बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पशुपति धर्मशालामा बतासको व्यापार : रक्सी–मासु निषेध, मासिक झण्डै ९ लाख भाडा

यस्तो छ पशुपति क्षेत्र विकास कोष र बतास समूहबीचको सम्झौतापत्र (पूर्ण पाठसहित)
सोमबार, २६ पुस २०७८, १४ : ०४
सोमबार, २६ पुस २०७८

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागेपछि यतिबेला बतास समूह विवादको केन्द्रमा छ । राजधानीको मुटु मानिने नारायणहिटीको महँगो जग्गा सस्तो भाडामा लिएर व्यवसाय गर्न लागेको खुलासा भएसँगै बतास समूह विवादमा तानिएको हो । नारायणहिटीमात्रै होइन, बतास समूहले यस्तो व्यापार काठमाडौँकै धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि गरिरहेको छ ।

पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतासको त्यहाँको लगानी पनि विवादमुक्त भने छैन । रातोपाटीलाई प्राप्त डकुमेन्टअनुसार बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको हो ।

भाडा झण्डै ९ लाख

पशुपति धर्मशाला बतास समूहले मासिक झण्डै ९ लाख तिर्ने गरी १५ वर्षका लागि भाडामा लिएको हो । जसअनुसार मासिक ८ लाख ७८ हजार ४८६ रुपैयाँ मासिक भाडा तिर्नुपर्ने उल्लेख छ । उक्त बहाल हरेक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार बतास समूहले कोषलाई भुक्तान गर्नुपर्ने ६ महिना बराबरको बहाल रकम कोषको बोलपत्रमा उल्लेखित धरौटी खानामा सामानको सुरक्षणबापत नगद धरौटी राख्नुपर्ने उल्लेख गरिएको छ । कोषले भाडामा दिएको धर्मशालामा खानेपानी कोषले नै उपलब्ध गराउने गरेको छ भने विद्युत् तथा पानीको महसुल भने बतास समूहले नै तिर्नुपर्नेछ ।

यस्तै, वार्षिक भाडा रकमको कुल बहाल समयावधि गणना गर्दा हुन आउने रकमको ५ प्रतिशत बराबरको रकमको १३ महिना अवधि भएको बैंक ग्यारेन्टी राख्नुपर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौता अवधि नसकिएसम्म उक्त ग्यारेन्टी हरेक वर्ष म्याद सकिनु अगावै नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

सम्झौतामा होटेलमा गैरसनातनी संस्थालाई कार्यक्रम गर्न नदिने उल्लेख छ भने भवन परिसरमा कोषको विरुद्ध कुनै पनि अवाञ्छित गतिविधिहरू गर्न रोक लगाइएको छ । यस्तै होटेलमा काम गर्ने कर्मचारीसमेतलाई सरकारले तोकेको न्यूनतम सेवा सुविधा दिनुपर्ने उल्लेख छ ।

यस्तै होटलले आर्जन गर्ने मुनाफाको ५ प्रतिशत रकम कल्याणकारी काममा खर्चिनुपर्ने पनि सम्झौतामा उल्लेख छ । धर्मशालालालाई होटलको रूपमा स्तरीकरण गर्न समूहले २ करोड लगानी गर्ने विषयमा समेत सम्झौतामा उल्लेखित छ ।

रक्सी र मासु निषेध !

सार्वजनिक निजी साझेदारी कार्यक्रम अनुसार पशुपति क्षेत्र विकास कोषले तिलगंगामा अवस्थित सो धर्मशाला होटल सञ्चालन गर्न बहालमा दिएको हो । जसअनुसार बतास समूहले २०७६ वैशाख २३ मा भाडामा लिनका लागि निवेदन दिएको थियो । १९ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला भवनलाई सम्झौताअनुसार बतास समूहले नै रकम खर्चिएर होटललाई आवश्यक रूपरेखामा परिवर्तन गरेको थियो ।

होटेलमा रक्सी र मासु निषेध गरिएको छ । सम्झौतामा भनिएको छ, ‘यस करारनामामा उल्लेखित भवनमा शाकाहारी भोजन र मद्यपानरहित खाद्य सामग्री मात्र बिक्री वितरण गर्न पाइनेछ भन्ने कुरामा दुवै पक्षको पूर्ण मञ्जुरी रहेको छ।’

सम्झौतापत्रमा तत्कालीन कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बतासका तर्फबाट ओस्कर बतासले हस्ताक्षर गरेका छन् ।

यस्तो भाडा तिर्नुपर्ने वार्षिक रकम

वार्षिक भाडाबापत पहिलो वर्ष बतास समूहले कोषलाई १ करोड ५ लाख ४१ हजार तिर्नुपर्नेछ भने हरेक वर्ष ५ प्रतिशत भाडा बढ्ने सम्झौताअनुसार दोस्रो वर्ष १ करोड १० लाख ६८ हजार, तेस्रो वर्ष १ करोड १६ लाख २२ हजार, चौथो वर्ष १ करोड २२ लाख ३ हजार तिर्नुपर्ने उल्लेख छ ।  

यस्तै पाचौं वर्षमा १ करोड २८ लाख १३ हजार, छैटौँ वर्षमा १ करोड ३४ लाख ५४ हजार, सातौँ वर्षमा १ करोड ४१ लाख २६ हजार तथा आठौँ वर्षमा १ करोड ४८ लाख बुझाउनुपर्नेछ ।

यस्तै अन्तिम वर्ष अर्थात् १५ औँ वर्षमा बतासले कूल भाडा वार्षिक २ करोड ८ लाख ७१ हजार ६८२ रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

हेर्नुहोस् सम्झौताको पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप