सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा एआईजीका ३ दरबन्दी थप्ने प्रस्ताव, को–को छन् प्रतिस्पर्धामा ?

सोमबार, २६ पुस २०७८, १० : ५२
सोमबार, २६ पुस २०७८

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत साता संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)  गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । सो प्रस्तावलाई गृहले अगाडि बढाएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । प्रहरी प्रधान कार्यालयले प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरेको छ । अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीहरुले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले  २०७९ वैशाख १९ मा अवकाश पाउनेछन् । उनको अवकाशपछि नियुक्त हुने महानिरीक्षकमा अब बढुवा हुने एआईजीले पनि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

प्रतिस्पर्धामा को–को ?
प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको ३ वटा एआईजीमा बढुवा हुनका लागि आधा दर्जन भन्दा बढी डीआईजीहरु प्रतिस्पर्धामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंह, डीआईजीहरु उत्तमराज सुवेदी, घनश्याम अर्याल, ईश्वरबावु कार्की, बसन्त पन्त, बसन्त लामा र रविन्द्र धानुक एआईजी बढुवा हुने प्रतिस्पर्धामा छन् । त्यस्तै डीआईजी अरुण बिसी पनि एआईजी बढुवाको प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप