बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोनाविरुद्ध सरकारको एक्सन, नारायणहिटी प्रकरणमा यस्तो खुलासा

प्रधानमन्त्रीसहित मन्त्रीहरु नै ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि मन्त्रिपरिषद बैठक प्रभावित
सोमबार, २६ पुस २०७८, २० : ४६
सोमबार, २६ पुस २०७८

आज २०७८ पुस २६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा कोरोनाविरुद्ध सरकारको एक्सन : माघ १५ सम्म विद्यालय बन्द गरेर खोपको रफ्तार बढाउने, प्रधानमन्त्रीसहित मन्त्रीहरु नै ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि मन्त्रिपरिषद बैठक प्रभावित, नारायणहिटी प्रकरणमा छानबिन समितिको प्रतिवेदनमा यस्तो खुलासा, देश पराईहरुको खेल मैदान बनेको पूर्वराजा ज्ञानेन्द्रको ठहर, कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी, नोबेल मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न विद्यार्थी संगठनहरुको माग लगायत छन् ।

१.कोरोनाविरुद्ध सरकारको एक्सन : माघ १५ सम्म विद्यालय बन्द गरेर खोपको रफ्तार बढाउने 
कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि ‘एक्सन’ सुरु गरेको छ । यस क्रममा आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्दै १२ वर्षभन्दा माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई गति दिने सरकारको तयारी छ ।

यस्तै, सरकारले नेपाल आउने यात्रुलाई समेत कडाई गर्ने भएको छ । अब नेपाल आउन पछिल्लो ७२ घण्टाभित्र पीसीआर परीक्षण गराई नेगेटिभ रिपोर्ट भएकालाई मात्र अनुमति दिइने भएको छ । यस्तै, सार्वजनिक सेवा लिन पनि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

​२. प्रधानमन्त्रीसहित मन्त्रीहरु नै ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि मन्त्रिपरिषद बैठक प्रभावित
प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरु नै ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि मन्त्रिपरिषदको बैठक प्रभावित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको र उनीसँगै भेट गरेका कारण प्रधानमन्त्री देउवासहित मन्त्रीहरु ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका हुन् । यद्यपि, प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ । 

​३. नारायणहिटी प्रकरणमा छानबिन समितिको प्रतिवेदनमा यस्तो खुलासा
नारायणहिटी संग्रहालय परिसरमा क्याफे सञ्चालन गर्न अघिल्लो सरकारकै पालामा अनुमति दिएको पाइएको छ । सो सम्बन्धमा छानबिन गर्न पर्यटन मन्त्रालयले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदै १४ रोपनी क्षेत्रफलमा भौतिक संरचना निर्माण भएको पाइएको जनाएको छ । समितिको प्रतिवेदनमा विकास समितिका कार्यकारी निर्देशक भेषनारायण यादव र बतास समूहलाई कारवाहीका लागि सिफारिस गरिएको छ ।

४. देश पराईहरुको खेल मैदान बनेको पूर्वराजा ज्ञानेन्द्रको ठहर
पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनेको जनाएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनले जारी गरेको शुभकामना सन्देशमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्ने ‘तन्त्र’को अभ्यासमा समय बर्बाद गर्न नहुने उल्लेख छ ।

५. कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी
केही दिन यता निरन्तर उकालो लाग्दै आएको कोरोना संक्रमितको संख्या आइतबार पनि बढेको छ । देशभर एक हजार ४४६ जनामा पछिल्लो २४ घण्टाभित्र संक्रमण पुष्टि भएको हो । 

६. वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीको खेमामा : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका कम्युनिस्ट पार्टी वामपन्थी खोल ओढेर दक्षिणपन्थीको सेवामा लागेको बताएका छन् । सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुको खेमामा पुगेको आरोप लगाए ।

सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) लाई फिर्ता पठाइदिएको छ । सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको हो ।

८. गैरआवासीय नेपाली संघको निर्वाचन गर्ने बाटो खुल्यो
गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १० औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो । 

९. नोबेल मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न विद्यार्थी संगठनहरुको माग
सात वटा विद्यार्थी संगठनले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न माग गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कार्यालय नयाँ बानेश्वर बसेको सात विद्यार्थी संगठनको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । 

१०. अर्थमन्त्री भन्छन्– लकडाउनको बाटो रोज्नु हुँदैन
अर्थमन्त्री जनार्दन शर्माले अब कुनै पनि हालतमा मुलुकले लकडाउनको बाटो रोज्न नहुने बताएका छन् । कोरोना संक्रमण दर बृद्धि भइरहेको अवस्थामा लकडाउन हुने हो कि भन्ने आशंका बढिरहँदा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

११. र यो पनि,
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत साता संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । 

उमेर नपुगी भागी विवाह गरेका एक जोडीलाई जिल्ला अदालत कास्कीले छुटाइदिएको फैसलामा उच्च अदालत पोखराले झगडिया झिकाउने आदेश दिएको छ । उच्च अदालत पोखराका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको हो ।

​नेकपा (एकीकृत समाजवादी)ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैरकानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन् ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप