मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

आइतबार, २५ पुस २०७८, २२ : १०
आइतबार, २५ पुस २०७८

नेकपा एमाले लमजुङको ८ औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन । 

सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ । 

पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना गरी पाँच जना रहेकोमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दर्ता गरिएका १२ जना मध्ये अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् भने एक जनामात्रै महिला उम्मेदवार छन् ।

उपाध्यक्ष पदका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ) की जिल्ला अध्यक्ष यशोदा रिमालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपाध्यक्ष बाहेक अरू कुनै पनि पदमा महिलाले उम्मेदवारी दिएका छैनन् । उपसचिवमा सात जनाले उम्मेदवारी दिएकोमा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन ।

उपाध्यक्षमा बेंसीशहर नगरपालिका-७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले पनि उम्मेदवारी दिएका छन् । सचिवमा सुभाष पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् । उपसचिवमा कृष्ण केसी, रामचन्द्र भट्ट, जितबहादुर गुरुङ, हिरालाल विक, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङ ८ औं अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप