आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण, मूल्यवृद्धि बढ्छ : गभर्नर

आइतबार, २५ पुस २०७८, १८ : ४४
आइतबार, २५ पुस २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालू आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले पुँजीगत खर्च बढाउन नसक्दा तथा समस्याका कारण लक्ष्य हासिल गर्न समस्या रहेको बताएका हुन् । 

गभर्नर अधिकारीले भने,‘चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको विषयमा केन्द्रीय तथ्याङ्क विभागले समय समयमा जानकारी गराइरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ देखि ४ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखिए पनि २ प्रतिशतमा सङ्कुचन हुन पुगेको थियो । गत आर्थिक वर्षमा कोरोना महामारी भएता पनि उद्योग व्यवसाय चलायमान भएकाले आर्थिक वृद्धिदर सकारात्मक रूपमा नै देखिएको थियो । चालु आर्थिक वर्षमा पनि सरकारको लक्ष्य हासिल गर्न लागि परेका छौँ । केही सकारात्मक अवस्थाहरू पनि भएका छन् । तर बीचमा केही बेमौसमी वर्षाको कारण केही असर परेको छ । यसले गर्दा पनि आर्थिक वृद्धिको लक्ष्यमा पुग्न चुनौती थपिएको छ । धान उत्पादन तथा कृषि जन्य वस्तुको उत्पादनमा बेमौसमीका कारण भएको क्षतिको कारण आर्थिक वृद्धिमा असर परेकाले चुनौती रहेको छ । लक्ष्य छेउसम्म पुग्न सकिन्छ । खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको छ ।’

उनले आर्थिक वृद्धिको लक्ष्य मात्रै नभएर चालू वर्ष मूल्यवृद्धि स्थिर राख्न नसकेर मूल्यवृद्धिसमेत बढ्ने देखिएको बताए । उनले भने ‘मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको हो । यसमा आन्तरिक तथा बाह्य दुवै कारण रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप