आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग, नियुक्ति भएको ११ महिनापछि पदभार ग्रहण

सोमबार, २६ पुस २०७८, १० : ५०
सोमबार, २६ पुस २०७८

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहालले आइतबार पदभार ग्रहण गरेका छन् । नियुक्त भएको करिव ११ महिनापछि उनले पदभार ग्रहण गरेका हुन् । २०७७ फागुनमा नियुक्त भएका दाहालले कार्यालय अभावका कारण पदभार ग्रहण गरेका थिएनन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पहिलो तलाको एउटा कोठामा आफ्नो कार्यालय स्थापना गरेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई २०७७ फागुनमा तत्कालीन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नियुक्त गरेका थिए । उनलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पदभार ग्रहण गराएका हुन् । उनको पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख भगवती पुडासैनी, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, प्रदेश युवा परिषद् बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति  थियो ।

१० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग

जिल्ला युवा समितिका अध्यक्ष दाहालले विगत १० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग गरेका छन् । उनले २०७७ फागुनदेखि २०७८ पुससम्म दोहोरो सरकारी सुविधा उपभोग गरेका हुन् । दाहालले राष्ट्रिय युवा परिषद र भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमबाट तलब सुविधा उपभोग गर्दै आएका थिए ।

उनले जिल्ला युवा समितिको अध्यक्ष भएपछि मासिक २० हजारका दरले सुेवासुविधा उपभोग गरिरहेका छन् । उनले विगत ४ वर्षदेखि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमको मकवानपुर संयोजक भएर मासिक तलब सुविधा उपभोग गर्दै आएका थिए ।

दाहालले जिल्ला युवा समितिको अध्यक्ष नियुक्त भएपछि पनि सहकारी बजार विकास कार्यक्रमको जिल्ला संयोजकका रुपमा तलब सुविधा उपभोग गरिरहेका थिए । उनले सहकारी विकास कार्यक्रमको संयोजक बनेर मासिक रुपमा सुब्बा तहको तलब स्केल बुझ्दै आएका थिए ।

दोहोरो तलब सुविधाको विषय बाहिर आउने भएपछि सहकारी बजार विकास कार्यक्रमको समय अवधि सकिन एक महिना बाँकी रहँदा उनले सो पदबाट राजीनामा दिएका थिए । हाल सहकारी बजार विकास कार्यक्रमको समयावधि समाप्त भइसकेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र यूएनडीपीको साझेदारी संचालित उक्त कार्यक्रम बागमती प्रदेशको मकवानपुरसहित धादिङ, ललितपुर, काभ्रे, चितवन र नुवाकोटमा संचालित छ । ४ वर्ष संचालनमा रहेको सो कार्यक्रमको गत मंसिर अन्त्यमा समयावधि समाप्त भएको थियो ।

दाहालले भने आफूले कुनै पनि सरकारी पदको दुरुपयोग नगरेको बताएका छन् । युवा समितिको अध्यक्षको कुनै तलब सुविधा नहुने भन्दै उनले सहकारी क्षेत्रमा ज्ञान भएका कारण आफू सहकारी बजार विकास कार्यक्रमको संयोजक भएर काम गरेको बताए । उनले भने, ‘सरकारी सेवा सुविधा दोहोरो भन्ने हुँदैन, ऐन नियम पढ्नू,’ रातोपाटीसँग उनले भने ।

आफूले सरकारी ढुकुटीको दुरुपयोग नगरेको दाबीसहित उनले भने, ‘म एउटा सामान्य परिवारको मान्छे हुँ । जानेको कुरा प्रयोग गरेर केही राम्रो गरौँ भन्ने सोचेको हँु ।’

आफूलाई सक्षम सोचरै नियुक्ति दिइएको हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘तर, सेवा सुविधा दोहोरो भन्ने हुँदैन । ऐन, नियम पढेर आउनू ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप