मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘चपली हाइट ३’ ले मलाई स्थापित गर्छ– निर्देशक खड्का

मङ्गलबार, २७ पुस २०७८, १२ : २०
मङ्गलबार, २७ पुस २०७८

म्युजिक भिडियोका राम्रो निर्देशक हुन् निकेश खड्का । भिडियोले उनलाई भ्याइनभ्याइ छ । तर पनि बेलाबेलामा उनी फिल्म निर्देशन गर्दै आएका छन् । कारण राम्रो फिल्म बनाएर सफल निर्देशक बन्ने सपना जो छ उनमा । ‘जिन्दगी रक्स’ फिल्मबाट निर्देशनमा होमिएका खड्काले दोस्रो फिल्मको रूपमा ‘फटेको जुत्ता’ गरे । यी दुवै फिल्मबाट उनले न त दर्शक रिजाउन सके, न आफू सन्तुष्ट हुुन नै । त्यसैले पनि उनले अहिले ‘चपली हाइट ३’ बनाएका छन् । फिल्म आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ । ‘चपली हाइट ३’ ले निर्देशकको रूपमा आफूलाई सफलता र सन्तुष्टि मिल्ने अपेक्षा उनको छ । यिनै निर्देशक खड्कासँग फिल्मका विषयमा गरिएको छोटो कुराकानी ।

तपाईंको पछिल्लो फिल्म केही दिनमा प्रदर्शन हुँदैछ, व्यस्तता बढेको होला नि ?

फिल्म रिलिजका लागि सबै काम छोडेर त्यसकै प्रचार प्रसारमा लागेको छु । फिल्मको रिलिज सरेकोसरै गरेर धेरै समय दिनुपरेको छ । आफ्नो भिडियोको कामपछि सारेर पनि अहिले दौडधुप गरिरहेको छु ।

फिल्म प्रदर्शनको समय आउँदै गर्दा खुसी, डर के छ मनमा ?

फिल्म रिलिजको प्लानिङ यसअगाडि नै भएको थियो । पटक पटक सरेर अहिलेको समयमा आएको हो । त्यतिबेला एक किसिमको डर थियो । फिल्म सर्दै जाँदा त्यो डर पनि हटेर जाँदोरहेछ । अहिले त डर केही छैन । जे हुन्छ हुन्छ भन्ने छ । अहिले राम्रोसँग रिलिज भए हुन्थ्यो भन्ने छ ।

निर्देशकका हिसाबले ‘चपली हाइट ३’ तेस्रो फिल्म हो । यो फिल्मले तपाईंलाई कसरी चिनाउला ?

निर्देशकका रूपमा यो फिल्मबाट मैले राम्रो रिभ्युको आस राखेको छु । यसअगाडिका फिल्मले मलाई खासै चिनाउन सकेको थिएन । ‘चपली हाइट ३¬’ को कामले चिनाउँछ भन्ने विश्वास छ । निर्देशकको रूपमा मलाई स्थापित गरोस् भनेर मैले ‘चपली हाइट ३’ बनाएको हो ।

के हो ‘चपली हाइट ३’ ?

यो एउटा क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म हो । चपली हाइटमा घटेको एक घटनामाथि यो फिल्म बनेको छ । क्रमइम थ्रिलर भनेको विश्वमा धेरैले मनपराउने विषय हो ।  लकडाउनमा मानिसहरुले डिजिटल प्लेटफर्मबाट धेरै यही जनराका फिल्म हेरेको देखिन्छ । त्यसैले दर्शकको अपेक्षा फिल्मले पूरा गर्छ भन्ने छ । 

‘चपली हाइट’को सिक्वेलको कारण फिल्मबाट दर्शकले ग्ल्यामर अपेक्षा गर्नु स्वाभाविक हो । त्यो अपेक्षा पूरा गर्ला त ?

फिल्ममा क्राइम, थ्रिलर, ग्ल्यामर र सस्पेन्स सबै कुरोको मिक्स छ । यो पहिलो सिरिजदेखि नै ग्ल्यामरका रूपमा पनि चिनिँदै आएको छ । एक र दुईमा जस्तै यसपटक ग्ल्यामरको प्रयोग धेरै छैन । यसको कथा र अन्य पक्ष सबै राम्रो छ । यसले मनिसलाई खुसी तुल्याउँछ ।

यसअगाडि तपाईंको फिल्म ‘फाटेको जुत्ता’ले दर्शकको आस पूरा गर्न सकेन नि ?

‘फाटेको जुत्ता’ फिल्मको प्रमोसनमा नै हामीले फिल्म सेन्सलेस कमेडी हो । त्यसको रिभ्यु राम्रो मिल्दैन भनेका थियौँ । फिल्मले दर्शकको अपेक्षा पूरा गर्दैन भन्ने हामीले सोचेका थियौँ ।  अहिलेको ‘चपली हाइट ३’ फरक विषय र राम्रो तरिकाले निर्माण भएको फिल्म हो । त्यसरी बुझिदिन आग्रह गर्दछु । फिल्म हर्न जाँदा खर्चिने दुई घन्टा समय र पैसा भने यो फिल्मले असुल गर्छ । दर्शकलाई फिल्मले बाँधेर राख्ने क्षमता राख्छ ।

पहिलाको सिरिजसँग यसको कथाले कतिको सरोकार राख्छ ?

कुनै पनि सरोकार राख्दैन । यसअगाडिका सिरिजका ग्ल्यामर इलिमेन्ट र क्राइम थ्रिलर मात्र जोडेका छौँ । अन्य सबै विषयवस्तु नयाँ छ ।

नेपाली फिल्मलाई चलचित्र घरले किन राम्रो सो दिँदैन ?

राम्रो फिल्म बने भने सो दिन्छन् । हामीले राम्रो फिल्म बन्छ भन्ने पार्न नसकेका हौँ । तर सबै फिल्मलाई एउटै तराजुमा राखेर हेर्न भने मिल्दैन । दर्शक तान्न प्रमोसन गरिन्छ । त्यो प्रमोसन अनुसारको दर्शकको अपेक्षा फिल्मले पूरा गर्यो भने समस्या आउँदैन । ‘चपली हाइट ३’ ट्रेलरबाट अपेक्षा गरेको भन्दा माथि पाउन सकिन्छ । हामीले दर्शकलाई विदेशीजस्तै हाम्रो फिल्म पनि बन्न सक्छ भनेर बुझाउनु जरुरी छ ।

निर्देशकका रूपमा आफूले आँटेका काम गर्न कति सफल हुनुभयो ?

यसअगाडिको फिल्ममा सोचअनुसार काम गर्न सकेको थिइनँ । यसमा भने त्यो काम गर्न सफल भएको छु । मलाई निर्देशकका रूपमा चिनाउने फिल्म हो र चिनाउँछ भन्नेमा विश्वास छ ।

तपाईं म्युजिक भिडियोको पनि चलेको निर्देशक, फिल्म र म्युजिक भिडियोबीच भिन्नता के ?

फरक छ । फिल्म भनेको एउटा ठूलो क्यानभास हो । म्युजिक भिडियो भने सानो हो । मेरो विचारमा फिल्ममा जाने एउटा माध्यमका रूपमा वा सिक्ने ठाउँ भन्छु म्युजिक भिडियो । अन्ततः निर्देशकले आफ्नो क्षमता देखाउने भनेको फिल्ममै हो । 

कोरोनाको यो समयमा फिल्म हेर्न दर्शक बोलाउँदै गर्दा सुरक्षित कति देख्नुभएको छ ?

अन्य क्षेत्रभन्दा फिल्म हल धेरै सुरक्षित छ भन्ने मेरो धारणा हो । किनभने हलमा माक्सबिना प्रवेश निषेध छ । हरेक सोमा सेनिटाइज पनि हुन्छ । मानिसलाई अन्य क्षेत्रमा भन्दा हलमा फिल्म हेर्दा ढुक्क हुन सकिन्छ । फिल्म हलमा कोरोनाको डर छैन ।

आगामी योजना के छ ?

फिल्म क्षेत्रमै राम्रो राम्रो फिल्म दिने भन्ने छ । त्यसका लागि तयारी चलिरहेको छ । पहिलो प्राथमिकता यो राम्रोसँग रिलिज होस् भन्ने छ । किनभने योप्रति मेरो धेरै अपेक्षा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप