बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा कसले मार्ला बाजी ?

मतभारमा एमाले कमजोर
बुधबार, २८ पुस २०७८, ११ : १३
बुधबार, २८ पुस २०७८

बुटवल । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन् । तीन सीटका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्षले ३–३ उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

तीन सदस्य पदका लागि हुने निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी भारती उपाध्याय खनाल र सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेबीच प्रतिस्पर्धा हुनेछ । गैरे पाल्पाकी हुन् भने खनाल बाँकेकी हुन् ।

अन्य समूहतर्फ एमालेका रामदयाल गुप्ता र सत्ता पक्षका तर्फबाट नेपाली काँग्रेसका युवराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । गुप्ता दाङका हुन् भने शर्मा बाँकेका हुन् ।

त्यस्तैगरी दलिततर्फ एमालेबाट कृष्ण सुनार र सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माबीच प्रतिस्पर्धा हुनेछ । सुनार गुल्मीका हुन् भने विश्वकर्मा रूपन्देहीको सैनामैना निवासी हुन् ।

अंक गणितले के भन्छ ?

लुम्बिनी प्रदेश अन्तर्गत गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका दृगनारायण पाण्डे ४ हजार १४० मतभारका साथ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६१२ मतभार प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा पनि एमाले एकातिर र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितका दल गठबन्धनका साथ चुनावी मैदानमा उत्रिएका थिए । जेठको तुलनामा अहिले नेकपा एमाले विभाजन भइसकेको अवस्था छ । एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि अहिले सत्तापक्षको गठबन्धनमा सामेल छ ।

त्यो बेला उपनिर्वाचनमा ३ सय मतदाता थिए, जसमध्ये २९६ मत खसेको थियो । यसपटक २ जना प्रदेशसभा सदस्य र २ जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ । लुम्बिनी प्रदेशमा जसपाका दुई सांसद कारबाहीमा परेका छन् भने गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको मृत्यु भएको छ ।

अहिले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि २९६ मतदाता छन् । तीमध्ये ८१ जना प्रदेशसभा सदस्य छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१५ जना छन् । यिनको मतभार जम्मा ७ हजार ७५८ हुनेछ ।

प्रदेशसभाका ८१ सदस्यको मतभार प्रतिसांसद ४८ का दरले ३ हजार ८८८ हुन्छ भने स्थानीय तहतर्फको प्रतिप्रतिनिधि १८ का दरले ३ हजार ८७० मतभार छ ।

अहिले प्रदेश र स्थानीय तहतर्फ सत्तारुढ गठबन्धनको ४ हजार २९० मतभार देखिन्छ भने एमालेको जम्मा ३ हजार ३१२ मतभारमात्र देखिन्छ ।

प्रदेशसभातर्फ गठबन्धनअन्तर्गत काँग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन् । प्रदेशसभामा सत्तारुढ गठबन्धनको २ हजार ११२ कुल मतभार छ ।

त्यस्तै, गठबन्धनकै स्थानीय तहतर्फ काँग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ जना प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तहतर्फ २ हजार १७८ मतभार हुन्छ । प्रदेश र स्थानीय तहतर्फ गठबन्धनको ४ हजार २९० मतभार छ ।

त्यस्तै एक्लै मैदानमा उत्रिएको एमालेको प्रदेशसभामा ३६ जना सदस्य छन् । उनीहरूको १ हजार ७२८ मतभार हुन्छ । त्यस्तै, स्थानीय तहतर्फ एमालेका ८८ जना प्रमुख तथा उपप्रमुख छन् । उनीहरूको १ हजार ५८४ मतभार हुन्छ । एमालेको प्रदेशसभा तथा स्थानीय तहमा गरी ३ हजार ३१२ मतभार छ ।

त्यस्तै, प्रदेशसभा सदस्यमा १ जना र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फ छ । स्वतन्त्रतर्फको कुल मतभार १२० रहन आउँछ । यहाँ पनि स्वतन्त्र मानिएका नवलपरासीका अजय बहादुर शाही प्रदेश सरकारमै सहभागी छन् । त्यसैले उनले सत्ता पक्षकै उम्मेदवारलाई सघाउने नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले रातोपाटीलाई बताए ।

यता एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजानाथ चौधरीले निर्वाचनमा सबै मिलेर एमालेलाई एक्ल्याउन खोजे पनि आफूहरुले जितको प्रयास गरिरहेको दावी गरे । उनले भने, ‘सरसर्ती हेर्दा गठबन्धन दलको अंक धेरै देखिन्छ । तर अहिले नै त्यसलाई आधार मानेर बस्ने विषय हँुदैन, हामीले पनि प्रयास गरिहेका छौँ ।’

गठबन्धनले जित हासिल गरेको खण्डमा राष्ट्रियसभामा एमालेले लुम्बिनी प्रदेशबाट २ सिट गुमाउने छ ।

महिलातर्फ एमालेकी कोमल वली, अन्यको कोटाबाट काँग्रेसका दृगनारायण पाण्डेय र दलिततर्फ एमालेका रामलखन चमारको पदावधि आगामी फागुनमा सकिँदै छ । उनीहरुकै पदावधि सकिएपछि रिक्त हुने तीन स्थानका लागि अहिले चुनाव हुन थालेको हो ।

रिक्त हुने तीन सीटमध्ये दुई वटामा एमालेका सांसद छन् । तर राष्ट्रियसभा निर्वाचनमा मतभारको हिसाब गर्दा सत्ता पक्ष बलियो देखिएका कारण एमालेले ती दुवै सीट गुमाउनु पर्ने अवस्था आउने देखिन्छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले ८ सय अंकभारले गठबन्धन दलका उम्मेद्वार विजयी हुने दाबी गरे । उनले रातोपाटीसँग भने, ‘हामीले अत्यधिक बहुमतका साथ जित्ने छौँ, यसमा दायाँबायाँ हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप