बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड तेस्रो लहरले ‘घण्टी बजाउँदा’ राजनीतिक दलहरू भेला सम्मेलनमा

अब लकडाउनबारे पनि सोच्नुपर्ने हुनसक्छ : स्वास्थ्यविद्
आइतबार, २५ पुस २०७८, १८ : ००
आइतबार, २५ पुस २०७८

गत पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौँमा भएको  माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता कोरोना सङ्क्रमणको शिकार भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा, मातृका यादव, हरिबोल गजुरेल, सुवोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरू कोभिड सङ्क्रमित भए । एक साता लामो महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधि कमलादीमा भेला भएका थिए । उनीहरू मध्ये धेरै कोरोना सङ्क्रमित भएको आशंका गरिएको छ । माओवादी अध्यक्ष प्रचण्डको सम्पर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा रहेका छन् ।

यता नेकपा एमालेले पनि यही पुस २३ गतेदेखि जिल्ला सम्मेलन गरिरहेको छ । १६ जिल्ला बाहेकमा एमालेले सम्मेलन गरेको हो । कोभिड सङ्क्रमण बढिरहेका बेला भिडभाड हुने गतिविधि हुने गतिविधि किन गरेको भन्ने प्रश्नमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एउटा/दुईटा जिल्लाहरूले अलि ठुलो सभा गरे धेरैजसो जिल्लाहरूमा सीमित प्रतिनिधिहरूका बीचमा नै कार्यक्रम गरेको दाबी गरे । उनले कार्यक्रम गर्दा मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न, दुरी कायम गर्न भनिएको बताए ।

रातोपाटीसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले भने–‘कतिपय कुराहरू पालना नभएको पनि हुन सक्छ । लक्षण देखिँदासाथ साथीहरूलाई पीसीआर टेष्ट गराउन पनि भनिएको छ । सतर्कता अपनाइएको कारणले हाम्रो सम्मेलनको सवालमा अहिलेसम्म कहीँ पनि त्यस्तो देखिएको छैन तर सबै होसियार हुनुपर्ने हामीलाई पनि लागेको छ ।’

उनले राजनीतिक दल समाजको अगुवा र सचेत संस्था भएकोले आफूले पनि परिपालना गर्नुपर्ने र अरूलाई पालना गर्नका लागि प्रेरितपनि गर्नुपर्ने बताए ।  कोभिड रोकथामका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक पनि हुने बताउँदै उनले एमाले महाधिवेशनका बेला भने सङ्क्रमणको अवस्था कम रहेको दाबी गरे ।

उनले भने–‘हामीले राष्ट्रिय महाधिवेशन गरेको बेला झन्डै झन्डै एक डेढ प्रतिशतमा सङ्क्रमण दर घटेको थियो । हामीले गरेको कार्यक्रमबाट कोरोना सङ्क्रमणको असर कहीँ पनि परेन । पछिल्लो समय नयाँ भेरियन्ट सहित संक्रमणदर बढ्दो छ । दलहरूले आफ्ना कार्यक्रमहरूलाई नयाँ स्वरूपमा लैजाने, स्वास्थ्य मापदण्ड आफूले पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउन पहल गर्नुपर्ने अवस्था देखिएको छ ।’

स्वास्थ्यविद्हरुले कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुन लागेको चेतावनीका बीच राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुले काठमाडौँ सहित देशभर सामूहिक भेला हुने प्रकारका कार्यक्रमहरू गरिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही पुस २३ गते एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट २४ जना सङ्क्रमित भएको जनाएको थियो ।

मन्त्रालयले यो सङ्ख्या जानकारी गराए पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढिरहेको प्रा.डा. जागेश्वर गौतमले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो सङ्ख्या धेरै बढिसक्यो होला । सहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो सङ्ख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौँमा पोजेटिभ आउन सक्छ । काठमाडौँमा यति बाक्लो र ठुलो जनसङ्ख्या छ, चाँडै धेरै जनसङ्ख्यामा सङ्क्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा सङ्क्रमितहरू थपिन थालेका छन् । आईसीयूमा भर्ना हुनेको सङ्ख्या बढेको छ । लक्षण भएका सङ्क्रमितहरूको सङ्ख्या पनि बढिरहेको छ ।’

मन्त्रालयले विश्वव्यापी रूपमा तथा नेपालमा हालसम्मको तथ्याङ्कहरूलाई आधार मान्दा नेपालमा पनि ओमिक्रोनको कारणले अत्यधिक मात्रामा कोभिड–१९ को केशहरू बढ्न सक्ने सम्भावना भएकोले सबैलाई सचेत रहन आग्रह गरेको थियो । साथै मन्त्रालयले काठमाडौँ उपत्यका भित्र रहेका अस्पतालहरूलाई तयारी अवस्थामा बस्न र सतर्क रहन आग्रह समेत गरेको थियो । 

भेटघाट हुने कार्यक्रम तथा स्कुल कलेजमा भौतिक उपस्थिति रोक्न स्वास्थ्यविद्को आग्रह

कोभिड रोकथामका सन्दर्भमा अघिल्लो वर्ष सक्रिय जिम्मेवारीमा रहेका डा. जागेश्वर गौतमले भिडभाड हुने गतिविधि नरोके कोरोना संक्रमणदर व्यापक मात्रामा बढ्ने बताएका छन् ।

उनले भने–‘भिडभाड हुने कुराहरू अब तुरुन्त बन्द गर्नुपर्छ । अहिलेका लागि स्कुल कलेजहरू बन्द गर्नुपर्छ । मान्छेहरू यति जना भन्दा धेरै जम्मा हुन नहुने भनेर सरकारले भन्नुपर्छ । यी कुराहरू सरकारले तय गर्नुपर्‍यो । भिडभाड हुने खालका सबै गतिविधिहरू तत्काल बन्द गर्नुपर्छ । भिडभाड हुने काम राजनीतिक दलले गरेको भनेर छोड्नुहुँदैन । स्कुल कलेजले गरेको भनेर छोड्नुहुँदैन । बिहे व्रतबन्ध भोज भनेर छोड्नुहुँदैन । हामीले अहिले यति गरेनौँ भने भोलि सङ्क्रमणको अवस्था खराब दिशा तर्फ जानेछ ।’

स्वास्थ्य मन्त्रालयले गरेको आग्रहको उपेक्षा गर्दै विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरूले सभा सम्मेलनका साथै सामूहिक भेटघाट गर्ने जस्ता गतिविधिहरू गरिरहेका छन् । जसले कोरोना सङ्क्रमण बढाउन सक्ने सम्भावना बढेको छ ।

यता सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जमघट भेटघाट हुने अवस्थालाई निरन्तरता दिने हो भने कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम अझै फैलँदै जाने बताए । अघिल्लो भेरियन्ट भन्दा केही कमजोर भए पनि बिजुली गतिमा फैलन सक्ने भाइरस रहेको उनले बताए । खोप नलगाएकाहरूलाई यो सङ्क्रमणको जोखिम रहेको उनको भनाई छ । उनले भने–‘जमघटहरूलाई निरन्तरता दिइरह्यो भने यो फैलने क्रम बढ्दै जाला । नयाँ भेरियन्टबाट दैनिक २२ देखि २५ हजार सङ्क्रमित हुनसक्ने हामीले जुन अनुमान गरेका छौँ, त्यो भन्दा धेरैपनि हुन सक्ला । जटिल अवस्था नभएसम्म अहिले सबैजना परीक्षणको दायरामा आउँदैनन् । भ्याक्सिन लगाएकाहरूले भ्याक्सिन नलगाएकाहरूसम्म यसको सङ्क्रमण पुर्‍याई रहे भने पहिला सङ्क्रमित नभएका र खोप लगाउन नपाएकाहरू जोखिममा रहन सक्छन् ।’

बिजुली गतिमा फैलने ओमिक्रोनको विशेषता 

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणदर बढ्न सुरु गर्ने बेलामा विशेष ध्यान नपुर्‍याउने हो भने ह्वात्तै सङ्क्रमितहरूको सङ्ख्या बढ्ने बताए । उनले भने–‘सुरुमै सचेत हुन हामीले पहिलेदेखि नै भन्दै आएको हो । यसअघि पनि कोरोनाको डेल्टा भेरियन्ट घुमिरहेको नै थियो । ओमिक्रोन भेरियन्ट बिजुली गतिमा फैलिने क्षमता भएको भेरियन्ट हो । यसको कडापन अघिल्लो भेरियन्ट भन्दा कम नै भन्ने छ । जसले भ्याक्सिन लगाउन पाउनुभएको छैन वा जसलाई पहिले सङ्क्रमण भएको छैन, उहाँहरूलाई अहिले पनि जोखिम छ ।’

उनले नेपालमा अहिलेको अवस्था हेर्दा ठुलो मात्रामा खोप लगाउनका लागि पालो कुरेर बस्नेहरू रहेको र उनीहरू बढी जोखिममा रहेको बताए । साथै जमघट हुने अवस्था रोक्न पनि उनको सुझाव छ ।

डा. पुनले भने–‘यदि हामीले भेला जमघट गरेको गर्‍यै गर्‍र्यौँ भने धेरै फैलन सक्छ । आशा गरौँ खोप लगाएकाहरूलाई ठुलो असर नहोला । तर खोप लगाएकाहरूले नै खोप नलगाएकाहरूसम्म पुर्‍याउने एउटा माध्यम बन्न सक्दछौँ । त्यो खालको माध्यम हामी बन्न भएन । समाजका जो प्रतिष्ठित मान्छेहरू छन् उहाँहरूले त झन् सचेतता देखाउनुपर्ने हुन्छ । उनीहरू कोरोना रोकथामका लागि रोल मोडेल हुनुपर्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हो । पछिल्लो समयमा त्यो खालको अवस्था देखिएको छैन । आगामी दिनमा यो क्रम नदोहोरियोस् ।’

बालबालिका र ज्येष्ठ नागरिकमा सङ्क्रमण दर बढ्ने भएकोले उनीहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । 

ओमिक्रोन र सामान्य रुघाखोकी छुट्याउन गाह्रो छ

डा.पुनका अनुसार जाडोयाममा हुने रुघाखोकी ज्वरो र ओमिक्रोनको लक्षणमा खास फरक नहुने भएकोले जाँचबाट मात्र थाहा हुने बताए । उनले भने–‘ओमीक्रोमबाट पनि नाक बन्द हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, जीउ दुख्ने, थकित महसुस हुने लक्षण हुने भनिएको छ । एउटा अलिकति फरक भनेको ढाडको तल्लो भाग अलि बढी दुख्ने हुने रहेछ । घाँटीमा खसखस गर्ने, अलि अप्ठेरो हुने लक्षण हुने पनि भनिएको छ । यो बाहेक जाडोबाट हुने रुघाखोकीसँग यसको लक्षण मिल्दोजुल्दो नै छ । परीक्षण नगरीकन थाहा पाउन सकिँदैन ।’

सङ्क्रमण दर निरन्तर बढ्दै,  के छ अस्पतालहरूको अवस्था

पछिल्लो २४ घण्टाको सङ्क्रमणको आँकडा हेर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६ सय ३२ नमुना परीक्षण हुँदा ११ सय ६७ सङ्क्रमित भेटिएका छन् । यीमध्ये ६ सय १५ जना काठमाडौँ उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना सङ्क्रमित फेला परेका हुन् ।

विश्वका विभिन्न देशहरूमा सङ्क्रमणको तेस्रो लहर सुरु भएर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु भए पनि अस्पतालहरूमा भौतिक व्यवस्थापन चुस्त दुरुस्त राखेको बताएको छ । मन्त्रालयको हालको आँकडा अनुसार यति बेला देशभर ८ हजार २ सय २ आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू बेड रहेको छ ।

यस्तै २ हजार ७ सय ९७ आईसीयू बेड, १ हजार ८ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर ६ सय ९३ र अक्सिजन प्लान्ट ४७ वटा रहेका छन् । अघिल्लो वर्षको तुलनामा देशका प्रमुख सहरका अस्पतालमा स्वास्थ्य उपकरण तथा उपचारको व्यवस्थापन अलि व्यवस्थित भएको छ  ।  काठमाडौँ उपत्यकामा २ हजार ४ सय ९४ आइसोलेसन बेड तयारी अवस्था छ भने  ३ सय २४ एचडीयू बेड रहेको छ । ४ सय ४५ आईसीयू बेड र २ सय ५४ वटा भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको आँकडा छ ।

कोरोना सङ्क्रमण बढेपछि विवेकशील साझा पार्टीले रोक्यो भिडभाड हुने गतिविधि

बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै विवेकशील साझाले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता यात्रा स्थगित गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ गते देखि माघ १६ सम्मे ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने कार्यक्रम स्थगित गरिएको प्रवक्ता शरदराज पाठकले जनाएका छन् ।

सो दलले झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र मिश्रसहित उच्च नेतृत्व सहभागी भई आमसभा र अन्तरक्रिया गर्ने अन्तिम तयारी गरेको थियो । पछिल्ला दिनमा ह्वात्तै कोरोना सङ्क्रमण बढेको अवस्थालाई ध्यानमा राख्दै सो दलले यात्रा स्थगन गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–‘पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुनसक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवं यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको हो ।’

सो दलले निकट भविष्यमा अनुकूल समय पारेर मेची–महाकाली राष्ट्रिय एकता यात्रा’  गर्ने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप