सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न :  केसी

मङ्गलबार, २७ पुस २०७८, १४ : ०२
मङ्गलबार, २७ पुस २०७८

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताएका छन् । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने उनको भनाइ छ ।

उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण ऐतिहासिक योगदान रहेको जिकिर गरेका छन् । 'तत्कालीन सामन्ती व्यवस्था प्रतिकृयावादी भएको कुरामा कसैसँग विमति हुन सक्दैन । तर तत्कालीन सामन्ती शासकहरूले आफ्नो मुलुकको राष्ट्रियताको रक्षाको भावनाले एकीकरण गरेका थिए । त्यो राष्ट्रियताको भावना सामन्ती राष्ट्रवादमाथि आधारित भए पनि त्यसले देशको एकीकरण तथा एकीकृत मुलुकलाई अङ्ग्रेजहरूबाट रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो,' उनको भनाइ छ ।

उनले भनेका छन्, 'नेपाल तत्कालीन अवस्थामा ५३ वटा स–साना राज्यमा विभाजित थियो । विभिन्न राज्यका बीच युद्ध, झैझगडा तथा लुटपाट चलिरहन्थ्यो । नेपालको दक्षिणतर्फ ब्रिटिश साम्राज्यवादको शक्ति र प्रभावमा विस्तार हुँदै नेपालको समेत राष्ट्रियता खतम गरेर आफ्नो उपनिवेश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको अवस्थामा पृथ्वीनारायण शाहले एकीकरण कार्य अगाडि नबढाएको भए सम्भवतः नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने थियो ।'

पुस २७ गतेलाई सरकारले राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गर्नुपर्ने र त्यस दिन सरकारी तवरबाट सार्वजनिक बिदा दिनु पर्ने  पनि उनले गरेका छन् । पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा नदिए पनि कतिपय स्थानीय तहले बिदा दिने घोषणा गरेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप