बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित

बुधबार, २८ पुस २०७८, १२ : ४७
बुधबार, २८ पुस २०७८

माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो । थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’

यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको संजोग लाफा मगरले रातोपाटीलाई बताए । 
उता थरहटको जिल्ला जिल्लामा पनि घोषणा गरिएको थारू माघी महोत्सव धमाधम स्थगित हुँदैछ । माघीको अवसरमा चितवनमा गरिने खिचडा महोत्सव स्थागित भएको छ । त्यस्तै, थारू कल्याणकारिणी सभा दाङबाट आयोजना गरिएको माघ महोत्सव स्थगित गरिएको जानकारी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।

सुर्खेतमा थारू माघी  विशेष कार्यक्रम सम्पन्न
उता माघीको अवसरमा वीरेन्द्रनगरमा लखागिन थारू उत्थान मञ्च सुर्खेत र थारू अर्गानिक सामुदायिक होमस्टे तिलपुरको आयोजनामा मंगलबार माघीको महत्वबारे  प्रशिक्षणसहित  साँस्कृृतिक नाचगानलगायत कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई धेरै थाहा नहुँदा पर्वको महत्वबारे प्रशिक्षणसहित कार्यक्रम गरिएको जानकारी लखागिन थारू उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले दिए । माघी पर्वको महत्वको बारेमा पन्नाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा वीरन्द्रनगर नगरपालिकाको वडा नं ९ का वडाध्यक्ष सुरेश कुमार मानन्धरले थारूहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट एक ठाउँमा जम्मा भएर मनाउने कार्यले संस्कृति संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताए । यसलाई अझ व्यापक र बृहत गर्दै जानुपर्ने धारणा राख्दै मानन्धरले संस्कृति देशको पहिचान र चिनारी भएकोले सबै जातजातिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले वडाबाट थारू संग्रहायल लगायतमा निरन्तर आर्थिक सहयोग रहेको पनि जानकारी दिए । 

लखागिन थारू उत्थान मञ्चका सल्लाहकार सनिसरा महतमले सुर्खेतका थारूहरूको भाषा संस्कृति संरक्षण सम्वद्र्धन गर्न थारू समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा थारू कल्याणकारिणी सभा, सुर्खेतका सभापति बेचुलाल चौधरी, थारू वुद्धिजीवि  लालबहादुर चौधरी, जंगलाल चौधरी, अमर चौधरी, शेरबहादुर थारू लगायतका वक्ताहरूले थारूहरूको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न कलाकार समूहको थारू नृत्य तथा गीतसमेत प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप