शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना बढेसँगै भारतबाट फर्किनेको लर्को

मङ्गलबार, २७ पुस २०७८, १७ : ३३
मङ्गलबार, २७ पुस २०७८

कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या पनि बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम फर्कन थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको संख्यामा पछिल्ला दिन वृद्धि हुन थालेको हो । यसरी फर्कनेहरुलाई नाकामै एन्टिजेन परीक्षण गर्न थालिएको छ ।

भारतबाट फर्किनेहरुमध्ये १५–२० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार पुस  २३ गते शुक्रबार एक हजार ३८५ जनाको नमुना परीक्षण गर्दा १५८ मा कोरोना पोजेटिभ देखिएको छ । यसरी संक्रमित हुनेमा आधाभन्दा बढी भारतबाट फर्किएकाहरु नै रहेको उनले बताए ।

२४ गते एक हजार ३८० जनाको नमुना परीक्षण गर्दा १३३ जना र २५ गते एक हजार ६० जनामा परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यस्तै सोमबार १ हजार ६ सय १७ को नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

‘भारत जानु बाध्यता’

भारतबाट फर्किएका नेपालीहरु देशमा रोजगारी नपाएका कारण बाध्य भएर आफूहरु कोरोना जोखिमका बीच पनि भारत जानु परेको बताउँछन् । अछाम चौरपाटी गाउँपालिका, सिउडीका टेक जयगेडी गुजरातमा काम गर्न ४ महिना अघि त्यसतर्फ गएका थिए । उनले गाडी शोरुममा काम पनि पाए तर कोरोनाको तेस्रो लहर बढेसँगै बिदा मागेर घर आउनु परेको सुनाए ।

‘६ जनाको परिवार पालनपोषण गर्न भारत रोजगारी गर्न गएको थिएँ तर कोरोनाका कारण घर फर्कनु प¥यो,’ उनले भने, ‘नेपालमा त्यत्तिको काम पाउन मुस्किल छ, कामको खोजीमा भारत जानु हाम्रो बाध्यता हो ।’ कैलाली हसुलियाका अमेश चौधरी पनि भारतबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै नेपाल फर्किए । उनी ५ महिना अघि कामको खोजीमा भारत गएका थिए तर कोरोना बढेसँगै नेपाल फर्किनु परेको उनले सुनाए ।

दार्चुलाका नन्दराज टमाटा भारत गएको २ महिना हुँदै थियो । सेक्युरिटी गार्डमा बल्ल काम पाएका थिए उनले । तर कोरोना बढेसँगै नेपाल फर्किनु परेको उनले बताए । ‘यो कोरोनाले हामीजस्ता गरिबलाई झन् सास्ती दियो,’ उनले भने, ‘यता काम पाइँदैन, बल्लतल्ल भारत पुगेर काम गर्न थाल्यो, कोरोनाले गर्दा फर्किनु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप