आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष र सचिवको किचलोमा बहुउद्देश्यीय केन्द्रीय संघ, विवाद पुग्यो विभाग

बुधबार, २८ पुस २०७८, १३ : ०८
बुधबार, २८ पुस २०७८

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा तीव्र विवाद देखिएको छ । संघको अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिनाबीच टसल सुरुभएसँगै संघको विवाद छताछुल्ल भएको हो । यतिखेर केन्द्रीय संघ आफ्नो ९औ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको निर्वाचनमा होमिएको छ । गत मंसिर १३ गते बसेको संचालक समितिको बैठकले पुस २९ गतेलाई वार्षिक साधारणसभा डाकेको छ । 

तर, यता संघकै अध्यक्ष सुरेन्द्र भण्डारीले केही दिन अघि मात्र एक सूचना जारी गर्दै संघको निर्वाचनसहितको साधारणसभा तत्कालका लागि स्थगन गरिएको सूचना जारी गरे । यसको प्रतिवाद, लगत्तै सचिव माधव तिमिल्सिनाले पुनः संघकै नाममा अर्को सूचना जारी गर्दै निर्वाचनसहितको साधारणसभा कहिकतै स्थगन नगरिएको र तोकिएकै समयमा हुने भन्दै अर्को सूचना जारी गरेका छन् । अध्यक्ष र सचिवको यस्तो ‘सूचना वार’ले संघका सदस्यहरु अलमलमा परेका छन् ।

के हो संघको विवाद ?
निर्वाचनसहितको साधारणसभामा जाँदै गरेको संघमा सदस्यता वितरणको विषयलाई लिएर विवाद शुरु भएको बुझिएको छ । निर्वाचनको मुखमा अध्यक्षले आफूअनुकुल नयाँ सदस्या वितरण गर्न लागेपछि त्यसको विरुद्धमा केही संस्थापक सदस्यहरु उभिदा संघमा विवाद शुरु भएको हो ।
पुस २९ गते हुने भनिएको संघको निर्वाचनसहितको साधारणसभामा अध्यक्षले २० गतेसम्ममा कम्तिमा थप १८ सदस्य थप्न खोजेपछि विवाद शुरु भएको स्रोतले जानकारी दिएको छ । 

विवाद पुग्यो विभाग
आफु खुशी सदस्यता थप्न नपाएपछि अध्यक्ष भण्डारीले कोरोनाको महामारीलाई देखाउँदै साधारणसभा तत्कालका लागि स्थगन गर्न चाहेका छन् । तर, विपक्षी सचिवले तोकिएको समयमै साधारणसभा र निर्वाचन हुनुपर्ने भन्दै नियामक सहकारी विभाग गुहारेका छन् । सचिव तिमल्सिनाको समूहले विभागमा अध्यक्ष विरुद्ध उजुरी हालेका छन् । 

‘विभागमा उजुरी परेको छ । तर हामीले सकेसम्म मिलाउने हो । तपाईहरु आफै मिल्नुस् भनेका छौ र हामीले भन्ने पनि यहीँ हो । तर, यति गर्दा पनि उहाँहरु मिल्नुभएन र साधारणसभा गर्न सक्नुभएन भने कानुन अनुसार विभागले हस्तक्षेप गर्छ’ विभागका रजिष्ट्रार झलकराम अधिकारीले भने, ‘अन्तिम विकल्पमा विभागले नै साधारणसभा आह्वान गर्छ र निर्वाचन समेत सम्पन्न गरेर उहाँहरुलाई नै हस्तान्तरण गर्छ ।’
रजिष्ट्रार अधिकारीका अनुसार उक्त मुद्दामा राष्ट्रिय सहकारी महासंघको भूमिका देखिनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप