महासचिवमा प्रचण्डका ५ कार्ड !
नेकपा माओवादी केन्द्रले एक साता लामो महाधिवेशन गर्दा पनि उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरु चयन गर्न सकेन । २९९ सदस्यीय केन्द्रीय कमिटीबाट २३६ जना मात्रै छानेर महाधिवेशन सकियो । र, एक सातापछि अर्थात पुस २५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी छान्ने भनियो । तर, अहिले प्रचण्ड लगायतका नेताहरुलाई कोरोना लागेपछि केन्द्रीय कमिटीको बैठक रोकिएको छ ।
अब माओवादीका पदाधिकारीहरु २३६ जना केन्द्रीय सदस्यमध्येबाट छानिने छन् । एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्षसमेत १५ सदस्यीय पदाधिकारी रहने माओवादीको विधानमा व्यवस्था छ ।
माओवादीमा कार्यकारी पद भएकाले महासचिव बढी आकर्षण देखिएको छ । महासचिवमा मुख्य दाबेदारहरुमा वर्षमान पुन र जनार्दन शर्मा देखिएका छ । शक्ति बस्नेत र पम्फा भुसालले पनि महासचिवमा झिनो दाबी गरेका छन् । तर, जनार्दन र वर्षमानबीच आपसमा सहमति नजुटे प्रचण्डले देव गुरुङलाई सर्वसम्मत महासचिवका रुपमा अगाडि सार्ने संकेतसमेत दिएका छन् ।
तर, शर्मा भने केन्द्रीय कमिटीमा चुनाव लडेरै भए पनि महासचिव बनिछाड्ने रणनीतिमा छन् । प्रचण्डले चाहिँ चुनाव लड्दा विभाजित मानसिकता देखिने भन्दै सहमतिमै पदाधिकारी छान्ने चाहना व्यक्त गरेको माओवादी नेताहरु बताउँछन् ।
विगतमा केपी ओली नेतृत्वको सरकारका बेला माओवादीभित्र गृहमन्त्री को बन्ने भन्ने झगडा चर्केको थियो । वर्षमान पुन र जनार्दन शर्मा दुबैले दाबी नछाड्दा प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएका थिए । अहिले पार्टीको महामन्त्रीमा त्यसैगरी शर्मा र पुन आपसमा भिड्दा पूर्वबादल समूहकै नेता देव गुरुङले बाजी मार्ने सम्भावना देखिएको छ ।
पार्टी फुट्दा वैद्यतिर नलागी प्रचण्डलाई दह्रो साथ दिएका नेताहरु हुन् वर्षमान, जनार्दन र शक्ति बस्नेत । उता देव गुरुङ र पम्फा भुसाल भने वैद्य समूहमा लागेर पछि फर्किएका नेता हुन् । अब प्रचण्डले अध्यक्षको दायाँ हात मानिने महासचिव पदमा कसलाई ल्याउलान् ? माओवादीभित्र यो निकै नै चासोको विषय बनेको छ । पार्टीमा महासचिवको दाबा गरिरहेका मुख्य तीन नेताको प्रोफाइल यस्तो छ–
देव गुरुङ
नेकपा माओवादीका केन्द्रीय सचिवसमेत रहिसकेका देव गुरुङ पार्टीका प्रभावशाली नेताका रूपमा परिचित छन् । कानुन विषयका जानकार गुरुङ पूर्वकानुन मन्त्रीसमेत हुन् । तत्कालीन माओवादीको १० वर्षे जनयुद्धमा होमिएका उनी पार्टी शान्ति प्रक्रियामा आएपछि पनि पार्टीको विभिन्न भूमिकामा सक्रिय रहँदै आएका छन् ।
यसअघि नै पार्टीको सचिव भइसकेका पुनलाई अध्यक्ष प्रचण्डले महासचिवका रूपमा प्रस्ताव गरेको चर्चा छ । हिमालपारीको जिल्ला मनाङमा सामान्य किसान परिवारमा जन्मिएका गुरुङ सानै उमेरदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका हुन् । धनप्रेम र बुधग्यामुका कान्छा छोरा गुरुङको नाम भूमिगत कालमा ‘कान्छाबहादुर’ थियो ।
मनाङको स्थानीय सरस्वती माविबाट प्रारम्भिक शिक्षा लिएका गुरुङले ०३५ सालमा पोखराको राष्ट्रिय माविबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा ओभरसियर उत्तीर्ण गरेका उनले शिक्षाशास्त्रमा डिप्लोमा गरेका छन् । अध्ययनका हिसावले सिभिल इन्जिनियर र ज्ञानका हिसावले कानुनको जानकार भए पनि उनी राजनीतिमै सक्रिय रहे ।
अध्ययनकै क्रममा ०३७ सालदेखि वामपन्थी राजनीतिमा होमिएका गुरुङले ०३७ सालमा पार्टी सदस्यता प्राप्त गरेका हुन् । ०३८ सालमा पूर्णकालीन भएका उनी ०४१ सालमा केन्द्रीय सदस्य बने । ०४१ सालतिर नेकपा (चौथो महाधिवेशन) मा मोहनविक्रम र निर्मल लामाबीच विभाजनपछि युरुङ मोहन वैद्य किरण र प्रचण्ड नेतृत्वको नेकपा (मशाल) तिर लागे । ०५२ सालमा माओवादीले जनयुद्धको थालनी गरेपछि देव गुरुङ पनि त्यसमा सहभागी भए ।
जनयुद्धका क्रममा माओवादी पार्टीले गुरुङलाई गण्डक क्षेत्रको जिम्मेवारी सुम्पियो । सो क्रममा उनी ०५३ सालमा पक्राउ परे । ४ वर्ष जेल बसेर ०५७ तिर रिहा भएका उनी त्यसपछि सरकारसँग वार्ताका लागि गठित टोलीमा माओवादीको तर्फबाट सदस्य भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजन भएर वैद्यले नयाँ पार्टी बनाउँदा गुरुङ वैद्यतिर लागे । पछि बादलको नेतृत्वमा उनी फेरि माओवादीमै फर्किए ।
पार्टीभित्र वैचारिक नेता मानिने गुरुङलाई वर्षमान पुन र जनार्दन शर्माको विकल्पमा प्रचण्डले महासचिवका रूपमा अगडि सारेका छन् । उनी हाल प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतकको भूमिकामा छन् ।
वर्षमान पुन
माओवादी आन्दोलनमा वर्षमान पुन चिरपरिचित युवा नेता हुन् । उनी पार्टीका पूर्वसचिव हुन् । हाल उपचारका क्रममा चीनमा रहेका पुनलाई प्रचण्डले पर्खिरहेको र यही कारण बैठक सरिरहेको माओवादीभित्र चर्चा छ । तत्कालीन जनयुद्धका क्रममा डेपुटी कमाण्डर रहेका पुन पटक–पटक मन्त्री भइसकेका नेता हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने उनी रोल्पाको जङ्कोटमा २०२८ सालमा जन्मिएका हुन् ।
प्रारम्भिक शिक्षा गाउँबाटै लिएका पुनले एसएलसी भने रोल्पा सदरमुकाम लिवाङबाट गरे । २०३६ सालमा आन्दोलन हुँदा उनी पढ्ने स्कुलका सबै शिक्षकहरू बहुदलवादी थिए । त्यसैको प्रभावले उनलाई वामपन्थी राजनीतितर्फ तान्यो । सदरमुकाममा पढ्दा उनलाई गणित र विज्ञान पठाउने शिक्षक थिए, कृष्णबहादुर महरा । महराको विचारले उनलाई थप प्रभावित बनायो र पढाइकै क्रममा उनी २०४१ सालमा अखिलमा संगठित भए ।
हाइस्कुल सकिएपछि ०४५ सालमा महेन्द्र क्याम्पस दाङबाट उच्च शिक्षा सुरु गरे । अध्ययनसँगै राजनीतिमा सक्रिय रहँदै आएका उनले ०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । ०४८ सालमा पूर्णकालीन भए । पुनको विवाह ०५२ सालमा ओनसरी घर्तीसँग भयो ।
रोल्पामा ०४९ सालतिर तत्कालीन जनमोर्चाको कार्यालय सचिव रहेका उनलाई जनमोर्चा भएकै कारण मुद्दा लगाइयो, उनी भूमिगत हुन बाध्य भए । ०५१ सालमा पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भए । ०५२ सालको बैठकले उनलाई युद्धको खाकासम्बन्धी नीति पारित गर्ने प्रतिनिधिको रूपमा समेत संलग्न थिए ।
२०५२ सालमा माओवादीको नामबाट भएको जनयुद्धमा चर्चित होलेरी आक्रमणको कमाण्डिङ उनै पुनले गरेका थिए । होलेरीको कमाण्डमा राजनीतिक कमिसार र भाइस कमाण्डर महरा र पासाङ थिए भने ३६ जना लडाकु सहभागी त्यो सफल आक्रमणको कमाण्डिङ पुनले गरेका थिए । प्युठान, जाजरकोट, महत गाउँ, दाङ, सिरहा, धनुषा, थानकोट लगायतका दर्जनौँ आक्रमणमा उनको नेतृत्व थियो ।
पछिल्लो समय स्वास्थ्यमा समस्या भएर चीनमा उपचार गराएका पुन शान्ति प्रक्रियामा आएपछि लाभको पद पाउने माओवादी नेताहरू मध्येका एक हुन् । श्रीमती ओनसरी सभामुखसमेत भइन् । २०६७ सालमा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा पुन शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री भए ।
संसदीय राजनीतिमा पुन पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर–१ बाट विजयी भए । ०७० मा भने उनी मोरङ क्षेत्र नम्बर ९ बाट पराजित भए । ०७४ को संघीय निर्वाचनमा उनी रोल्पाबाट विजयी भए ।
२०६२/०६३ सालको जनआन्दोलनको बेला उनी तत्कालीन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतासमेत थिए । यिनै पुन अहिले माओवादीको महासचिवको दाबेदारका रूपमा देखिएका छन् ।
जनजाति नेता पुन राजनीतिक रूपमा चतुर मानिन्छन् । उनलाई प्रचण्डको भरपर्दो राजनीतिक सल्लाहकारका रूपमा समेत लिइन्छ । उनको वैदेशिक सम्बन्ध पनि राम्रो रहेको चर्चा छ ।
जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रको महासचिवका प्रवल दाबेदार जनार्दन शर्मा ‘प्रभाकर’ यसअघि पार्टीको स्थायी कमिटी सदस्य हुन् । जनयुद्धकालमा जनमुक्ति सेनाका चार डेपुटी कमाण्डरमध्ये शर्मा एक थिए । ०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका शर्मा ०४७ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।
विसं.२०२० सालमा रुकुम पश्चिमको मुसिकोटस्थित खलंगामा बुबा स्कन्द शर्मा र आमा नर्मदा शर्माका जेठो छोराका रूपमा जन्मिएका शर्मा ०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै कम्युनिस्ट आन्दोलनमा होमिएका हुन् । ०३६ सालको विद्यार्थी आन्दोलनमा पहिलोपटक सहभागी हुँदा उनी ८ कक्षामा पढ्दै थिए ।
सुरुमा नेकपा चौम समूहमा आवद्ध रही पञ्चायत विरोधी आन्दोलनमा सक्रिय बनेका शर्मा ०४२ सालमा नेकपा चौमको जिल्ला कमिटी सदस्य बने । माओवादी जनयुद्धमा सुरुदेखि नै सहभागी रहेका उनी पार्टी अध्यक्ष प्रचण्ड निकट नेता मानिन्छन् ।
०४२ सालतिर रुकुममा जिल्ला कमिटीका अध्यक्ष थिए, खड्गबहादुर बुढा । संगठन निर्माणका क्रममा प्रचण्ड र बादल रुकुम पुगे । प्रचण्डको नाम ‘विश्वास’ थियो । दुई दिनको बसाइँ र प्रशिक्षणका क्रममा शर्मा र प्रचण्डबीच दोहोरो संवाद भयो । त्यसबेला प्रचण्डले शर्मासँग क्रान्तिका लागि गुरिल्ला तालिम गर्नुपर्ने बताएका थिए । शर्मा र प्रचण्डबीच त्यो नै पहिलो भेट थियो । २०४२ सालमै चितवनमा पार्टीको राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनबाट प्रचण्ड पार्टीको केन्द्रीय नेतृत्वमा आए ।
विसंं २०४६ सालको आन्दोलनमा शर्मा कीर्तिपुरमा सक्रिय भए । गाउँकै यमुना माविबाट एसएलसी गरेका शर्माले राजनीतिसँगै उच्च शिक्षालाई पनि अघि बढाए । उनले बीएसम्मको अध्ययन पुरा गरेका छन् । ०४६ सालको जनआन्दोलनमा उनी सहभागी बने । त्यस क्रममा दरबारमार्गस्थित राजा महेन्द्रको शालिक तोडफोड गर्न शालिकमाथि चढ्ने मध्येका उनी एक थिए ।
शर्माले २०५५ सालमा प्लाटुन कमिसार हुँदा आधारभूत सैन्य तालिम लिएका थिए । कुशल कमाण्डर र कमिसारको जिम्मेवारी निर्वाह गरेका उनीसँग जनयुद्धको समयका कैयन विजयी र पराजयका कथा छन् ।
२०५१ सालमा दाङको डीसीएम बनेका शर्मा जनयुद्धको तयारीस्वरूप छापामार दस्ता निर्माणमा लागे । शर्माले २०५५ को पाँचौ योजनापछि पार्टीको सैन्य फाँटमा प्रवेश गरेका हुन् । त्यहीबेला सम्पन्न चौथो विस्तारित बैठकपछि उनी पार्टीको केन्द्रीय सदस्य बने ।
त्यसलगत्तै सैन्य हेडक्वार्टर बन्यो, जसमा शर्मासँगै नन्दकिशोर पुन पासाङ र वर्षमान पुन अनन्त थिए । त्यही टीमले रामपुरदेखि तकसेरासम्मको फौजी कारबाहीहरू गर्यो । कुशल संगठन मानिने शर्माले दार्चुलादेखि नवलपरासीसम्मको लडाइँको नेतृत्व गरेका थिए । पीली फौजी कारबाहीको नेतृत्व पनि उनैले गरेका थिए ।
२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि शर्मा सुदूरपश्चिमको उपब्यूरो इञ्चार्ज तोकिएका थिए । त्यसपछि क्षेत्रीय ब्यूरो इञ्चार्ज बनेका उनले राजनीतिक र फौजी दुबै जिम्मेवारी सम्हाले । २०५९ सालमा ९५ जनाको केन्द्रीय समितिमा उनी पोलिटब्युरो सदस्य बने । चुनवाङ बैठकपछि पश्चिम सैन्य कमाण्डको कमाण्डर चयन भए ।
१२ बुँदे सम्झौतासँगै तत्कालीन माओवादी विद्रोही शान्तिपूर्ण राजनीतिमा आउँदा शर्मा सैन्य फाँट छाडेर पूर्णकालीन राजनीतितर्फ लागेका थिए ।
हाल नेपाल सरकारको अर्थमन्त्री रहेका शर्माले शान्ति तथा पुनर्निर्माण, गृह, ऊर्जा आदि मन्त्रालयहरूको अनुभव पनि सँगालेका छन् । ऊर्जामन्त्री हुँदा कुलमान घिसिङसँगै मिलेर लोडसेडिङ हटाउन शर्माले भूमिका खेलेका थिए । यही कारण उनलाई माओवादी कार्यकर्ताहरूले ‘उज्यालो नेपालका अभियन्ता’ समेत भन्ने गरेका छन् ।
महाधिवेशनअघि पार्टीको संगठन विभागको प्रमुखका रूपमा शर्माले काम गरेका छन् । एमालेसँग माओवादी फुटेर पार्टीमा निराशा छाएका बेला शर्माले कर्णालीमा प्रचण्डलाई भ्रमण गराएर कार्यकर्ता पंक्तिमा उत्साह जगाएका थिए । अहिले माओवादीमा जुन उर्जा आएको छ, यसमा संगठन विभागको प्रमुखका हैसियतले आफूले भूमिका खेलेको बताउँदै शर्माले महासचिवको जिम्मेवारी आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
त्यसो त प्रचण्डले देव गुरुङ, वर्षमान पुन र जनार्दन शर्माबाहेक चौथो विकल्पका रूपमा शक्ति बस्नेतलाई पनि महासचिवमा अघि सार्न सक्ने माओवादीभित्र चर्चा छ ।
जाजरकोटमा ०२८ सालमा जन्मिएका बस्नेत माओवादीभित्र यसअघि पार्टीको स्थायी कमिटी सदस्य हुन् । पटक–पटक मन्त्री भइसकेका उनले ०४७ सालमा पार्टी सदस्यता लिएका थिए भने ०४८ सालमा पूर्णकालीन भएका थिए । बस्नेत पनि ०५५ मा वर्षमान र जनार्दनसँगै केन्द्रीय सदस्य बनेका नेता हुन् ।
महिला नेतृ पम्फा भुसालले पनि आफूलाई कार्यकारी पदमा राखिनुपर्ने माग गरेकी छिन् । तर, प्रचण्डले उनलाई उपाध्यक्ष वा उपमहासचिवमा समेट्ने चर्चा छ ।