आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन ओलीले पार्टी एकता गरेका हुन्ः माधव नेपाल

शनिबार, २४ पुस २०७८, १४ : ५०
शनिबार, २४ पुस २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन एमाले अध्यक्ष केपी ओलीले विगतमा नेकपा एकता गराएको टिप्पणी गरेका छन् । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको नेपालको भनाइ छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए । उनले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । नेपालले भने, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको ।’

नेपालले अगाडि भने, ‘पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्ने वित्तिकै भुक्नु परेछ । हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी भनेर । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए । किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौं । यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ ।’

 उनले पार्टीभित्र ‘केपी बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण दिने गरेको समेत आरोप लगाए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप