शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ मुसाको निधन

बुधबार, २८ पुस २०७८, १२ : १६
बुधबार, २८ पुस २०७८

जमिनमुनि राखिएको विस्फोटक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ । आफ्नो पाँच वर्षको करियरमा मगावाले  क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य विस्फोट पत्ता लगाएका थिए । उनले वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

माइनहरू पत्ता लगाउन भन्दै मगावालाई बेल्जियन च्यारिटी एपोपोले प्रशिक्षण दिएको थियो । च्यारिटीले ‘अफ्रिकन जाइन्ट पोच र्‍याट’ को गत सप्ताहान्तमा निधन भएको जानकारी दिएको छ । गत हप्ता मगावाको स्वास्थ्य अवस्था सामान्य भए पनि सप्‍ताहको अन्त्यतिर उनी धेरै सुत्ने र कम खाने भएको च्यारिटीले जनाएको  छ ।

तान्जानियामा हुर्किएका मगावालाई एक वर्षको प्रशिक्षणपछि कम्बोडिया लगिएको थियो । जहाँ उनको बम सुँघ्ने करियरको सुरुवात भएको थियो । दक्षिण पूर्वी एसियाली राष्ट्रमा ६० लाखभन्दा बढी माइन रहेको बताइन्छ । विस्फोटकमा रहेको रसायनिक पदार्थलाइै सुँघेर पत्ता लगाउन सक्ने गरी प्रशिक्षित गरिएका मगवाले १ लाख ४१ हजार वर्ग मिटर क्षेत्रफललाई विस्फोटक मुक्त बनाएका थिए । 

मगावाको तौल १.२ किलोग्राम रहेको थियो भने लम्बाई ७० सेन्टिमिटर रहेको थियो । अन्य मुसाको तुलनामा ठूलो भए पनि माइनको माथि हिँड्दा विस्फोट हुनका लागि भने उनको तौल कम नै थियो । सन् २०२० मा उनलाई पीडीएसए गोल्ड मेडल प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप