मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य

मङ्गलबार, २७ पुस २०७८, १८ : ००
मङ्गलबार, २७ पुस २०७८

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । 

चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो ।  अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।   

आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ ।  स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।

 हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।  

उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई रु १०००, सार्क राष्ट्रका पाहुनालाई रु ५००, नेपालीलाई रु २००, विद्यार्थीलाई रु १३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको हो । विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप