शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

...त्यसपछि छाडे शशांक र सुजाताले शेखरको साथ

अब फेरि मिल्न सक्छन् तीन कोइराला ?
बुधबार, २८ पुस २०७८, ०७ : ००
बुधबार, २८ पुस २०७८

नेपाली काँग्रेसमा सक्रिय राजनीति गरिरहेका कोइराला परिवारका तीन नेता तीनतिर उभिएका छन् । १४ औं महाधिवेशनले कोइराला परिवारका शेखर, शशांक र सुजातालाई तीन कित्तामा उभ्याएको हो । 

महाधिवेशनमा तीन नेताबीच ‘पावर सेरिङ’मा हुन नसकेपछि कोइराला परिवार विभाजित भएको खुलेको छ  । करिब ६ वर्ष पार्टीको संस्थापन इतर पक्षमा रहेका तीनै जनाले सुरुमा सभापतिमा दाबी गरेका थिए । उनीहरुसहितको नेतृत्व गरेका रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहको पनि शसक्त दाबेदारी थियो ।

कोइराला परिवारका तीन नेताले भनिरहेका थिए – हामी (शशांक, शेखर र सुजाता) मध्ये एक । तर, अन्तिममा उनीहरु तीनैजना पौडेललाई सभापतिको उम्मेदवार बनाउन तयार भए का थिए । संस्थापन इतरमा पौडेलको नेतृत्वमा ल्याउन बाँकी प्रकाशन थिए । तर, पौडेल समूहका नेताहरुले टीमको खाका बनाउन थालिसकेका थिए ।

उनीहरुले सभापतिमा पौडेल, उपसभापतिमा, शेखर र प्रकाशमा, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाललाई उठाउने प्रारम्भिक टीम बनाएका थिए । शशांक कोइरालाले पनि उपसभापतिमा दाबी गरे । एक नेताका अनुसार पौडेल सभापतिको उम्मेदवार भएको अवस्थामा त्यो सम्भव थिएन । प्रकाशमानले सभापतिमा दाबी नछोडेपछि पौडेल सभापतिको उम्मेदवार असम्भव भइदियो । प्रकाशमान लडे पनि शशांकले पौडेललाई सभापति उठाएर आफू उपसभापति बन्न चाहेका थिए । 

पौडेलले प्रकाशमानलाई मनाउन नसके आफूले पनि पौडेललाई सभापतिको उम्मेदवार मानेर जान नसक्ने शेखर कोइरालाले अड्डी कसे । संस्थापन इतरमा दुईजना उम्मेदवार हुँदा पौडेलभन्दा शेखर उपयुक्त हुने गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङहरुको मत आयो । अनि शेरबहादुर देउवासँग पूर्ण टीमसहित शेखर मैदानमा आउने अवस्था बन्यो । गुरुराज घिमिरेका अनुसार शेखरको टीममा सुजाताले उपसभापति उम्मेदवार हुने इच्छा व्यक्त गरेकी थिइन् । तर, शेखर कोइरालाले सुजातालाई उपसभापति बार्गेनिङ नगरी परिवारका हिसाबले निसर्त सहयोग गर्न आग्रह गरे ।

उनले ‘कोइराला परिवारबाट म सभापतिको उम्मेदवार छु, तपाईंहरु पदाधिकारीमा दाबीमा नगरिदिनुस् । केन्द्रीय सदस्यको उम्मेदवार हुनुस् । नेतृत्व परिवर्तनका लागि यो अहिलेको आवश्यकता हो’ भनेका थिए ।

सुजाता उपसभापतिको उम्मेदवार हुने मनस्थितिबाट ब्याक हुन चाहिनन् । शेखर समूहबाट उपसभापतिको उम्मेदवार हुन नपाउने संकेत पाएपछि उनी प्रकाशमान सिंहकहाँ पुगेकी थिइन् ।

सुजाता प्रकाशमान सिंहको समूहमा पुगेपछि शेखर टीममा शशांकलाई साथमै लिएर जाने विषयमा केही नेताले जोड गरेका थिए । घिमिरेले भने, ‘शशांक दाइको भूमिकालाई जोगाउने कि भन्ने छलफल भएको थियो । शशांक दाइलाई उपसभापति राख्नुपर्छ भनेर हामीले भनेका थियौं ।’ 

उनका अनुसार शशांकलाई उपसभापतिको उम्मेदवार बनाउनुपर्ने पक्षमा बद्री पाण्डे, गुरुराज घिमिरे, दिलबहादुर घर्ती, दिलेन्द्र बडू र जीवन परियार उभिएका थिए । शशांक आफैंले शेखरको टीममा पनि उपसभापतिको उम्मेदवार हुने रहर गरेका थिए । तर, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र गगन थापाले शशांकलाई उपसभापतिको उम्मेदवार नबनाउने निर्णय गरे । 

डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवारीबाट ब्याक गराएर शशांकलाई उपसभापति बनाउने तहको छलफल भएको थियो । तर, उपसभापतिको उम्मेदवार बनाएपनि शशांक कोइरालाले शेरबहादुर देउवालाई सहयोग गर्ने संकेत देखाएको शेखरको निष्कर्ष रह्यो ।

उनले भने, ‘सभापति र उपसभापतिका उम्मेदवार कोइराला परिवारबाट बने ब्याक फायर हुन्छ, हाम्रो र शशांकको काम गराइको स्पिरिट पनि मिल्दैन ।’ शेखरको यस्तो बचनपछि शशांकको मन भाँचियो । त्यसपछि उनी दाजु प्रकाश कोइरालासँग सुझाव लिन पुगे । प्रकाशको निवासमा शशांक र उनीबीच प्रश्न उत्तर चल्छ ।

प्रकाश : तिमी सभापति लड्दैनौं हैन ? 

शशांक : म कसरी लड्नु ? शेखर दाइ लड्नेभएपछि.. 

प्रकाश : त्यसो भए शेरबहादुर देउवासँग तिम्रो सम्बन्ध कस्तो छ ?

शशांक : राम्रै छ । 

प्रकाश : सम्बन्ध नबिगार्नु ।

आफू सभापतिमा नलड्ने भए देउवाको विरुद्धमा नजान प्रकाशबाट सुझाव पाएका शशांकले महाधिवेशनमा त्यही गरे । त्यसका पछाडि शेखरले पछिल्लो समय शशांकको तेजबोध गरेको आरोप उनी निकट नेताहरुको छ । 

शेखर कोइरालाले १३ औं महाधिवेशनमा ‘शशांक कोइरालालाई महामन्त्री छाड्नु मेरो ठूलो भूल थियो’ भन्ने वाक्यले शशांकलाई बिझाइरहन्थ्यो ।

गिरिजा युगमा शेखर–सुजाता द्वन्द्व

प्रजातन्त्र पुनस्स्थापनापछि काँग्रेसमा गिरिजाप्रसाद युग सुरु भएको थियो । जसमा छोरी सुजातालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने गिरिजाप्रसाद लागि परे भने शेखरलाई राजनीतिक भूमिकामा स्थापित गर्ने नोना कोइरालाबाट भगिरथ प्रयास भयो । तर, गिरिजाप्रसाद युगमा वीपीका पुत्रहरुले भने अभिभावकत्व महसूस नगरेको उनी निकट नेताहरुको गुनासो छ ।

१२ औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा आएपछि मात्रै वीपी पुत्र शशांकलाई राहत भएको उनी निकट नेताहरुको बुझाइ छ । ०६६ सालमा गिरिजाप्रसादको निधनपछि नेतृत्वको विषयलाई लिएर कोइराला परिवारभित्र आ–आफ्नै दाबी र सक्रियता थियो । तर, कोइराला परिवारमा नेतृत्व स्थापितका लागि प्रजातन्त्र पुनःस्थापनापछि नै थुप्रै प्रयोग भएका थिए । सबैभन्दा पहिले बीपीका ज्येष्ठ पुत्र प्रकाशलाई गिरिजाप्रसादपछि कोइराला वंशको उत्तराधिकारीका रूपमा अगाडि बढाउने प्रयास भयो । 

६–७ माघ ०५७ मा पोखरामा भएको दसौँ महाधिवेशनबाट बीपी कोइरालाका जेठा छोरा प्रकाश अगाडि आएका थिए । १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले चालेको कदमलाई स्वीकारेर मन्त्रिपरिषदमा सहभागी भएपछि प्रकाशलाई काँग्रेसबाट निस्कासित गरियो । त्यसपछि बीपीको विरासत धान्ने प्रकाश कोइरालाको सम्भावना तुहियो । अनि गिरिजाप्रसाद कोइरालाको नजर शेखरतिर सोझियो ।

केशव कोइरालाकी पत्नी नोनाले ११ औँ महाधिवेशनमा छोरा शेखरलाई अघि सार्दै आफूले सक्रिय राजीतिबाट विश्राम लिइन् । तर, शेखरलाई कोइराला परिवारको उत्ताराधिकारीका रुपमा अगाडि बढाउने गिरिजा र नोनाको योजनामा सुजाताले ब्रेक लगाइदिएको नेताहरु बताउँछन् । सुजाताको राजनीतिक चाहनामा गिरिजाप्रसादले नोनासँगको सहमति बन्धकी राखे । अनि गिरिजाप्रसादले जीवनको अन्त्यतिर शेखरलाई भन्दा आफ्नी छोरीको राजनीतिक उचाइलाई माथि उठाए । उनले सुजातालाई उपप्रधानमन्त्री मात्रै बनाएनन् पार्टीको विदेश विभागको जिम्मेवारी पनि दिए । कोइराला परिवारका शेखर र शशांक पछाडि छुटे । 

कोइराला परिवारबाटै नेतृत्व स्थापित गर्न गिरिजाप्रसादले योजनामा धक्का लाग्यो । दुई कार्यकाल मात्र सभापति बन्न पाउने पार्टी विधानमा संशोधन गराएर कार्यकालको बन्देज हटाए । आफूपछि नेतृत्वमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सम्भावना देखिएका कारण पनि उनले १४ वर्ष सभापति पद अड्याएर राखे । तर पार्टीमा देउवा र पौडेलले कोइराला परिवारका तीन जनाले थेग्न नसक्ने गरी राजनीतिक शक्ति बढाएपछि गिरिजाप्रसादले पिता कृष्णप्रसाद कोइरालाको वंशजभन्दा बाहिरका सुशील कोइराला अगाडि सारेका थिए ।

आफ्नी आमा दिव्याकुमारीकी साहिँली बहिनी कुमुदिनीदेवीका छोरा सुशीललाई उनले उत्तरार्धमा कार्यवाहक सभापति बनाए । १२ औं महाधिवेशनमा देउवालाई पराजित गरी काँग्रेसको नेतृत्व कोइराला थर भन्दा बाहिर जान दिएनन् ।

सुशील कोइरालाको निधनपछि भएको १३ औं महाधिवेशनबाट तत्कालीन संस्थापन पक्षको आपसी बैमनस्यको लाभ देउवाले उठाए । शशांक कोइरालाको सद्भाव र कृष्णप्रसाद सिटौलाको साथमा देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए । १४ औं महाधिवेशनमा विरासत फर्काउने शेखर कोइरालाको प्रयास पनि असफल भयो । देउवा पुनः काँग्रेस सभापतिमा विजयी भएका छन् ।

नेता गुरुराज घिमिरे

कोइराला निकट नेता गुरुराज घिमिरेका अनुसार १४ औं महाधिवेशन कोइराला परिवारका लागि विरासत फर्काउने ऐतिहासिक मौका थियो ।  ‘मत परिणामले पनि त्यो देखायो । कोइराला परिवारका बीचमा समझदारी भइदिएको भए अरु नेताहरुलाई सँगै उभिन दबाब हुन्थ्यो । उहाँहरुको असमझदारीले त्यो कुरा गुम्यो,’ उनको भनाइ छ ।

तर काँग्रेसमा कोइरालाको विरासत अब करिब शेखर कोइरालाको काँधमा पुगेको छ । १४ औं महाधिवेशनबाट कोइराला परिवार नेतृत्वमा नपुगे पनि कोइराला परिवारको शक्ति भने शेखरको हातमा पुगेको छ ।

काँग्रेसमा शेखर वैकल्पिक नेताका रुपमा उदाएका छन् । तर, काँग्रेसको इतिहासमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार भएर हार्ने शेखर पहिलो व्यक्ति हुन् । कोइराला परिवारबाट सभापतिमा उम्मेदवार बनेका बिपी, मातृका, गिरिजाप्रसाद र सुशीलले भने पराजित हुन परेको थिएन । २००६ सालमा बनेको नेपाली काँग्रेसमा पाँच दशक बढी समय कोइराला परिवारको नेतृत्व गरेको थियो । अहिलेसम्म काँग्रेसमा कोइराला थर बाहिरबाट सुवर्ण शम्शेर राणा, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाले मात्र नेतृत्व गर्ने अवसर पाए ।

अब फेरि मिल्न सक्छन् तीन कोइराला ?

महाधिवेशनबाट छुट्टिएका तीन कोइरालाको मिलन होला कि नहोला भन्नेमा काँग्रेसजनमा चासो छ । देउवासँग नजिक भएका शशांक, प्रकाशमान सिंह कहाँ पुगेकी सुजाता र वैकल्पिक नेताका रुपमा उदाएका शेखरबीच सहकार्य सम्भव छ भन्ने प्रश्न उब्जेको छ । साउन २१ गते काठमाडौंमा भएको शेखर गुटको भेलामा शशांक र सुजाता देखिएनन् । शशांकको सचिवालयका अनुसार शेखरले नबोलाएपछि उनीहरु भेलामा अनुपस्थित भएका थिए । 

तर, तीन कोइराला तीनतिर हुँदा कसैलाई फाइदा भएको छैन । फाइदा भएको छ त कोइराला परिवार विरुद्ध उभिएका देउवालाई । गुरुराज घिमिरे भन्छन्, ‘कोइराला परिवारका नेताहरुमा यो कुराको आत्माबोध भयो भने उहाँहरु एक ठाउँमा उभिन सक्नुहुन्छ ।’ 

धरातलीय यर्थाथ र वास्तविकतालाई स्वीकार गरेर परिवारभित्रको राम्रो  गर्न सक्ने एउटा मान्छेलाई अरुले साथ दिनुपर्ने घिमिरेको भनाइ छ । ‘बीपी कोइराला हुञ्जेल गिरिजाबाबुले टिकट पाउनुभएन । गिरिजाबाबुले बल गरेपछि ‘बीपीले तँ राजनीति गर्, म तेरो प्रचारमा हिँड्छु’ भनिदिनुभयो । तर, उहाँले बीपीलाई साथ दिनुभएको थियो ,’ उनी भन्छन् ।

राजनीतिमा एउटा व्यक्तिको सम्भावना प्रवल हुँदै गयो भने अरुले मद्दत गर्नुपर्ने घिमिरेले बताउँछन् । ‘पहिलो अवसर शशांक दाइलाई थियो । उहाँले गतिविधि धेरै अगाडि बढाउनु भएन । रोग लागेपछि सुजाता दिदीको सम्भावनामा ब्रेक लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि शेखर दाइले धेरै मिहिनेत गर्नुभएको थियो । सबैको चाहना थियो, शेखर दाइलाई सबैले मद्दत गर्नुपथ्र्यो ।’

संस्थापन इतरका सबै युवाहरु  शेखरलाई मद्दत गर्न तयार हुँदा पनि परिवारकै शशांक र सुजाताले साथ नदिँदा परिणाम प्रतिकुल आएको घिमिरेको भनाइ छ । उनका अनुसार शशांक र सुजाताका लागि शेखर कोइरालाको समूहमा जहिल्यै ढोका खुला छ । ‘भोलिको राजनीतिमा शशांक र सुजाताको सम्भावना छ । परिवारमा तालमेल भयो भने भोलि शेखर दाइले नै शशांक या सुजातालाई अगाडि सार्न सक्नु होला । यसमा कोइराला परिवारको कुरा जोडिएको छ,’ घिमिरे भन्छन् ।

पुरञ्जन आचार्य

यता शेखर कोइरालाका महाधिवेशन क्याम्पेनर पुरञ्जन आचार्यले भने कोइराला परिवार स्वतन्त्र रुपमा तीनवटा इकाइजस्तो भएको बताए ।

‘फाइदा घाटा जे हुन्छ, पहिलो पकट कोइराला परिवार तीन टुक्रामा विभाजित भयो । यो हुनै सक्दैन भन्ने थियो,' राजनीतिक विश्लेषक समेत रहेका आचार्यले भने, ‘तर भयो । अब सामाजिक र पारिवारिक रुपले यिनीहरूको भेटघाट होला । तर, राजनीतिक रुपले एकै ठाउँमा बस्ने मैले सम्भावना देख्दिनँ ।’

शशांक र सुजाताबाट यसपटक कोइराला परिवारको चलन छोडिएको आचार्यले बताए । ‘शेखर कोइराला सिनियर थिए । उनको पछाडि लाग्नुपर्ने थियो । जुन चलन हामीले देखिरहेका थियौं, त्यो यसपालि देखिएन । भविष्यमा पनि उनीहरुको एकता हुन्छ जस्तो लाग्दैन,’ आचार्यले रातोपाटीसँग भने ।

यद्यपि शेखर कोइरालामा सुजाता र शशांकसँग भेटेर फेरि मिलेर जाउँ भन्नेखालको मानसिकता रहेको आचार्यको दाबी छ । ‘त्यसका लागि उनीहरुका प्राथमिकता राजनीतिकरुपमा अगाडि आउनुपर्छ । तर, अहिले कोइराला परिवारका तीनैजना एक ठाउँमा आउन विभिन्न कारणले लाज पनि छ,’ उनले भने, ‘पहिले पारिवारिक भेटघाट होला । सामाजिकरुपले एक ठाउँमा आउनुहुन्छ, त्यसपछि मात्र राजनीतिक रुपमा एक ठाउँमा आउने परिस्थिति बन्छ कि ?’

 केन्द्रीय कार्यसमितिमा भने तीन कोइरालाको भेट  भइसकेको छ । पुस १९ गते बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकमा तीन कोइराला सहभागी थिए । केन्द्रीय समितिमा भने तीनै जानको भेट हुन्छ । ३५ खुला सदस्यमा सर्वाधिक मत ल्याएर शशांक केन्द्रीय सदस्यमा विजयी भएका छन् भने उपसभापतिमा पराजित सुजातालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापतिमा दोस्रो मत पाएका शेखर स्वतः केन्द्रीय सदस्य छन् ।

बिपी र मातृकाको लडाइ

काँग्रेसको स्थापनाकालदेखि नै कोइराला परिवारभित्र राजनीतिक टकराव सुरु भएको देखिन्छ । बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच व्यक्तित्वको टकरावबाट राजनीतिक फाटो देखिएको थियो ।

२००३ सालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति र आफू कार्यकारी सभापति भई नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए । २००६ सालमा त्यही नेपाली राष्ट्रिय काँग्रेस र महेन्द्रविक्रम शाह नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भई नेपाली काँग्रेस बन्यो । मातृकाप्रसाद कोइराला एकीकृत काँग्रेस अर्थात् नेपाली काँग्रेसको सभापति बने ।

उनी २००९ सालसम्म पार्टी सभापति रहे ।  क्रान्तिको कमान्डर घोषणा मातृकाकै अगुवाइमा २००७ सालको जनक्रान्ति सञ्चालन भएको थियो ।  २००८ सालको अन्त्यतिर मातृका र वीपीबीच नेतृत्व झगडा चुलियो । २००९ जेठ १३ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनमा बीपी कोइराला र मातृका दुई भाइबीच सभापतिका लागि विवाद भएको थियो ।  

बीपीलाई सभापति बनाउने भद्र सहमति मातृकाले तोड्न खोजेपछि गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित पनि सभापतिको दौडमा निस्किएका थिए ।

मातृकाले सभापतिको उम्मेदवारी फिर्ता लिए आफूहरू पनि सभापतिको उम्मेदवार नबन्ने सिंह र भट्टराई अडान थियो । त्यसपछि मातृकाबाट उम्मेदवारी फिर्ता लिएको घोषणा भयो । बीपी र केदारमानबीच सभापतिमा प्रतिस्पर्धा भयो । तर, पार्टीमा बिपी र मातृकाबीच सम्झौता भए पनि राज्य सत्ताका विषयमा चर्को विवाद देखियो ।

२००७ मा राणा शासनको पतनपछि काँग्रेस र राणाहरूको संयुक्त सरकारमा श्री ३ मोहनशमशेर प्रधानमन्त्री र बीपी कोइराला  गृहमन्त्री  बने । केही समयपछि मोहनशमशेर र बीपीको खटपटले उक्त सरकार ढल्यो ।

यसपछि राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए । तर, मोहनशमशेरको बहिर्गमनपछि बीपी कोइराला प्रधानमन्त्री बन्न चाहन्थे । पार्टीको नीति विपरीत मातृकाको सरकार अगाडि बढेको भन्दै बीपीले विरोध गर्न थाले । उक्त विवाद चर्किँदै जाँदा बीपीले मातृकालाई नेपाली काँग्रेसबाट निष्कासन गरिदिएका थिए ।

बीपीका उम्मेदवार विरुद्ध गिरिजा

नेपाली काँग्रेसको छैठौं महाधिवेशनमा बीपी कोइराला र गिरिजाप्रसाद कोइराला फरक फरक कित्तामा उभिए । २०१२ माघ ९–१३ गतेसम्म वीरगञ्जमा भएको छैठौं महाधिवेशनमा सुवर्ण शम्शेर र गणेशमान सिंहबीच सभापतिमा प्रतिस्पर्धा भयो । बीपीलगायत शीर्षनेताहरू सुवर्णको पक्षमा लागे भने गणेशमानलाई गिरिजाप्रसादले खुलेरै साथ दिए ।

बीपीको साथ पाएका सुवर्णशम्शेर सभापतिमा विजयी भए भने गणेशमान पराजित भए । त्यसको दुई वर्षमा नै २०१४ सालमा विशेष महाधिवेशन गरी वीपी कोइराला पुन: पार्टी सभापति बनेका थिए । अघिल्लो चरणमा तीन वर्ष र पछिल्लो चरणमा २५ वर्ष गरी वीपी कोइरालाले २८ वर्षसम्म काँग्रेसको नेतृत्वमा सम्हालेका थिए । २०३९ सालमा वीपीको निधन हुँदा पार्टी सभापतिकै रूपमा थिए । 

भट्टराई​सँग पनि गिरिजाप्रसाद संघर्ष

२०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएर सभापति छोडेपछि कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति बनेका थिए । २०३९ सालमा बिपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक सभापति बनेका भट्टराई ०४८ सालमा निर्वाचित सभापति भएर २०५३ सालसम्म गरी काँग्रेसको नेतृत्वमा करिब १९ वर्ष रहे ।

काँग्रेसको नेतृत्वमा विपी कोइरालापछि लामो समय नेतृत्व गर्ने अवसर भट्टराईले पाएको थिए । बिपीले भट्टराईको ठाउँमा आफूलाई स्पेस नदिएकोमा गिरिजाप्रसादको असन्तुष्टि थियो । गिरिजाप्रसादले १९ वर्ष भट्टराईसँग एक खालको संघर्ष गरे । ०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी र सरकारको नेतृत्वमा गिरिजाप्रसाद कोइरालाको उदय भयो ।

०५३ सालको काठमाडौंमा भएको नवौं महाधिवेशनबाट उनी पार्टी सभापति चुनिए । त्यसपछि दसौँ र एघारौं महाधिवेशन गरी तीन कार्यकाल गिरिजाप्रसाद पार्टी सभापतिमा रहे । उनको निधनसंँगै कोइराला परिवारको विरासत सुशील कोइरालाले लिए ।

१२ औं महाधिवेशनमा सभापति निर्वाचित भएका सुशीलले पनि पाँच वर्षसम्म पार्टीलाई नेतृत्व दिए । संयोग यस्तो छ कि वीपी, गिरिजाप्रसाद र सुशीलको पार्टी सभापति रहँदाकै अवस्थामा निधन भएको छ । आफू छँदै २०२९ सालमा वीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति दिएका थिए । पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाले पनि सुशीललाई कार्यबाहक सभापति बनाएका थिए । 

 

शेखर विरुद्ध शशांक–सुजाता

काँग्रेसको १४ औं महाधिवेशनले विगतको बीपी, मातृका र गिरिजाबीचको विवादलाई ओझेलमा पारिदिएको छ । शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिँदा (भाइ–बहिनी) शशांक र सुजाताबाट ‘धोका’ पाए । शेरबहादुर देउवाबाट काँग्रेस नेतृत्व कोइराला परिवारमा फर्काउने शेखरको प्रयासमा शशांक र सुजाताको साथ रहेन ।

शेखरको साथ छोडेर सुजाता प्रकाशमान सिंहको प्यानलमा पुगिने भने शशांकको सद्भाव देउवापतिर ढल्कियो । महाधिवेशन अवधिभर शेखरको साथमा उभिन तयार नभएका शशांकले देउवालाई भेट्न भने प्रधानमन्त्रीको निवास बालुवाटार पुग्ने कष्ट गरे ।

औपचारिक रुपमा शेखरको साथ नछोडेका शशांकले सांकेतिक रुपमा देउवाको साथमा रहेको महाधिवेशनमा सन्देश प्रवाह गरेका थिए । देउवासँग सभापतिमा पराजित शेखरले भाइ बहिनी मिलाउन नसक्नुलाई कमजोरीका रुपमा स्वीकार गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप