आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमाले अधिवेशन : अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन, लम्सालको आपत्ति

आइतबार, २५ पुस २०७८, १२ : ०६
आइतबार, २५ पुस २०७८

एकलौटी ढंगबाट नेकपा एमाले मकवानपुरको नेतृत्व चयन गरिएकोप्रति अध्यक्ष पदका उम्मेदवार बद्रीप्रसाद लम्सालले आपत्ति जनाएका छन् । आफ्नो उम्मेदवारी कायम रहँदा रहँदै सर्वसम्मत नेतृत्व चयनको नाममा अर्का उम्मेदवार एकलाल श्रेष्ठलाई अध्यक्ष निर्वाचित गरिएकोप्रति उनले आपत्ति जनाएका हुन् । 

गत शुक्रबारबाट हेटौंडामा सुरु भएको जिल्ला अधिवेशनमा शनिबारबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो । सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने केन्द्रीय निर्देशनअनुसार निर्वाचनका कार्यक्रमहरु साँरिदै आएको थियो ।
उम्मेदवारहरूबीच सहमति हुन नसक्दा शनिबारका लागि तय भएको मतदान प्रक्रिया आइतबार बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । आइतबार मतदानको कार्यक्रम तय भएको थियो तर, निर्धारित समयमा मतदान सुरु नगरी केन्द्रीय निर्देशनअनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

एमाले मकवानपुरका प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालका अनुसार एकलाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेतृत्व तहबाट श्रेष्ठको नाममा सहमति भएको जानकारी प्राप्त भएपछि आधिकारिक रुपमा निर्वाचित गरिएको उनको भनाई छ ।

‘राजनीतिक सहमति भएको छ । अध्यक्ष पदका उम्मेदवार बद्रीप्रसाद लम्साल समक्ष नेताहरुले उम्मेदवारी फिर्ताको पत्र पुर्याएर हस्ताक्षर गराइसकेको भन्ने जानकारी आएपछि हामीले अर्का उम्मेदवार एकलाल श्रेष्ठलाई प्रक्रियागत रुपमा निर्वाचित घोषणा गरेका हौ ’ उनले भने ।

त्यसो त अर्का उम्मेदवार लम्सालले उम्मेदवारी फिर्ताको नगरेको बताएका छन् । उनले रातोपाटीसँगको सम्वादमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका हुन् । ‘मैलै उम्मेदवारी फिर्ता लिएको छैन । अब निर्वाचन समितिले के आधारमा एकलाल जिलाई निर्वाचित गर्नुभयो मलाई थाहा भएन । सहमतिका लागि नेताहरुले दबाव दिएको सत्य हो तर, मैले कुनै सहमति गरेको पनि छैन । केन्द्रीय निर्देशन भन्दै सहमतिको लागि दबाव दिएर लोकतान्त्रिक विधि नै नमान्ने र निर्वाचन प्रक्रिया नै अन्यौल भएको छ ।’ उनले भने ।

उनले यस निर्णयको विषयमा के गर्ने भन्ने बारे केही नेताहरुसँग छलफल गरेर मात्र अघि बढ्ने बताए । ‘तत्काल यसै भन्न सक्दिन केही नेता मेरो पक्षमा पनि छन् । म उहाँहरूसँग छलफल गर्छु र निर्णय लिन्छु, उनको भनाई छ ।’

लम्साल एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् भने श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

अध्यक्षसहित सबै पदमा सर्वसम्मत

एमाले मकवानपुरको अध्यक्षमा श्रेष्ठसहित अन्य सबै पदमा सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको एमालेको ११ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका हुन् ।

एमाले मकवानपुरको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चयन भएका छन् । उनीहरु सबै अर्का उम्मेदवार लम्साल प्यानलका रहेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप