बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण राजनीतिक गतिविधि प्रभावित

मङ्गलबार, २७ पुस २०७८, १४ : ४७
मङ्गलबार, २७ पुस २०७८

 मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेन ।

राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरुले आफ्ना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् ।

मन्त्रिपरिषद बैठक प्रभावित

पुस चौथो साताको सुरुवातदेखि काठमाडौं लगायत देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । सर्वसाधारणका अलावा नेता र मन्त्रीहरुमा समेत कोरोना संक्रमण पुष्टि हुनुका साथै कतिपय मन्त्री कन्ट्याक्ट ट्रेसिङमा परेकाले सोमबारको मन्त्रिपरिषद बैठक बस्न नसकेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेललाई सोमबार कोरोना संक्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको छ । यता, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत अन्य मन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार ५ जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

माओवादी केन्द्रको बैठक स्थगित

पुस दोस्रो साता राष्ट्रिय महाधिवेशन गरेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पुस २५ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको थियो । उक्त बैठकबाट पार्टी पदाधिकारी चयन गर्ने तयारी भए पनि नेताहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि २५ गतेको केन्द्रीय समिति बैठक नै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायत झण्डै १ दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले बताए ।  

माधव नेपालको चार बुँदे अपिल

कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले धेरै व्यक्तिको उपस्थिति हुने सभा तथा सम्मेलन हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन निर्देशन दिएको छ ।

‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ’, सो पार्टीका अध्यक्ष नेपालले पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै उनले पार्टीका आन्तरिक भेला बैठक स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेरमात्रै राख्न अपिल गरेका छन् । ‘थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ’, अध्यक्ष नेपालले जारी गरेको अपीलमा भनिएको छ, ‘सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागी हुने व्यवस्था गर्न-गराउन निर्देशन गरिन्छ ।’

विवेकशील र कमल थापा पछि हटे

विवेकशील साझा पार्टीले पनि कोभिडका कारण पूर्व निर्धारित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ अभियान स्थगित गरेको छ ।

कञ्चनपुरबाट पुस २७ गते सुरु गरेर सहिद दिवसका दिन माघ १६ गते झापामा अन्त्य गरिने भनिएको कार्यक्रम कोभिड संक्रमण बढेकाले जनस्वास्थ्यलाई ख्याल गर्दै स्थगित गरिएको केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले जानकारी दिइन् ।

‘कोभिड संक्रमण बढेकाले जनस्वास्थ्यलाई ख्याल गरेर यात्रा हाललाई स्थगित गरिएको छ’, घिमिरेको भनाइ छ ।

यता राप्रपाका नेता कमल थापाले पुस २७ गतेबाट गर्ने भनेको राष्ट्रिय एकता अभियान पनि स्थगित गरेका छन् । कोरोना संक्रमण बढेपछि थापाले उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

‘पौष २७ सुरु गर्ने भनेको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारणसमेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले सामाजिक सञ्जालमा भनेका छन् ।

एमालेले के गर्ला प्रदेश अधिवेशन ?

पुस २३ गते जिल्ला अधिवेशन सुरु गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना महामारीलाई बेवास्ता गर्दै जिल्ला अधिवेशन गरिरहेको छ । कोरोना त्रासकै बिच एमालेले ५० भन्दा बढी जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ । एमाले नेताहरुले सुरक्षा मापदण्ड अपनाएर जिल्ला अधिवेशन गरिएको दाबी गरे पनि कतिपय जिल्लामा त्यस्तो देखिएको छैन ।

नेकपा एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला अधिवेशनहरू भएको भन्दै अबको एकदुई दिनभित्रै सकिने भएकाले नरोकिएको बताए । ‘त्यसमा पनि हामीले कोरोना संक्रमणलाई ध्यानमा राखेर ठुला सभाहरू गरेनौं, अब सकिँदैछ’, रिजालको भनाइ छ ।

एमालेले जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशन गर्ने योजना बनाएको छ । एमालेले माघ ८ गते गर्ने भनेको प्रदेश अधिवेशन कोरोना संक्रमणको गति बढिरहे केही समय पर सार्ने बुझिएको छ ।

नेकपा एमालेका एक स्थायी कमिटी सदस्यले कोरोना संक्रमणका कारण प्रदेश अधिवेशन लगभग सर्ने निश्चित भएको बताए । ‘प्रदेश अधिवेशन सर्ने निश्चितजस्तै छ । तर यसबारे पार्टीको बैठक बसेर निर्णय गर्छ’, ती सदस्यको भनाइ छ ।

एमाले प्रचार विभाग उपप्रमुख रिजालले पनि कोरोना संक्रमणलाई मध्यनजर गरेर भावी कार्यक्रमबारे निर्णय हुने बताए । ‘भोलिसम्ममा जिल्ला अधिवेशनको नतिजा आउँछ, त्यसपछि हामी आँकलन गरेर प्रदेशबारे अर्को निर्णय गर्छौं’, रिजालले रातोपाटीसँग भने, ‘भयावह हुने भयो भने त्यही अनुसार आफूलाई अपडेट गर्छौं ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप