बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

मङ्गलबार, २७ पुस २०७८, १३ : १८
मङ्गलबार, २७ पुस २०७८

 प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।

सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६३ जना सांसद छन् । मधेश प्रदेश प्रस्ताव पारित गराउन अझै ७ जना सांसद पुगेमा दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ ।

अन्य प्रस्तावमध्ये जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २१ जना छन् भने १९ सांसद रहेको काँग्रेस भने मिथिला भोजपुरा प्रदेशको पक्षमा छ । तर काँग्रेसकै सांसद राजेश्वरप्रसाद साह भने मध्य मधेसको पक्षमा छन् ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने कुरामा सबै संसदीय दलसँग सहमति भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप