शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा बढ्यो कोरोना : होल्डिङ सेन्टर निर्माण अधुरै, सङ्क्रमितको व्यवस्थापनमा चुनौती

सोमबार, २६ पुस २०७८, ११ : ५९
सोमबार, २६ पुस २०७८

पछिल्ला दिनमा प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले विराटनगरको रानीमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहेको पाइएको छ । जसले गर्दा सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ ।

संघीय सरकारले उपलब्ध गराएको २८ करोड ९१ लाख रुपैयाँ बजेटमा विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुटमिल परिसरको ३ बिघा जग्गामा ‘होल्डिङ सेन्टर’ निर्माणको काम अघि बढेको थियो । एक हजार बेड क्षमताको २२ वटा भवन निर्माण गर्ने योजनाअनुसार अहिलेसम्म ६० प्रतिशतमात्र काम पूरा भएको छ ।

गत असार महिनामा नेपाल सरकारले उपलब्ध गराएको बजेटमा नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएर निर्माणको काम गरिरहेको छ । सम्झौताअनुसार ठेक्का पाएको दुई महिना अर्थात् गएको भदौ महिनाभित्र होल्डिङ सेन्टर निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो ।

नेपाली सेनाको काली शक्ति गणका सब इन्जिनियर लक्ष्मण थापाका अनुसार ठेकेदार कम्पनीले होल्डिङ सेन्टर निर्माणको काम पूरा गरी हस्तान्तर गर्न अझै दुई महिना लाग्ने देखिएको छ ।

कोरोनाका शङ्कास्पद संक्रमितलाई राख्न तयार गरिएको होल्डिङ सेन्टर समयमै निर्माण पूरा गर्न आफूहरूले ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको उनले बताए ।

हनुमान कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज माधव घिमिरेले भने होल्डिङ सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा ढिलाई हुँदा समयमै काम सम्पन्न हुन नसकेको बताए । उनले सम्झौता भएको दुई महिनापछि मात्र निर्माणको काम अघि बढेको जानकारी दिए ।

‘होल्डिङ सेन्टरको लागि आवश्यक जग्गा भदौ महिनामा मात्र प्राप्त भयो,’ घिमिरेले भने, ‘त्यस यता हामीले निर्माणको कामलाई तीव्रता दिँदै आएका छौं ।’

घिमिरेले तत्काललाई एक सय क्षमताका भवनहरु तयारी अवस्थामा रहेकाले तिनको व्यवस्थापनका लागि आवश्यक बेड लगाउने काम भइरहेको बताए । अन्य भवन पनि सँगै निर्माण गर्दै लैजाने सोच रहे पनि अहिलेलाई भने कम्तीमा एक सय जना शङ्कास्पद बिरामीलाई होल्डिङ सेन्टरमा तत्काल राख्न सकिने गरी आवश्यक व्यावस्थापन भइरहेको उनको भनाइ छ ।

संघीय सरकारले सातैवटा प्रदेशमा एक÷एक हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने योजना अघि सारेको थियो । सोही अनुसार नेपाली सेनाले प्रदेश १ को विराटनगर र झापाको मेचीनगर नगरपालिका–१४, धाइजनमा होल्डिङ सेन्टर निर्माण गरिरहेको छ ।

धाइजनमा नदी उकास जमिनमा संरचना निर्माण गरेर होल्डिङ सेन्टर निर्माण भइरहेको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश १ मा लकडाउनको समयमा कोरोना सङ्क्रमण रोकथामका लागि निर्माण गरिएका अस्थायी होल्डिङ सेन्टर सबै बन्द भइसकेका छन् । पालिकाहरुमा निर्माण भएका आइसोलेसन सेन्टहरुलाई यथावत राखेर साना होल्डिङ सेन्टरको रुपमा विकास गर्न प्रदेश सरकारले निर्देशन गरिसकेको प्रदेश सचिव पराजुलीले बताए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलका अनुसार होल्डिङ सेन्टरको अभावमा सङ्क्रमितहरू अहिले सबै होम आइसोलेसनमा छन् । प्रदेशमा कुल १९२ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये १२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप