बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

आइतबार, २५ पुस २०७८, ०९ : ३७
आइतबार, २५ पुस २०७८

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि दैनिक १ सयको हाराहारीमा मात्र पीसीआर परीक्षण गदै आएको थियो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले शनिवार प्रदेश भरी पीसीआर परीक्षण गर्दा प्रदेशमा पनि बिस्तारै सङ्क्रमितको दरको ग्राफ बिस्तारै बढेको देखाएको बताए । पोखरेलका अनुसार विशेष गरी मुख्यतया सघन सहरी क्षेत्र विराटनगर, धरान, इटहरी, झापाको बिर्तामोड लगायतका क्षेत्रमा क्रमशः कोरोना सङ्क्रमणको दर बढेको देखाएको छ ।

उनले अहिले मेची  प्रादेशिक अस्पताल विराटनगरको कोशी अस्पताल र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट  पीसीआर परीक्षण हुँदै आएको बताए। त्यसै गरी पूर्वी नेपालका प्रमुख दुई नाका काँकडभिट्टा र विराटनगरको रानी नाकामा एन्टिजेन परीक्षण गर्ने काम हुँदै आएको बताए । 

अस्पताल भर्ना हुने पनि बढे

कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेशमा रहेको अस्पतालहरूमा उपचारका लागि भर्ना हुने क्रम पनि बिस्तारै बढेको छ । प्रदेशका रहेका मेची प्रादेशिक अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बिरामीहरू भर्ना हुने क्रम बढेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हाल यी अस्पतालमा १२ जना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये सात जना आईसीयूमा उपचाररत छन् भने तीन जना भेन्टिलेटर दुई जना एचडीयूमा उपचाररत छन् ।

मन्त्रालयको गएको पुस १९ गतेको तथ्याङ्क अनुसार कुल १ सय १७ सङ्क्रमित मध्ये ८ जना मात्र अस्पतालमा उपचाररत थिए । जसमा आइसियुमा दुई, भेन्टिलेटरमा तिन र एचडीयूमा तीन जना उपचाररत थिए । तर पछिल्ला एक सातामा अस्पताल भर्ना हुने क्रम बढेसँगै यो सङ्ख्या १२ पुगेको मन्त्रालयले जनाएको छ । अन्य सङ्क्रमित १८१ जना होम आइसोलेशनमा रहेका छन् ।

जनस्वास्थ्य विज्ञ भन्छन्, नियन्त्रणका प्रभावकारी उपाय चाल्न नसके जोखिम बढ्छ’

पछिल्ला एक साता यताबाट प्रदेशमा सङ्क्रमितको दर क्रमिक रूपमा उकालो लागेपछि समयमै नियन्त्रणको प्रभावकारी उपाय चाल्न सरकारलाई जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूले डेल्टासँगै ‌‍ओमिक्रनको भेरियन्ट थपिएसँगै बढ्दो सङ्क्रमण नियन्त्रणको प्रभावकारी उपाय चाल्न नसके भोलिको दिनमा स्थिति भयावह हुने उनीहरूको भनाई छ ।

जनस्वास्थ्य विज्ञ डा नवराज सुब्बाले अहिले सङ्क्रमितहरू भर्ना हुने दर ठुलो नभए पनि अहिले नै त्यसका लागि पर्याप्त तयारी गरेको खण्डमा पहिलाको तुलनामा सङ्क्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिने बताए।

‘अहिले पूर्व तयारीमा जुट्ने पर्याप्त समय छ’सुब्बाले भने,‘ भिडभाड नियन्त्रणदेखि भोज,भतेर सबै नियन्त्रण गर्न आवश्यक छ।’यदि समयमै यस्ता नियन्त्रणका प्रयास भएमा दोस्रो लहरको जस्तो भयावह स्थिति आउनबाट हामी जोगिन सक्नेछौ।’ उनले विशेष गरी सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूको  पीसीआर परीक्षणको दरलाई थप कडाइ गदै लैजानु आवश्यक रहेको बताएका छन् ।

उनले थोरै सङ्ख्यामा गरिँदै आएको पीसीआर परीक्षणको दर फराकिलो बनाएसँगै सङ्क्रमितको दर पनि बढ्ने बताए । अहिले पनि पीसीआर परीक्षण गरिएका मध्ये एक तिहाइमा सङ्क्रमण पुष्टि हुनेले भित्र भित्रै सङ्क्रमणको दर फैलिरहेको सङ्केत गरेको सुब्बाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप