शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’ उपलब्ध गराउँदै सनराइज बैंक, थप ८० लाख प्रयोगकर्ता लाभान्वित हुने

मङ्गलबार, २७ पुस २०७८, १४ : २९
मङ्गलबार, २७ पुस २०७८

सनराइज बैंक लिमिटेडले सहकारी क्षेत्रलाई समेत लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । जुन भिजा कार्ड बैंकले केही समय अघि मात्रै एक कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । 
बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा नै पहिलो र उत्कृष्ट रहेको दाबी गरेको छ । 

‘चिप बेस्टकार्ड मल्टी पर्पोज कार्ड हो । त्यसलाई भिजाको ब्रान्डिङ कार्ड समेत भन्न सकिन्छ । मल्टिपल संस्थाहरु मिलेर ब्राण्ड बनाएर प्रयोग गर्न सकिने गरी बनाइएको डेबिट कार्ड नै मल्टिपल कार्ड हो । जुन पहिलो पटक सनराइज बैंकले प्रयोगमा ल्याएको छ’ सनराईज बैंकका कार्यकारी अधिकृत (सीईओ) शुमन शर्माले भने, ‘यो भिसा कार्ड नेपालमा मात्र नभएर दक्षिण एशियामा नै पहिलो र उत्कृष्ट सेवा हो ।’

त्यसो त सीईओ शर्माका अनुसार यस्तो कार्ड पहिलो पटक सनराईज बैंकले सहकारी संस्था, सनराइज बैंक र भिसा तीनवटै लोगोमा डिजाइन गरेको छ । सोही कार्डमार्फत अर्थात् सनराइज बैंकको कार्ड मार्फत सहकारीका ग्राहकहरुले समेत जुनकुनै वाणिज्य बैंकको एटिएमबाट, जुनकुनै समयमा सजिलै आफ्नो खाताको पैसा झिक्न सक्नेछन् ।

तर, यसका लागि सम्बन्धित सहकारी संस्थाले बैंकसँग कारोबारको साझेदारी गरेको हुनुपर्नेछ । यस्तो सहकारीका सदस्यहरुले बैंकको एटिएमबाट पैसा झिक्दा थप अतिरिक्त शुल्क तिर्नुपर्दैन । त्यसका लागि बैंकले नै शुल्क तिरिदिन्छ ।

अहिलेको प्रविधियुक्त समयमा अझैं सहकारी संस्थाहरु डिजिटल प्रयोगमा जान नसकिरहेको बेलामा बैंकको यस्तो सुविधा ल्याएर राम्रो काम गरेको शर्मा बताउछन् । यसकार्यबाट थप ८० लाख माथिका सेवाग्राहीहरु डिजितल पहुँचमा समाहित हुने उनले बताए । 

सनराइज बैंकको कार्ड होल्डरले सम्पूर्ण कामहरु कार्डको लागि सम्झौता गरेका सहकारीका ग्राहकले गर्न सक्छन् । जस्तो सनराइज बैंकको एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस्तो कार्ड होल्डर्सले सनराईज बैंकको एटिएमबाट मात्र नभई २७ वटै कमर्सियल बैंक र विकास बैंकहरुको एटिएम मेसिनहरुबाट समेत पैसा झिक्न सक्ने सीईओ शर्माको भनाइ छ । 

त्यस्तै, विभिन्न स्थानमा सपिङ (किनमेल) गर्दा पस मेसिन अर्थात् ‘पइन्ट अफ सेल मेसिन’ मा, विभिन्न बैंकहरुले राखिएका एटिएम मेसिनहरुबाट सामान किनेको रकम भुक्तानी समेत गर्न सकिने उनले बताए । यस्तै, अनलाइन सपिङ्ग, बस तथा हवाइ टिकट तथा विविध भुक्तानी समेत यसैबाट गर्न सकिने बैंकले जनाएको छ । 

एटिएमका लागि सदस्य सहकारीका सदस्य प्रयोगकर्ताहरुले बैंकिङ प्रणाली अनुसार सनराईज बैंकसँग एटिएम कार्डको माग गर्नसक्नेछन् । बैंकले सबै प्रक्रिया पु¥याई ग्राहकलाई कार्ड उपलब्ध गराउनेछ । तर यस्तो कार्डको पिन कोड सिधै डिजिटल रुपमै बैंकले ग्राहकको इमेलमा वा एसएमएस मार्फत मोबाइलमा पठाउने सीईओ शर्माले जानकारी दिए । 

हाल बैंकले चार वटा सहकारी संस्थाहरु मार्फत डेबिट कार्डका सेवाको सुरुवात गरेको छ । चालु आर्थिक वर्षको अन्तसम्ममा कम्तिमा पनि २४ वटा यस्तै सहकारी संस्थाहरूसँग सहकार्य गर्ने योजना रहेको सीईओ शर्माले जानकारी दिए ।
यता, राष्ट्रिय सहकारी बैंकले समेत सहकारी क्षेत्रमा डिजिटल प्रयोगलाई प्राथमिकता दिने गरि छिट्टै एटिएम कार्डको प्रयोग ल्याउने गरि तयारी गरिरहेको छ । हाल मुलुक भित्र ३० हजार हाराहारीको संख्यामा सहकारी संघ, संस्थाहरु सञ्चालित छन् भने ८० देखि ८५ लाख सदस्यहरु सहकारीमा आवद्ध रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप