सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण फैलनुमा दलहरु जिम्मेवार : डा.सुन्दरमणि दीक्षित

‘लकडाउन समस्याको समाधान होइन’
सोमबार, २६ पुस २०७८, १७ : ३९
सोमबार, २६ पुस २०७८

 वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले नेपालमा कोरोनाभाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा डा. दीक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दललाई महाधिवेशन गर्न दिएकाले कोरोना संक्रमण फैलिएको बताए । उनले भने, ‘नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’

दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको उनको भनाइ छ । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिए पनि सुझाव कार्यान्वयन नगरेको उनले बताए ।

खोप नै भाइरसको संक्रमण रोक्ने एकमात्र बुटी भएको भन्दै डा.दीक्षितले सरकारले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘एक महिनाभित्र खोप ल्याउन प¥यो । जतिसक्दो चाडो खोप दिइन्छ त्यत्तिनै चाडो संक्रमण  बढ्न पाउँदैन ।’

ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए । सरकारको अहिलेको पहिलो प्राथमिकता भनेकै बालबालिकाहरुलाई खोपको व्यवस्था गर्नु हो भन्दै उनले ओम्नीकाण्ड, सुनकाण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे ।

लकडाउन समस्याको समाधान नहुने पनि उनले प्रस्ट पारे । उनले भने, ‘भाइरस जहाँबाट पनि छिर्छ । लकडाउनको कुनै अर्थ छैन ।’

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए ।

उनले भने, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौँ ।’

कोभिडको सामना गर्ने तयारीबारे विभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए । उनले सबैलाई कोभिडबाट बच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरे ।

भाइरस विज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिरहेको बताए । ‘ओमिक्रोन डेल्टा भेरियन्टभन्दा एकदमै चाँडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।  

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने बताए ।

उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए । लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकेको देश चाइनामात्रै भएको बताउँदै डा.आचार्यले अरु देश लकडाउनमा असफल भएको बताए । उनले दलहरुको महाधिवेशनबाट कोरोना संक्रमण फैलिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप