शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा एमाले अधिवेशन : दुई जिल्ला अध्यक्ष सर्वसम्मत, अन्यमा जुटेन सहमति

आइतबार, २५ पुस २०७८, १२ : ०५
आइतबार, २५ पुस २०७८

 गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।

एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।

उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियासमेत अगाडि बढेको छ । पार्टीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे पनि कास्कीलगायतका तीन÷चार जिल्लामा निर्वाचन गर्न प्रक्रिया अगाडि बढेको छ ।’

अध्यक्ष शर्माले म्याग्दी, पर्वत, नवलपुर लगायतका जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलिरहेको बताए । तनहँु र गोरखामा जिल्ला अध्यक्ष सर्वसम्मत् चयन भए पनि अन्य पदमा भने निर्वाचन नै गराउनुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

गण्डकीमा एमालेका दुई नेता खगराज अधिकारी र पृथ्बी सुब्बा गुरुङको स्वार्थका कारण सहजरुपमा सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । एमाले उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख अधिकारीले जिल्ला नेतृत्वमा आफू निकटकालाई ल्याउन चाहेपछि अधिवेशन लम्बिएको हो ।

उनीहरु दुवैले प्रदेशदेखि स्थानीय तहसम्मको नेतृत्व चयनमा व्यक्तिगत स्वार्थअनुसारको चासो राख्ने गरेका छन् ।

सुरुमा कास्कीको अध्यक्षमा हाल जिल्ला सचिव रहेका दामोदर बैरागी, उपाध्यक्ष मनबहादुर गुरुङ, दीपक पौडेल र जगन्नाथ बास्तोलाले दाबी गरेका थिए । तर अहिले पौडेल र बास्तोलाले दाबी छाडिसकेका छन् ।

कास्की जिल्ला अध्यक्षका दाबेदार बैरागीलाई अधिकारीले समर्थन गरेका छन् भने गुरुङलाई पृथ्बी सुब्बाले समर्थन गरेका छन् ।

निर्वाचन हुने अवस्था आए प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने दुवै पक्षको तयारी देखिन्छ । मनबहादुर पक्षबाट उपाध्यक्षमा तेजनाराण अधिकारी, सचिवमा विष्णु केसी वा माधव बास्तोलामध्ये एक जनालाई उम्मेदवार बनाउने चर्चा छ । त्यसैगरी उपसचिवमा इमानराज पौडेलले उम्मेवारी घोषणा गरेका छन् ।

त्यसैगरी बैरागी प्यानलबाट उपाध्यक्षमा युवराज पौडेल, सचिवमा बैनबहादुर क्षेत्री, उपसचिवमा नवराज ओझा उठ्ने पक्का भएको छ । तर, नेताहरुबीच सहमतिको प्रयास जारी रहेकोले निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा अन्योल नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप