सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देश पराईहरुको खेल मैदान बनिसक्यो : पूर्वराजा ज्ञानेन्द्र

सोमबार, २६ पुस २०७८, १७ : ०१
सोमबार, २६ पुस २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन् ।

‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण नै यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं,’ सन्देशमा पूर्वराजा शाहले भनेका छन् ।

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उनले प्रस्ट पारेका छन् । ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ सन्देशमा उनले भनेका छन् ।

प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ । ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन् ।

उनले आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका जनता सबै एक बन्न पनि आह्वान गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिँगारौँ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप