ad
x

मधेसी समुदायमा प्रचलित मृत्यु संस्कारभित्र वैज्ञानिक सचेतना

person explore access_timeपुस २८, २०७८ chat_bubble_outline0

अहिले कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ । पहिलो र दोस्रो लहरको तुलनामा कोरोनाको तेस्रो लहर निकै तीव्र देखिएको छ । कोरोनाको प्रसारमा मानिस–मानिसको निकटता नै प्रमुख कारण हो । कोरोनाको विस्तारले जुनसुकै ठाउँका मानिस किन नहोऊन्, एकअर्कासित कसरी नजिकमा छन् र अन्तर्सम्बन्धित छन् भन्ने स्पष्ट पारेको छ । विश्वका मानव एकअर्काका दुःख र पीडाबाट पीडित हुने रहेछन् र एकअर्कासित प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित हुँदा रहेछन् भन्ने कुरो प्रमाणित भएको छ । 


कोरोनाको विस्तार हुँदै गर्दा बचाउको लागि दुई मिटरको दुरी अपनाउनुपर्ने सन्देश दिइन्छ । कोही सम्भावित संक्रमितबाट असंक्रमितमा संक्रमण नहोओस् भन्ने उद्देश्यले दुई मिटरको दुरीलाई एउटा अस्त्र बनाइएको होला । यसैगरी कोराना संक्रमितबाट टाढै बस्नुपर्ने र झन्डै दुई सातासम्म संक्रमितलाई एकान्त वासमा राख्नुपर्ने उपायहरु प्रभावकारी बताइन्छन् ।



कोरोना संक्रमण भइसकेको मानिसबाट अर्को मानिसमा नसरोस् भनेर अहिले जुन विधि अपनाएको देखिन्छ, यसभन्दा उच्च सचेतना तराई मधेसको संस्कृतिमा अनादिकालदेखि प्रयोग र प्रचलनमा रहेको देखिन्छ । तराई मधेसमा मधेसी समुदायको मृत्यु संस्कारको केही पक्ष कोरोना सचेतनाको आधुनिक विधिसित धेरै मिल्दो देखिएको छ ।



लासलाई छुुनु हुँदैन भन्ने मान्यता छ । जसले लासलाई छुन्छ वा जसलाई लास छुनुपर्ने हुन्छ, उसले ननुहाई घरभित्र प्रवेश नै गर्नु हुँदैन । लासलाई छुने मानिसले आफूले लगाएको सम्पूर्ण वस्त्र अनिवार्य रुपमा सफा गर्नुपर्छ अर्थात् पानीमा राम्ररी धोई पखाली गर्नै पर्दछ । लासलाई छोएको मानिसलाई छोएमा पनि यही विधि र प्रक्रिया अपनाउनुपर्ने चलन छ । त्यसैले मलामी जानेहरु अनिवार्य रुपमा नुहाएरै फर्किन्छन् र आफूले लगाएका सम्पूर्ण कपडा अवश्य धुन्छन् । मलामी जानेहरुमध्ये जो कोही पनि अरुको जीउमा छोइँदा उसले लगाएका सम्पूर्ण कपडा अनिवार्य रुपमा धोई पखाली गर्नै पर्ने चलन रहेको छ । यसको अन्तर्यमा के देखिन्छ भने मृतकबाट कुनै किसिमको जीवाणु वा भाइरस अन्यमा नसरोस् । 



लास बोक्ने तथा सद्गति गर्नेहरुसित निश्चित दुरी बनाएर हिँड्नुपर्ने, लासलाई बोकेर घाटतिर मलामी जाँदा लाससँगै धुँवायुक्त आगो लिएर जानुपर्ने चलन रहेको छ । धुँवाले त लास कता लगेको हो भन्ने परम्परागत हिसाबले संकेत पनि गरेको हुनुपर्छ तर आधुनिक दृष्टिकोणले विचार गर्ने हो भने लासको पछिपछि धुँवासहितको आगो लैजाँदा लासबाट निस्कन सक्ने जीवाणु वा भाइरसलाई आगोले मार्ने वा निष्क्रिय बनाउने तथा आगोको कारणले मलामी र लासको दुरी केही बढ्ने कारण देखिन्छ ।



जसले दागबत्ती दिन्छन्, लासको सबैभन्दा नजिक धेरैबेर उही रहनुपर्ने हुन्छ । यसले गर्दा किरियापुत्री बस्ने चाहिँ कम्तीमा १२ दिन एकान्तवास बस्नुपर्ने हुन्छ । किरियापुत्रीको नजिक कोही पनि जान नहुने र उसले छोएको पनि कसैले खानु हुँदैन । यसैले किरियापुत्रीले खाने भाँडो पनि अलग हुन्छ । सम्भव भएसम्म टाढैबाट किरियापुत्रीलाई खाना खान दिइन्छ ।



किरियापुत्रीसित विशेष दुरी बनाएर कुराकानी गर्न भने पाइन्छ । दुरी बनाउनको लागि बाँसको कर्चीको एउटा लट्ठी किरियापुत्रीको हातमा हुन्छ । अहिले जसरी दुई मिटरको दुरी बनाएर बस्नुपर्ने बताइएको छ । किरियापुत्रीको हातमा अरु कसैले केही दिनैपर्ने अवस्था आउँछ भने किरियापुत्रीको अगाडि भूँइमा राखिन्छ र त्यही लट्ठीले तानेर उसले त्यो सामान लिन्छ । उसले केही दिँदा पनि सोही प्रक्रिया अपनाइन्छ । 

मृतकको श्राद्ध नहुँदै कोही आफन्तको मृत्यु हुन पुगेमा पछिल्लोपटक मरेको मानिसको श्राद्ध नहुन्जेलसम्म अर्थात् फेरि १३औं दिनसम्म उही प्रक्रिया दोहोरिन्छ । यसको मर्म यो पनि हो कि एउटै कारणले दुवैको मृत्यु भएको हो भने फेरि त्यत्ति दिनसम्म समाजबाट परिवारलाई अलग रहनु पर्दछ । 

मृतकको परिवारसित समाज अलग नै रहनुपर्ने हुन्छ । झन्डै छुवाछुतको अवस्थामा मृतकको परिवारका सदस्यहरु अलग्ग बस्नुपर्ने परम्परागत चलन रहेको छ । मृतकको परिवारमा पनि यदि कसैलाई घातक जीवाणु वा भाइरस सरेको रहेछ भने त्यो समाजका अरुमा नसरोस् र अलग्गै छुट्टिएर बस्दा केही दिनमा लक्षण देखिन्छ भन्ने परम्परागत सोचाइ हुन सक्छ, जुन आजको वैज्ञानिक युगमा पनि पूर्णतया सार्थक छ ।

मृतकको परिवारमा श्राद्धको दिनसम्म अर्थात् १२औं, १३औं दिनसम्म कसैलाई केही हुँदैन भने शान्तिभोज खुवाउने चलन छ । शान्तिभोज खुवाउँदा सबैभन्दा पहिले किरियापुत्रीले नै समाजको अगाडि आफ्नो भोज आफूले खानुपर्छ । हुन त मृत्युमा भोजको चलनलाई राम्रो मानिनु हुन्न । यसले कपितय विपन्न परिवारलाई निकै अप्ठ्यारोमा पार्ने गरेको छ । ग्रामीण समाजमा बलजफ्ती भोज खाने चलन रहेको छ । तर पहिले यस्तो चलन थिएन । बाह्र–तेह्र दिनसम्म अलग्गै बसेको अवस्थामा आफू सुरक्षित छु भन्ने देखाउन पनि सबैसित मिलेर खाना खाने चलन चलेको हुनुपर्छ । अन्तिम दिन आफन्तहरु मिलेर एक ठाउँमा खाना खाने चलन नै कालन्तरमा भोजको रुपमा विस्तार भएको हुनुपर्छ ।

किरियापुत्रीले कुनै काम गर्नु हुँदैन र हरेक दिन नुहाउनु पर्छ भन्ने मान्यतालाई पनि विचार गर्ने हो भने विज्ञानको दृष्टिकोणले उपयुक्त हुन्छ । सरसफाइ, स्वच्छता र पवित्रतामा ध्यान त दिनैपर्छ । यदि काम गर्ने छुट दिने हो भने कतिपय संक्रमण दुई चार दिनमा तथा कतिपय संक्रमण एक हप्तापछि देखिने हुन्छ । एक हप्तासम्म संक्रमण नदेखिने तर त्यसपछि देखिने किसिमको रोगको जीवाणु वा भाइरसले किरियापुत्री (लासको सद्गतिमा सबैभन्दा नजिक रहेर धेरै काम गरेको मानिस)लाई आक्रमण गरेको रहेछ र ऊ घरबाहिर वा अन्यत्र गएको रहेछ भने त अरुलाई सक्छ । तर उसलाई नै एकान्तमा घरबाट टाढा काम गरिरहँदा नै केही भइहाल्यो भने ? यससँगैको अर्को मान्यता यो पनि हो कि किरियापुत्रीको नजिक कोही जानुहुँदैन तर किरियापुत्रीलाई नितान्त एक्लै छोड्नु पनि हुँदैन । एक्लै वा एकान्तवासमा निरन्तर लामो समय बस्दा रोगले आक्रमण गरिहाल्यो भने ? अहिलेको चिन्तनमा यो निकै वैज्ञानिक पनि देखिन्छ । उसलाई गरुड पुराण सुनाउने वा अन्य धार्मिक कथा वा मानसिक शान्ति दिने अन्य साहित्य अध्ययन गर्न दिनुपर्छ भनिन्छ । 

तराई मधेसको लोकजीवनमा अनेक अन्धविश्वास विद्यमान छ । तर, यहाँको कतिपय संस्कृतिको वैज्ञानिक दृष्टिकोणले अध्ययन र मूल्याङ्कन हुनु जरुरी छ । मृत्यु संस्कारमा पनि धेरै अन्धविश्वास रहेका छन् तर वर्तमान महामारीको धरातलमा उभिएर हेर्दा मृत्यु संस्कार कतिपय पक्ष निकै वैज्ञानिक चिन्तनयुक्त देखिएका छन् । कोरोना वा यस प्रकारका अन्य सरुवा रोगबाट मानिसको मृत्यु भएको रहेछ भने उसको नजिक पुग्नेमा सर्ने हुँदा मृत्यु भएको समयदेखि झन्डै दुई सातासम्म तिनका आफन्त वा छोएकाहरुको नजिक पर्नु हुँदैन भन्ने व्यवहारलाई वैज्ञानिक मान्नुपर्ने हुन्छ । मधेसी समुदायदेखि आम नेपाली समाजमा प्रचलित कतिपय संस्कार र संस्कृतिमा आधुनिक विज्ञानले दिने सन्देश लुकेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।