शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

खम्बाको भाडा तिर्न अटेर गर्ने इन्टरनेट प्रदायकसँग एक करोड असुली

मङ्गलबार, २७ पुस २०७८, १५ : ५२
मङ्गलबार, २७ पुस २०७८

विद्युत्का खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । 

जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन् । 

केही कम्पनीले आफ्नो नाम नखुलाई भाडा तिरेका छन् भने १२ वटा कम्पनीले नाम खुलाएर तिरेका हुन । भाडा तिर्नेमा चितवन युनिक केवलले रु ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले रु एक लाख ७७ हजार ९७५, त्रिवेणी केवल नेटवर्कले रु एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले रु दुई लाख तीन हजार ४००, फाइवर वर्ल्ड कम्युनिकेसन प्रालिले रु एक लाख २२ हजार ४०, ब्रोडलिङकले एक लाख एक हजार ७०० र वेबसफरले रु तीन लाख पाँच हजार १०० भाडा तिरेका छन् ।

यसैगरी डिसहोमले रु ६ लाख ६१ हजार ५०, पीडी एस सर्भर नेटवर्कले रु २५ हजार ४२५, सुविसु नेटवर्कले रु २२ लाख २४ हजार ६६, टेकमाइन्स कम्युनिकेसनले रु २० लाख र एन्जियटा एन सेलले रु ८५ हजार ४२८ रकम बुझाएका छन् ।

दुई वटा कम्पनीले नाम नखुलाई रु एक लाख ११ हजार ४८७ र रु चार लाख १७ हजार ५४० जम्मा गरेको उनले बताए । पौडेलले भने,“अझै चार वटा कम्पनीले भाडा तिर्न बाँकी छ ।” तिर्न बाँकी रहेका कम्पनीमा वर्ल्ड लिङ्क, भायानेट, सिम टिभी र क्लासिटेकले भाडा बुझाउन बाँकी रहेको उनले बताए । 

वर्ल्ड लिङ्कले आर्थिक वर्ष २०७४/७५ देखिको खम्बा प्रयोग गरेबापतको रु ६१ लाख, भायानेटले रु ३० लाख, सिम टिभीले रु ३० लाख र क्लासिटेकले रु २१ लाख ७६ हजार बुझाउन बाँकी रहेको उनले जानकारी दिए ।  महसुल नतिर्ने कम्पनीले भाडा नतिरेमा लाइन काट्न र खम्बामा राखिएको उपकरण जफत गर्न विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ ।

 केन्द्रले भाडा नतिर्ने कम्पनीको लाइन काट्ने र उपकरण जफत गर्ने कामसमेत गरेको थियो । केन्द्रले कडाइ गरेपछि इन्टरनेट प्रदायक संस्थाले आन्दोलन गर्दै सेवा अवरुद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि सेवा थालिएको थियो । त्यस लगत्तै अन्य कम्पनीले भाडा बुझाए पनि चारवटाले अटेर गरेको पौडेलको भनाइ छ । –––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप