शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा रघुवीर र प्रभु साहबीच शक्ति संघर्ष

बुधबार, २८ पुस २०७८, १५ : ०४
बुधबार, २८ पुस २०७८

नेकपा एमालेको प्रदेश २ मा नेता रघुवीर महासेठ र प्रभु साहबीचको शक्ति संघर्षले प्रदेश २ का केही जिल्लामा अधिवेशन सम्पन्न हुन सकिरहेको छैन । दुवै नेताबीच मधेशमा आफूलाई शक्तिशाली देखाउन होडबाजी चलेकाले जिल्लाको अधिवेशन हुन नसकेको हो । एमाले केन्द्रीय सचिव समेत रहेका महासेठ पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् भने स्थायी कमिटी सदस्य साह माओवादी केन्द्रबाट एमालेमा गएका हुन् । 

रघुवीर महासेठले प्रदेश २ को इन्चार्ज समेत पाएपछि नेता प्रभु साहलाई यो कुरा पचेको छैन । उनले इन्चार्जबाट महासेठलाई हटाउनु पर्ने कुरा पार्टीमा पटक पटक उठाएका छन् । पार्टीका केन्द्रीय सचिव रहेका महासेठ प्रदेश २ को इन्चार्ज रहन नसुहाउने उनलाई पार्टीको अरु कुनै जिम्मेवारी दिएर प्रदेशको इन्चार्ज आफूलाई दिनुपर्ने साहले भन्दै आएको एमालेका एक नेताले रातोपाटीलाई बताए ।

प्रदेश २ को इन्चार्ज महासेठ, सहइन्चार्ज लीला श्रेष्ठ, अध्यक्ष रामअवतार यादव रहेकोमा यसमा माओवादी केन्द्रबाट आएका कुनै पनि नेता परेका छैनन् । साहको असन्तुष्टि त्यसमा पनि छ । महासेठले पार्टीको केन्द्रीय महाधिवेशनमा आफ्नो शक्ति देखाउन प्रदेशबाट अत्याधिक मान्छे उपस्थित गराएका थिए । त्यसलाई काउन्टर दिन नेता साहले पुस ८ गते पर्सामा भव्य कार्यक्रमका आयोजना गरे, जसमा एमाले अध्यक्ष ओली प्रमुख अतिथि बनाइएका थिए । कार्यक्रममा महासेठलाई पनि आमन्त्रण गरिए पनि बोलबाला भने साहको थियो, जुन कुरा महासेठलाई पचेको छैन । 

हालसम्म प्रदेश २ को सप्तरी, सिरहा, पर्सालगायत जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । बुधवार बारा जिल्लाको अधिवेशन भइरहेको छ । ती सबै जिल्लामा कुनै न कुनै रुपमा महासेठ र साह दुई पक्षबीच विवाद देखियो । जस्तो कि महासेठ केन्द्रीय सचिव हुन् । तर उनको प्रमुख आतिथ्यतामा हालसम्म कुनै जिल्लामा अधिवेशन हुन दिइएन । हरेक जिल्ला अधिवेशनमा केन्द्रबाट महासचिव वा उपाध्यक्ष प्रमुख अतिथि बोलाएर अधिवेशन गराइएको छ । कार्यक्रमहरुमा महासेठ विशिष्ट अतिथि र साहलाई अतिथि बनाइएको छ । 

प्रभु साहसँग तपाईंको किन विवाद भइरहेको छ भन्ने जिज्ञासाका लागि केन्द्रीय सचिव महासेठलाई सम्पर्क गर्दा उनले आफू बाराको अधिवेशनमा रहेकाले केही बोल्न नमिल्ने भन्दै फोन काटे । प्रभु साह माओवादी केन्द्रमा हुँदा सो पार्टीका अर्का नेता मातृका यादवसँग यस्तै शक्ति संघर्ष हुन्थ्यो । त्यसबेला माओवादी पार्टीको जिल्ला तथा प्रदेश समितिले कहिल्यै पूर्णता पाएन । अहिले त्यही रोग एमालेमा सरेको छ । त्यस्तै शक्ति संघर्ष साह र महासेठको बीचमा भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप