बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतका कार्यकर्ताको दुर्व्यवहारपछि खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको काम ठप्प

मङ्गलबार, २७ पुस २०७८, १७ : २४
मङ्गलबार, २७ पुस २०७८

जनकपुर । जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अहिले प्रायः सुनसान रहने गरेको छ । केही महिना अघि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेपछि यस कार्यालयको कामकाज नै प्रभावित भएको हो ।

तीन महिनादेखि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । कार्यालय प्रमुखको अभावका कारण आर्थिक र प्रशासनिक कार्य ठप्प भएपछि कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।

निमित्त प्रमुख कुशवाहालाई दुर्व्यवहार गरेपछि तीन महिनादेखि कार्यालय नै प्रमुख विहीन बनेको छ । जसले गर्दा कार्यालयमा चालु आयोजनाका सम्पूर्ण कामकाज ठप्प हुनका साथै कर्मचारीहरु तलब भत्ताबाट वञ्चित हुँदै आएका छन् ।

आयोजनाका सिनियर इन्जिनियर गंगाप्रसाद महतोले भने, ‘कार्यालय प्रमुख नहुँदा आयोजनाको कामकारवाही, कर्मचारीको तलब भत्ता रोकिनुका साथै खानेपानी र गाडी चढ्नमा समेत समस्या भएको छ ।’

उनले चालु आर्थिक वर्षमा करिब दुई दर्जन योजनाको काम र सम्पूर्ण आर्थिक कारोबार नै ठप्प भएको बताए ।

जनमत पार्टीका कार्यकर्ताहरुले कार्यालय हाताभित्र रहेको चारपाङ्ग्रे गाडी तोडफोड गरेका थिए ।

कात्तिक ४ मा जनमतका कार्यकर्ताहरुले अध्यक्ष सीके राउतको घर जाने बाटोमा ग्रेभलसहित बाटो निर्माण तत्कालै नगरिदिएको भन्दै निमित प्रमुख कुशवाहालाई कार्यालयमै दुर्व्यवहार गर्नुका साथै अर्धनग्न पारी जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

सो घटनापछि उक्त आयोजनाको प्रमुख पदमा कोही पनि आउन नमान्दा कार्यालयका सम्पूर्ण गतिविधिदेखि तलब भुक्तानीसम्म ठप्प भएको कर्मचारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप