गाली गर्नु मात्रै फिल्म समीक्षा हो र ?
‘एउटा फिल्ममेकर बिग्रियो भने एउटा फिल्म मात्रै बिग्रिन्छ, त्यसले समग्र फिल्म क्षेत्रलाई असर गर्दैन । तर, एउटा फिल्म समीक्षक बिग्रियो भने पुरै फिल्म क्षेत्र बिग्रिन पुग्छ । त्यसको असर पुरै फिल्म क्षेत्रमा पर्न जान्छ ।’ मेरो यस्तो किसिमको धारणा थियो, छ र हुनेछ । एउटा फिल्म समीक्षकले लेखेको हरेक शब्दले अर्थ राख्दछ ।
एक ठाउँबाट अर्को ठाउँ पुग्न साधन चाहिन्छ । यदि साधन र चालक दुवै दक्ष छन्, समस्यारहित छन् भने यात्रुहरु सहजै गन्तव्यमा पुग्छन् । समीक्षकको कलम साधन हो र समीक्षक चालक । जुन साधनमार्फत् दर्शकहरू सिनेमा हल वा कुनै सिनेमासम्म पुग्ने गर्छन् । तर, नेपालमा समीक्षाको गाडी हाँक्ने चालकहरू निष्क्रिय छन् । सायद चालकको दक्षता हासिल गर्न बाँकी नै छ कि ! यहाँ समीक्षाको गाडी स्टार्ट नै हुँदैन । भएपनि बिच्चतिर पुगेपछि बिग्रिन्छ । एकाधले मात्रै जेनतेन केही यात्रुलाई गन्तव्यमा पुर्याउन सफल हुन्छन् ।
वास्तविक अर्थमा सिनेमा कस्तो हुनुपर्छ, राम्रो सिनेमा कस्तो हुन्छ ? समीक्षकहरुले बुझाउन सकिरहेका छैनन् । राम्रा सिनेमालाई वास्तविक रूपमा केलाएर दर्शकलाई त्यो सिनेमा हेर्न उत्प्रेरित गर्न सकिरहेका छैनन् । नेपालमा लेखिने फिल्म समीक्षाले आजसम्म जनमानसमा एउटै सन्देश छाडेको छ, त्यो हो नेपाली फिल्म राम्रा बन्दैनन्, बनेका छैनन्, हेर्न लायकको छैन, बस् ।
के नेपालमा आजसम्म बनेका सिनेमा सबै गाली गर्न लायकका मात्रै होलान् त ? लौ, गाली गर्न लायक नै छन् रे । तर, ती सिनेमासँग पनि राम्रा र नराम्रा पक्ष हुन्छन् । खोइ त राम्रा पक्षको प्रशंशा र नराम्रा पक्षको लागि सुझाव ? यदि यस्तो भइदिएको भए फिल्म राम्रो बन्ने थियो भनेर खोइ समीक्षकहरुले भन्न सकेको ? फगत गाली गर्नु मात्रै फिल्म समीक्षा हो र ?
अहिले लकडाउनले सिनेमा क्षेत्र ठप्प छ । कलाको सुगन्ध बोकेर आउने सिनेमाको खडेरी परेको छ । यद्यपी, बेलाबखत एकाध मेकरका सिनेमारूपी सिर्जना आइपुग्छ । तर, कला चेतनाको जग बस्दै गरेको हाम्रो जस्तो समाजसँग त्यस्ता सिनेमा चिन्न सक्ने सामर्थ्य बनिसकेको छैन । त्यो सामर्थ्य जगाउन र त्यस्ता किसिमका सिनेमा हेर्न उत्प्रेरित गराउन समीक्षकहरुको निर्णायक भूमिका रहन्छ भन्ने मेरो धारणा हो ।
राम्रा सिनेमाले हामीभित्र रहेका भावना र विचारलाई जगाउने काम गर्छ । कुनै सिनेमा हेर्नु र त्यसको समीक्षा गर्नु भनेको हेरिसकेपछि जम्मा भएका हाम्रा व्यक्तिगत अनुभव र भावनालाई जनमानसमा विस्तार गर्नु हो । उक्त सिनेमाले भन्न खोजेको कुरा र स्थापित गर्न खोजेको सिनेमाको भाष्य समाजलाई बुझाउनु नै समीक्षकको कर्तव्य हो । तर यहाँ एकाध राम्रा मानिएका फिल्मका राम्रा भनिएका समीक्षा हेर्दा यस्तो लाग्छ, यहाँ प्रतिस्थापन गर्ने काम भइरहेको छ । निर्देशकले सिनेमामार्फत् सम्प्रेषण गरेको विचार र उसका भावनालाई प्रतिस्थापन गर्ने अधिकार समीक्षकसँग हुँदैन । उसको अधिकार केवल विस्तार गर्नु हो ।
यहाँ गहिराइमा भन्दा सतही पारामा फिल्म समीक्षा भइरहेको छ । राजेश हमालको युगका सिनेमालाई घन्टौं गाली गरेर नथाक्ने समीक्षकहरुले खोइ नवीन सुब्बाको ‘नुमाफुङ्’माथि घन्टौं बहस गरेको ? खोइ छिरिङ रितार शेर्पाका सिनेमाको सौन्दर्यमाथि बहस गरेको ? दीपक–दीपाको ‘छक्का पन्जा’लाई नाङ्गेझार पारेर घन्टौंसम्म गाली गरेर नथाक्नेहरुले सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बनेको सिनेमा ‘हरि’को पत्र पत्र केलाएर बहस गरेको खोइ ? ‘छक्का पन्जा’जस्ता फिल्मलाई गाली गरेर जनमानसमा नेपालमा राम्रा फिल्म बन्दैनन् है भन्ने सन्देश छाड्नेहरुले, ‘हरि’ जस्तो फिल्म पनि बन्छ भनेर अखबारका पृष्ठ भर्नु पर्छ कि पर्दैन ?
सिनेमा र साहित्यको समीक्षा एउटै कलमले लेख्नै सक्दैन । सिनेमाको समीक्षा लेख्न सिनेमाकै, साहित्यको समीक्षा लेख्न साहित्यकै कलम चाहिन्छ । समस्या यहीँ छ कि यहाँ दुवैथरीको समीक्षा एउटै कलमले लेखिदिन्छन् । भातलाई ढिँडो पकाउने शैलीमा पकायो भने भात पाक्छ ? पाक्दैन । सिनेमाको सामान्य अर्थ छाडेर विशेष अर्थको खोजी गर्नु वा त्यसको आन्तरिक सौन्दर्य पहिल्याउनु र त्यसलाई दर्शकमाझ विस्तार गर्नु समीक्षकको अभीष्ट हो ! न कि नारा लगाउनु ।
कुनै एउटा साहित्यिक कृतिको समीक्षा लेख्न सम्बन्धित विधाको मात्रै ज्ञान भए पुग्छ । तर, एउटा सिनेमाको समीक्षा गर्न साहित्य र सिनेमा दुवैतर्फको ज्ञान समीक्षकसँग हुन आवश्यक छ । एउटा फिल्म मेकर भन्दा समीक्षक दुई गुणा बहुआयामिक हुन आवश्यक छ । सिनेमा समीक्षा आफैंमा एउटा सिने चेत हो । विश्व सिनेमाको संसारमा कैयन सिने–समीक्षकले समीक्षाको आफ्नै भाष्य स्थापित गरेका छन् । फिल्म बनाउनेलाई फिल्मको परिभाषा सिकाएका छन् । वास्तविक अर्थमा सिनेमाको सौन्दर्य यस्तो हुँदैन ! यस्तो हुन्छ, हुनुपर्छ भनेर दर्शकलाई फिल्म पढाएका छन् । त्यस्ता समीक्षा वा कृति सिनेमाबारे पठनपाठन गर्न चाहनेको लागि महत्त्वपूर्ण सामग्री स्रोत भएका छन् ।
सन् १९५० को उत्तराद्र्धतिर एउटा प्रभावशाली सिने–आन्दोलनको स्वरुप फ्रान्समा देखा पर्यो, जसको मुलभूत उद्धेश्य सिनेमामा कथा भन्ने परम्परागत शैलीको विरुद्ध नयाँ प्रयोगात्मक शैली स्थापित गर्ने थियो । सिनेमाका परम्परागत कथ्यशैलीलाई अस्वीकार गर्दै सम्पादन, दृश्यभाषा लगायतका सिनेमाका यावत् पक्षमा रुपान्तरण गर्ने र सामाजिक तथा राजनीतिक उतार चढावसँग सिनेमाको परिचय गराउन कलात्मक दृष्टिकोण खोज्ने प्रयास भएको थियो । जुन आन्दोलनको नामकरण गरियो, ‘फ्रेन्च न्यू वेभ ।’
विश्व सिनेमाको इतिहासमा भएका परिवर्तनमध्ये फ्रेन्च न्यू वेभ सबैभन्दा श्रेष्ठतम्, क्रान्तिकारी र प्रभावशाली मानिन्छ, जसमा समीक्षकहरुको निर्णायक भूमिका रहेको थियो । फ्रान्सेइस ट्रफौट, जीन–लुक गोडार्ड, एरिक रोहमर, आन्द्रे बाजिन लगायतका केही समीक्षकले ‘सिनेमा’, सिनेमा जस्तो भएन भन्दै सिनेमालाई भयङ्कर गाली गर्थे । उनीहरूले फिल्मको आलोचना, समालोचना मात्रै गरेनन्, अपितु सिनेमा कस्तो हुनुपर्छ भन्ने आआफ्नो अवधारणा पनि सम्प्रेषण गर्न थाले । सिनेमा व्यक्तिवादी हुनुपर्छ भन्नेमा उनीहरुको जोड थियो । सिनेमाले निर्देशकको व्यक्तिगत दृष्टिकोणलाई प्रस्तुत र प्रतिनिधित्व गर्नुपर्छ भन्ने उनीहरुको राय थियो । यिनै समीक्षकहरुले पछि आफैले सिनेमा बनाए, जुन सिनेमा विश्व सिनेमाको इतिहासमा दस्तावेजको रूपमा बसेको छ । तिनका सिनेमा संसारका हरेक फिल्म स्कुलमा पढाइन्छ ।
एउटा कथन छ, ‘समीक्षकहरु खुट्टा नभएका मान्छे हुन्, जसले दौडिन सिकाउँछ ।’ अब यहाँ खुट्टा नै छैन भन्न त अलि अमिल्दो हुन जान्छ । केहीका खुट्टा देखिन थालेका छन् तर तिनीहरुलाई दौडिन भने आउँदैन । यद्धपी तिनीहरु अरुलाई दौडिन सिकाइरहेका छन् । पहिला सिनेमाको जुन शैलीलाई तिनीहरु गाली गर्थे, त्यही शैली पछ्याएर आज आफैले फिल्म बनाइरहेका छन् । हिजोका समीक्षकहरु आजका मेकर भएजस्तै आजका समीक्षकहरु भोलिका मेकर हुन् । त्यसैले उनीहरु आजका मेकर भन्दा दुई गुणा बहुआयामिक हुन आवश्यक त छ नै, सँगसँगै मुक्तिको बाटो खोजिरहेको नेपाली सिनेमालाई कसरी बाटो देखाउने भन्ने चेत पनि उनीहरुमा हुनु जरुरी छ ।
राम्रो वा नराम्रोको नाममा गाली वा ताली दिनु मात्रै समीक्षा होइन । सिनेमाको माटो सँधै काँचो हुन्छ । काँचो माटोलाई नयाँ आकार दिने काममा समीक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ । नेपाली सिनेमाप्रति दर्शकहरूमा नकारात्मक भावना मात्र जागृत हुनु, सिनेमा साक्षरताको संख्यामा वृद्धि नआउनु जस्ता कुराहरूमा समीक्षकहरु पनि दोषी छन् ।
सिनेमामा कथा भन्ने शैली परिवर्तन हुनुपर्छ भनिरहँदा सिनेमाको समीक्षा गर्ने शैली पनि परिवर्तन हुनुपर्छ भन्ने कुरा मन–मस्तिष्कमा सुरक्षित राख्न अत्यावश्यक छ । जसरी तुलसी घिमिरेका सिनेमा हेरिन्थ्यो, त्यसरी नै निश्चल बस्नेतका सिनेमा हेर्ने गल्ती अब गर्नु हुँदैन । छक्का पन्जाको समीक्षा लेख्न बस्दा लगाएको चस्मा कालोपोथी, सेतो सूर्य वा हरि फिल्मको समीक्षा लेख्न बस्दा अब फुकाल्नु पर्छ ।
स्मरण रहोस्, फिल्म समीक्षा लेख्नु भनेको साहित्य लेख्नु होइन । सिनेमाका एस्थेटिक र टेक्निकल आयामहरुमा बसेर समीक्षा नलेख्ने र समीक्षाको नाममा मनगढन्ते कुरा थुपारेर लघुसाहित्य लेख्ने शैलीमा अब परिवर्तन गर्नुपर्छ, हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु