अबउप्रान्त साइबर सेक्युरिटीजका क्षेत्रमा आवश्यकता र रोजगारीका हिसाबले निकै जनशक्ति चाहिन्छ भन्ने पत्ता लगायौं । नेपालका वित्तीय संस्थादेखि सुरक्षा निकायसम्म अध्ययन ग¥यौं । नेपालमै पनि यो आवश्यक देखियो । निजी क्षेत्रमा साइबर सुरक्षामा निम्तिएका चुनौतीबारे खासै सुनिँदैन । वित्तीय संस्थाहरूमा घटना घटेको सुनिन्छ, तर गुपचुप राख्ने गरिएको सुनिन्छ ।
यस्तो गतिविधि हुँदा अनुसन्धान गर्ने, समस्या समाधान गर्ने र कानूनी प्रकृयामा लैजाने जनशक्ति चाहिन्छ । तर, नेपालमा पर्याप्त जनशक्ति छैन । त्यसैले, नेपालमा अब साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स कोर्स ल्याउनुपर्छ भन्ने ठान्यौं । हाम्रो साझेदार विश्वविद्यालयले पनि यो भर्खरै डिजाइन गरेको कोर्स हो । यो कोर्स बेलायतमा निकै चलेको छ । हुन त नेपालमा यसअघिदेखि नै साइबर र नेटवर्क सेक्युरिटी विषयको पढाइ भइरहेको छ । तर, हाम्रो कोर्सको फरक के हो भने डिजिटल फरेन्सिक्समै ५० प्रतिशत अध्ययन गराइन्छ । विद्यार्थीले कानूनसम्मको दक्षता हासिल गर्नेछन् ।
अहिले विश्व बजारमा प्रयोग भइरहेको सफ्टेवयरकै आधारमा यो कोर्स डिजाइन भएको हो । यो कोर्सको उपादेयता निकै प्रभावकारी हुने देखेरै हामीले भव्य कार्यक्रम नै गरी जानकारी गराइसकेका छौं । हाम्रो मुख्य उद्धेश्य नै यस विधामा दक्ष जनशक्ति उत्पादन गरी रोजगारी प्रदान गर्नु र देशको साइबर सुरक्षा गर्नु हो ।
यो कोर्समा आकर्षण कस्तो छ ?
आकर्षण निकै छ । हामीले सोल्टी होटलमा कार्यक्रम गरी यो कोर्स द ब्रिटिश कलेजमा अध्यापन गराउन लागिएको जानकारी दिएका थियौं । सो कार्यक्रम भएदेखि नै बजारमा साइबर सेक्युरिटीबारे निकै चर्चा भएको छ । अरू शैक्षिक संस्थाका प्रतिनिधिहरूले पनि यो विषयबारे बुझ्न विद्यार्थीहरू आइरहेका बताउनुभएको छ । हामीकहाँ त अवश्य आउने नै भए । धेरै विद्यार्थी आएका छन् । जनवरी तेस्रो सातासम्म द ब्रिटिश कलेजले यो विषय पढ्न चाहने विद्यार्थीको भर्ना लिनेछ ।
यो विषय अध्ययन गराउन सफ्टवेयर र हार्डवेयरमा ठूलो लगानी आवश्यक पर्छ । सबैभन्दा पछिल्लो पुस्तासम्मका कम्प्युटर आवश्यक पर्छ । यसैका लागि तीन महिनाभित्रै हामीले नयाँ ल्याब बनाउँदैछौं । अन्य दुईवटा ल्याब पनि यही कोर्सका लागि तयार गर्दैछौं । जनशक्ति व्यवस्थापनमा पनि निकै ठूलो लगानी गर्दैछौं ।
यो विषय पढ्न निकै रकम खर्चनुपर्ने, पढाइ सकिएपछि रोजगारी या व्यवसायका लागि विदेश नै ताक्नुपर्ने अवस्था आउँदैन त ?
अहिले साइबर सुरक्षा आवश्यक पर्ने सबै संस्थाहरू सचेत भइसकेका छन् । साइबर सुुरक्षासम्बन्धी विभिन्न घटनाहरू बढिरहेका छन् । अब सरकारले यससम्बन्धी जनशक्ति व्यवस्थापन निम्ति नीति ल्याउनैपर्ने भएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले त साइबर सुरक्षामा आवश्यक जनशक्ति भर्ना गर्नैपर्ने प्रावधान नेपालले ल्याइसकेको छ । अरू नीतिहरू पनि आउनेक्रममा छ । निजी क्षेत्रलाई पनि नीतिले बाँधेपछि साइबर सुरक्षाको जनशक्ति राख्नैपर्ने हुन्छ । त्यसैले यो विषय पढ्ने विद्यार्थीका लागि नेपालभित्रै पर्याप्त अवसर सृजना हुँदैछ । सरकारी निकायहरूमा पनि साइबर सुरक्षासम्बन्धी विभाग राख्नैपर्ने हुन्छ । अबको चार वर्षभित्र नेपालमा साइबर सेक्युरिटीका क्षेत्रमा पर्याप्त अवसर सृजना हुनेमा कुनै द्विविधा छैन ।
दोस्रो, हामीले अहिले विभिन्न संस्थामा पुग्दा साइबर सेक्युरिटीबारे कुरा गरिरहेका हुन्छौं । आवश्यकताबारे सोध्छौं । उहाँहरूले पनि यो विधाको जनशक्ति नेपाललाई आवश्यक भएको र अध्ययन गरेपछि रोजगारी पाउने सुनिश्चित भएको बताउने गर्नुभएको छ । अब साइबर सेक्युरिटीका क्षेत्रमा नेपालले उचित कदम, पूर्वाधार र जनशक्ति उत्पादन गर्नैपर्ने र यसो गर्न नसके निकै ठूलो क्षति निम्तिने सबैलाई थाहा भइसकेको छ । विश्वव्यापी अवसरबारे त भन्नै परेन । साइबर सुरक्षा अहिले विश्वकै प्रमुख सुरक्षा मामिला बनिसकेको छ ।
फिनटेक विषयको सन्दर्भ पनि उप्काउनुभएको थियो, यसबारे पनि केही बताइदिनुस् न !
दक्षिणी छिमेकी भारतमा यो विषय निकै लोकप्रिय भइसकेको छ । नेपालमा पनि कोरोना महामारीका बेला बैंक÷वित्तीय संस्थाका सेवा अटोमेसनमा गयो । अहिले हामीले अधिकांश भुक्तानी मोबाइलबाटै गर्नसक्ने भएका छौं ।
फाइनान्स र टेक्नोलोजीलाई संयोजन गरी सेवा दिनसक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो । यो अध्ययन गर्न फाइनान्स ब्याकग्राउन्ड हुनुपर्छ । टेक्नोलोजी हामी सिकाउँछौं । यो विषय नेपालमै पहिलोपटक द ब्रिटिश कलेजले अघि बढाउन लागेको हो । आगामी वर्षदेखि यो विषयको पढाइ थाल्छौं ।
नेपालमा अरू कुन कुन नवीनतम विषयहरू भित्र्याउँदै हुनुहुन्छ ?
फिनटेकका पढाइ आगामी वर्षदेखि शुरू हुन्छ । केही विशिष्ठीकृत कोर्सहरू पनि ल्याउँदैछौं । सरकारबाट स्वीकृति कुरिरहेका छौं । एमएस्सी डेटा साइन्स, बीएस्सी एआई, एमएस्सी फिनटेक कोर्सहरू पाइपलाइनमा छ ।
विद्यार्थीहरूले द ब्रिटिश कलेज नै किन रोज्ने ? यो कलेजले पढाउने विषय बेलायत या अन्य देशमा गएर पढ्दा र यहीँ पढ्दा लागत लगायत पक्षमा विद्यार्थीलाई के फाइदा छ ?
बेलायतको विश्वविद्यालयमा जे पढाइ हुन्छ, द ब्रिटिश कलेजमा पनि त्यही पढाइ हुने हो । लागतका हिसाबले पनि नेपालमा एकचौथाइ रकममै कोर्स सकिन्छ । विद्यार्थीले नेपालमै ग्लोबल सर्टिफिकेट पाउँछन् ।
अन्य शैक्षिक संस्थाको कुरा गर्ने हो भने घोकेर, धेरै लेख्न सक्दामात्रै पास हुन या उत्कृष्ट अंक ल्याउनसक्ने अवस्था छ । विद्यार्थीको समग्र पक्षमै सम्झौता भइरहेको छ । तर, द ब्रिटिश कलेजमा अध्ययन गर्दा त्यस्तो हुँदैन, यो दाबीका साथ भन्छु । हामी विद्यार्थीलाई सम्बन्धित अध्ययनमा निपूर्ण बनाउन कुनै कसर बाँकी राख्दैनौं । कलेजमा भर्ना भएदेखि रोजगारी पाउने बेलासम्म पनि सघाइरहेका हुन्छौं । समर स्कुलदेखि इन्टरनेशनल मोबिलिटी प्रोगामसम्म गरिरहेका हुन्छौं । त्यसैले, द ब्रिटिश कलेजमा पढेको विद्यार्थी दीक्षित बनुञ्जेलसम्म रोजगारीका लागि पूर्णतः तयार हुन्छ ।
नेपालमा थप शैक्षिक सेवा विस्तारबारे द ब्रिटिश कलेजको रणनीति या भावी योजना के छ ?
आगामी पाँच वर्षभित्र द ब्रिटिश कलेजले आफ्नै स्वामित्वको सुविधासम्पन्न भवनमा झण्डै चार हजार विद्यार्थीलाई अध्ययन गराउने लक्ष्य राखेको छ । अहिले हामी आईटी, कम्प्युटिङ र हस्पिटालिटीमा केन्द्रित भइरहेका छौं । भविष्यमा अन्य संकायका कोर्सहरू पनि ल्याउनेछौं । तर, कोर्स ल्याउँदै गर्दा हामी विश्वबजार र नेपालमा त्यसको उपादेयता तथा रोजगारी सुनिश्चितताजस्ता पक्षलाई राम्ररी अध्ययन गर्नेछौं ।
हामीले यो संस्थालाई अन्तरराष्ट्रियस्तरको शैक्षिक संस्थाका रूपमा अघि बढाइरहेका छौं । अब सोहीअनुसार अन्तरराष्ट्रियस्तरकै विषयविज्ञ प्राध्यापकहरूलाई अध्ययन÷अध्यापनमा संलग्न गराउने योजना छ । अहिले सूचनाप्रविधिका कारणले अनलाइनमार्फत त केही काम गर्न त सकिएको छ । तर, विदेशी प्राध्यापकहरू ल्याउन सरकारले नै आवश्यक नीतिगत व्यवस्था गरिदिँदा थप सहज हुनेछ ।
प्राथमिक र माध्यामिक तहमा पनि हामीले शैक्षिक कार्यक्रमहरू नेपालमा अघि बढाइसकेका छौं । काठमाडौं बाहिर पनि केही प्राथमिकदेखि माध्यमिक विद्यालयहरू स्थापना गरिसकेका छौं । अबको पाँच वर्षभित्र द ब्रिटिश कलेजसँग प्राथमिकदेखि स्नातकोत्तर तहसम्मकै र त्यसको केही समयपछि विद्यावारिधी तहसम्मको शैक्षिक पूर्वाधार हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री