बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षणबाट अवकाश : मौरीपालनको आकाश

‘तीस हजार कमाउन खाडी जानुपर्दैन’: कृषक शर्मा
शनिबार, २४ पुस २०७८, १४ : ०६
शनिबार, २४ पुस २०७८

जागिरे जीवनबाट अवकाश लिएपछि कतिपय व्यक्ति खाली घाम तापेर बस्छन् या घुमघाम गरेर दिन कटाउँछन् । प्रधानाध्यापकबाट अवकाश लिए, कृष्णप्रसाद शर्माले । पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्च माध्यामिक विद्यालयमा साढे दुइ दशक शिक्षण गरेका उनी अवकाशपछि भने एकदिन पनि खाली बसेनन् ।

अवकाशपछि व्यावसायिक रुपमा मौरीपानलाई अघि बढाएका छन् उनले । कुस्मा नगरपालिका चनौटेका शर्माले ‘अन्जली बिइ कन्सर्न’ दर्ता गरी व्यावसायिक रूपमा एक सय घार मौरी पालेका छन्  । दुइ दशक पहिलेदेखि नै खाने प्रयोजनका लागि घरमा ५-६ घार मौरी पाल्दै आएका शर्माले अवकाशपछि त्यसैलाई पेशा बनाए । 

उनी भन्छन्, ‘सुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएका थियौं । थोरै संख्यामा घार राख्दा पनि परिवार, इष्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय विताउनुभन्दा व्यावसायिक रुपमा अघि बढाएँ ।’ उनको अहिलेसम्मको अनुभवमा उत्पादन र बजार दुवै हिसाबले मौरीपालन राम्रो छ ।

थोरै लगानीः मनग्गे आम्दानी
मौसमले साथ दिएमा एक सय मौरीका घारबाट बार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनको अनुभवमा मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलो मह निस्किन्छ । चरनको ब्यवस्था गर्न सके एउटा घारबाट बर्षमा तीन पटक मह काढ्न सकिन्छ । यो हिसाबले बर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मोल प्रतिकिलोको १५ सयको दरले एउटा घारबाट बर्षमा २२ हजार ५ सम्म आम्दानी हुन्छ । यो हिसाबले एक सय घारको आम्दानी २२ लाख भन्दा बढी हुन्छ, खर्च कटाएर १५ लाख चोखो आम्दानी हुन्छ । शर्मा भन्छन्, ‘मह घरबाटै बिक्री हुन्छ, बजारको कुनै समस्या छैन ।  माग गरे जति मह सवैलाई पुर्याउन सकिएको छैन ।’ शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् ।

शर्माले जम्मा तीन दिनको मौरीपालन तालिम लिएका छन् । अग्रज ब्यावसायी, युट्यूब लगायतका सामग्री अध्ययन गरेर ब्यावसाय अगाडी बढाएका उनले भने, ‘इच्छाशक्ति हुने हो भने ज्ञान छैन भन्नु पर्दैन, अध्ययनका लागि आवस्यक सामग्री भेटिन्छ ।’ पुरानो तरिकाबाट निर्वाहमुखी खेती गर्ने सोचबाट मुक्त भएर प्राविधिकको सल्लाह लिएर काम गर्दा जुनसुकै खेतीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । 

मौरीसँगै बाख्रा पालन
शर्माले मौरीपालनसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनको फर्ममा अहिले तीन जनाले काम पाएका छन् । 
गत बर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकोमा आम्दानी सोचेजति राम्रो भएन । बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेपछि उत्पादन राम्रो भएको छ । खोरमा अहिले २० वटा बाख्री छन् । ती सवै पाठापाठी जन्माउने अवस्थामा छन् । 

खाडी जानु पर्दैन
पछिल्लो समय आफ्नै देशमा प्रसस्त सम्भावना हुँदाहुँदै युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेको शर्मालाई चित्त बुझेको छैन । उनले भने, ‘कुनै पनि काम सानो ठूलो हुँदैन । युवाहरु ३० हजार कमाउन खाडी मुलुक जानु पर्दैन । आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन्छ ।’ देशमै कृषि कर्मबाट व्यावसायिक रुपमा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन पनि अवकाशपछि कृषि व्यवसायमा लागेको शर्माको भनाई छ । 
सरकारी स्तरबाट राम्रो सहयोग

शर्माले मौरीपालन र बाख्रापालन गर्दा सरकारी स्तरबाट प्राविधिकदेखि आर्थिक अनुदान लगायत राम्रो सहयोग पाएको बताए । कृषि तथा पशुपन्छी विकास कार्यालय पर्वतबाट अनुदानस्वरुप पहिलो पटक मौरीको घार बनाउन १ लाख ८० हजार अनुदान पाएका उनले गत बर्ष थप तीन लाख अनुदान पाए । सरकारी स्तरबाट अनुदान पाए ब्यवसाय गर्न हौसला थपिने उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप