बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेविसंघको वैधानिक नेतृत्व ल्याउन इतर पक्षका नेताहरुको माग

आइतबार, २५ पुस २०७८, १९ : ४२
आइतबार, २५ पुस २०७८

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) इतर समूहका नेताहरुले भेला गरेका छन् । उनीहरूले  नेविसंघको नेतृत्व अवैधानिक भएकाले वैधानिक नेतृत्व ल्याउन माग गरेका हुन् ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएकाले नेविसंघमा उनी पदमुक्त भएका छन् । काँग्रेस विधानले भ्रातृ संगठनको अध्यक्ष पार्टीको केन्द्रीय सदस्य भए पदमुक्त हुने व्यवस्था गरेको छ । साथै ६ महिनाभित्र  संघको १२ औैँ महाधिवेशन  गराउने जिम्मेवारी पाएको ढुंगाना नेतृत्व कमिटी बेकामे सावित भएको छ । नेविसंघ नेतृत्वमा आएको करिब २४ महिना हुनै लाग्दा पनि ढुंगाना नेतृत्व कमिटीले महाधिवेशनको सुरसार समेत गरेको छैन । अब वैधानिक संकट अन्त्य गरी नेविसंघलाई १२ औैँ महाधिवेशन उन्मुख गराउनुपर्ने उनीहरुको माग छ ।

भेलामा नेविसंघ पूर्व कोषाध्यक्ष शिव रिमाल, पूर्व सहमहामन्त्री ललिता सुनार, पूर्व केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, पुजन गन्धर्व, जानुका पन्त र रत्नहरि ढुङ्गेलबीच छलफल भएको थियो । यस्तै पोखरा जिल्ला अध्यक्ष बिक्रम आदित्य गिरी, दोलखा अध्यक्ष भीम खड्का, पूर्वी रुकुम अध्यक्ष सुमन बुढामगर, मुगुका अध्यक्ष धर्म शाही, त्रिवि अध्यक्ष डा.श्यामचन्द्र अधिकारी, जनमैत्री क्याम्पस स्ववियु सभापति पंकज क्षेत्री,आर आर अध्यक्ष पुष्कर बास्तोला, सिटिभिटी अध्यक्ष महेन्द्र शाही लगायत  ५५ जना भेलामा सहभागी थिए । 

नेविसंघको वर्तमान अवस्था र भावी कार्यदिशाबारे छलफल गरिएको भेलाका संयोजक नेपाल इन्जिनियरिङ कलेजका पूर्व सभापति, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष ई.भुवन भट्टले बताए । साथै भेलामा नेविसंघको १२ औैँ महाधिवेशनको सुनिश्चितता, स्ववियु निर्वाचन र नेविसंघको वैधानिक संकटको निकाससहित महत्त्वपूर्ण विषयहरुमा छलफल भएकोको नेता भट्टले बताए । 

केन्द्रीय समितिका पूर्व पदाधिकारी सदस्य र विभिन्न कलेज ,विश्वविद्यालयका अध्यक्ष लगायत भेलामा उपस्थित विद्यार्थी नेताहरुले वर्तमान नेतृत्वको गलत कदमको विरोध गरेका थिए ।  बलियो र सशक्त नेविसंघ निर्माणमा  खबरदारी र पहल निरन्तर जारी रहने निष्कर्ष उक्त भेलाले गरेको भेलाका संयोजक ई.भुवन भट्टले बताए । यस विषयमा उनीहरू केही दिनमै पार्टीका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप