बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

बुधबार, २८ पुस २०७८, १० : ३४
बुधबार, २८ पुस २०७८

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह गरेको छ । साथै पनौती नगरपालिका–७ त्रिवेणीबाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । 

नगरपालिका कार्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ । “मेलामा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौँ”, नगरप्रमुख भीम न्यौपानेले भने। मेला भर्न छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन् । 

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ । मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप