बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तालिबानको धम्की : हामी कमजोर छौँ तर डरपोक छैनौँ, छिमेकी देशले हाम्रा विमान र हेलिकोप्टर फिर्ता गरुन्

बुधबार, २८ पुस २०७८, १० : ४९
बुधबार, २८ पुस २०७८

तालिबानले आफ्ना छिमेकी मुलुकलाई अफगान विमान र हेलिकोप्टर फिर्ता गर्न अपिल गरेको छ ।

तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्बेकिस्तानलाई यस्तो नगरेको खण्डमा कारवाही गर्नेसमेत धम्की दिएका छन् ।

काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका कर्मचारीलाई सम्बोधित गर्दै पछिल्लो सरकार सत्ताबाट गएपछि छिमेकी मुलुकले जुन विमान लिएर गएका छन्, त्यो अफगानिस्ताको सम्पत्ति भएको र त्यसलाई छिटोभन्दा छिटो फर्काउनुपर्ने उनले माग गरेका छन् ।

उनले भने, ‘हामी आफ्ना छिमेकीको तुलनामा कमजोर हुनसक्छौँ होला तर डरपोक भने छैनौँ । हामी आफ्नो विमान र हेलिकोप्टरको हरेक पुर्जा जसरी पनि फिर्ता लिएरै छोड्नेछौँ । म उहाँहरुलाई अपिल गर्न चाहन्छु कि उहाँहरुले हाम्रो धैर्यताको परीक्षा नलिउन् र हाम्रो विमान र हेलिकोप्टर हामीलाई फिर्ता दिउन् ।’

मोहम्मद याकुब मुजाहिदले देश छोडेर नजाने अफगान वायुसेनाका पाइलट र इन्जिनियरलाई धन्यवाद दिँदै पछिल्ला महिना देश छोडेर गएकाहरुलाई फिर्ता आउन अपिलसमेत गरेका छन् ।

उनका अनुसार उनी एयरफोर्सलाई बलियो बनाउन चाहन्छन् जो विदेशी आर्थिक मद्दतमा निर्भर नहोस् र अफगानिस्तानको सीमाको सुरक्षा गर्न सकोस् ।

टोलो न्यूजमा छापिएको एक रिपोर्ट अनुसार अफगान रक्षा मन्त्रालयले अघिल्लो वर्ष अगस्टमा तालिबानको सत्तामा आएपछि ४० भन्दा बढी हेलिकोप्टर छिमेकी मुलुक ताजिकिस्तान र उज्बेकिस्तान लगिएको छ ।

हालसम्म ताजिकिस्तान र उज्बेकिस्तानका अधिकारीले यसबारे कुनै टिप्पणी गरेको छैन ।

 


तालिबानले आफ्नो छिमेकीविरुद्ध यस्तो प्रकारको कठोर भाषा र चेतावनी प्रयोग गरेको यो पहिलो पटक हो ।

हालैका दिनमा तालिबान पाकिस्तानसँग डुरन्ड रेखामा र तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामा तनाव बढेको छ तर तालिबान सरकारले आफूले कुटनीतिक तरिकाले समस्याको हल गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप