बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘गजल सुन्दा, सुनाउँदा वाह ! वाह ! भन्ने भाव आउनुपर्छ’

शनिबार, २४ पुस २०७८, १० : ४३
शनिबार, २४ पुस २०७८

गजलका कतिपय सिकारु साहित्यकारलाई कविता, गीत र गजलबारे प्रष्ट भिन्नता छुट्याउन गाह्रो पर्छ । कतिले त कवितालाई नै गीत र गजल भन्छन् । यसको मुख्य समस्या गजलको सैद्धान्तिक ज्ञानको कमीले हो । भाषागत रूपमा हेर्दा गजलको उद्गम उर्दु भाषाबाट भएको हो । यसमा घटीमा ३ सेर (छ पङ्क्ति) देखि बढीमा जतिसुकै सेर हुन्छन् । तर नेपाली गजलमा धेरैजसो ५ सेर पाइन्छ । 

चर्चित गीतकार प्राडा. कृष्णहरि बराल गजल सिद्धान्त र परम्परा शीर्षकमा विद्यावारिधि गरेका छन् । उनका कतिपय गजल रेकर्ड भएर चर्चाको शिखरमा छन् । गजल सुन्दा सुनाउँदा वाह ! वाह ! भन्ने खालको भाव हुनुपर्ने उनको तर्क छ । यसै सन्दर्भमा कविता, गीत र गजलबीचको भिन्नता, गजलका आधारभूत तत्त्वलगायतका विषयमा प्राडा. कृष्णहरि बरालसँग रातोपाटीले गरेको कुराकानी :

–खासमा गजल भनेको के हो ?
गजल भनेको कविताको एउटा उपविधा हो । यो अरबी भूमिबाट पर्सिया, हिन्दी, उर्दु हुँदै नेपाली भाषासहित्यमा प्रवेश गरेको हो । गजल नाम हुनुको कारण चाहिँ यसको एउटा आफ्नै खालको संरचना छ । यसको संरचनामा दुई दुई पङ्क्तिको सेर हुन्छ । अङ्ग्रेजीमा यसलाई फक्लेट भनिन्छ, यसलाई अद्र्र्ध श्लोक पनि भनिन्छ । संस्कृतमा चाहिँ चार पाउको एक श्लोकको हुन्छ । गजलका प्रत्येक सेरमा दुई दुईवटा पाउ वा पङ्क्ति हुन्छन् र त्यो एक सेर आफैँमा पूरा हुन्छ । दुईवटै पङ्क्ति व्याकरण र अर्थका हिसाबले पूर्ण हुनुपर्छ । 

पहिलो सेर बराबरी लम्बाइको हुन्छ । बराबरी लम्बाइ भनेको छन्दगत एकता हो । एउटा निश्चित छन्दमा ती सेरहरू हुन्छन् । पाँचवटा सेर गजलमा छन् भने पाँचवटै सेरहरू एउटै छन्दमा हुनुपर्छ । गजललाई दुई तीनवटा कुराले बनोट दिन्छ । एउटा चाहिँ अनुप्रास हो । संस्कृतमा अन्त्यानुप्रास भन्छौँ नि, त्यही हो । अर्को भनेको काफिया हो । कफिया अरबी भाषामा जहाँसुकैको अनुप्रास पनि हो । तर काफिया भनेर हामी गजलमा जेलाई भन्छौँ त्यसले अन्त्यानुप्रासतिर सङ्केत गर्छ । रदिफ छ भने रदिफभन्दा अगाडि अन्त्यानुप्रास हुन्छ । रदिफ छैन भने अन्तिममा अनुप्रास हुन्छ । रदिफ भनेको चाहिँ काफियाभन्दा पछाडि दोहोरिने उही शब्द, पद या पदावली हो । गजलको दुई दुई पङ्क्तिको पाँचवटा सेर छन् भने माथिल्लो पहिलोलाई मतला भन्छ, मतला चहिँ दुईवटै आउँछन् । कहिलेकाहीँ मतला दुई वा बढी पनि हुनसक्छन् । मुनि मुनिका सेरमा गएपछि माथिल्लो पङ्क्ति मुक्त हुन्छ र हरेक सेरको दोस्रो पङ्क्ति पहिलेको मतलासँग अन्त्यानुप्रास मिल्नुपर्ने हुन्छ, काफिया मिल्छ । 

प्राविधिक हिसाबले भन्दा ए ए, बी ए, सी ए, डी ए, इ ए जस्तो क्रममा अन्त्यानुप्रास अर्थात् काफिया हुन्छ । माथिदेखि तलसम्म एउटा छन्द हुन्छ, काफियाको त्यो क्रम हुन्छ, अनि काफियादेखि पछि रदिफ हुन सक्छ । तर रदिफ अनिवार्य छैन । पाँचवटा सेरको अन्तिम सेरलाई मकता भनिन्छ । माथि मतला थियो अन्तिम सेर चाहिँ मकता भयो । मकतामा गजल लेखकले आफ्नो उपनाम पनि राख्न सक्छ । त्यो उपनामलाई अरबी भाषामा तखलुस भन्छन् ।

कविता र गीतभन्दा गजल के के कुराले भिन्न हुन्छ ?  
गजलको मूल विशेषता भनेको पद्यमा हुनु हो । सकेसम्म लघु, गुरु मिलेको वार्णिक, वर्णमात्रिक छन्दमा आउनु राम्रो हो । त्यसमा पनि लेखकलाई छुट छ । संस्कृतमा जस्तो एकदमै लघु गुरुको कडा नियम अरबी, फारसी छन्दमा छैन । तर बहर (छन्द) मा हुनुपर्छ भन्ने चाहिँ गजलको शास्त्रीय मान्यता हो । छन्दलाई अरबीहरूले बहर भन्छन् । बहरमा हुनु चाहिँ गजलको विशेषता हो । त्यहाँ धेरै कविता बहरमै लेखिएका हुन्छन् अहिले । 

गजलमा अर्को महत्त्वपूर्ण विशेषता यो मुक्तकजस्तो आफैँमा पूर्ण हुन्छ । पाँचवटा सेर छन् भने पाँचवटा मुक्तक जस्तो आफैँमा पूर्ण अर्थ बहन गरेका हुन्छन् । गजलको पहिलो पङ्क्तिले जिज्ञासा जगाउने र दोस्रोले समाधान गर्ने हुन्छ । गजल गाउँदा पनि पहिलो पङ्क्तिलाई चार पाँच पटक गाउँछन् । गजल भन्नेले पनि चार पाँच पटक भन्छ, अनि दोस्रो पङ्क्ति गाउँदा वाह ! वाह ! भन्ने अवस्थामा पुर्याउने हो गजलले । 

गीत चाहिँ स्थायी र अन्तरामा विभक्त हुन्छ । यसका यति नै पङ्क्ति हुनुपर्छ भन्ने नियम  छैन । अनुप्रासको कडीकडाउ पनि छैन । गीतमा एकान्विति हुनुपर्छ, माथिदेखि तलसम्म एउटै भावमा हुनुपर्छ । तर गजलमा पाँचवटा सेर छन् भने पाँचथरी कुरा पनि आउन सक्छ, प्रेम, आर्थिक, सामाजिक, आध्यात्मिक आदि । गजलमा माथिदेखि तलसम्म एउटै भाव हुनुपर्छ भन्ने छैन । 

गजलमा सेर बेग्लाबेग्लै भयो भने गैरमुसलसल भन्छन् र एउटै भाव आयो भने मुसलसल भन्छन् । गैरमुसलसलको एउटा सेरमा प्रेम छ भने अर्कोमा गएपछि राजनीति वा व्यङ्ग्य पनि हुन सक्छ । बेग्लाबेग्लै भाव हुन्छ । त्यसलाई छन्द र काफियाले बाँध्छ र एउटै बनाउँछ । नत्र पाँचवटा मुक्तक हुन पुग्छ । 

त्यसले गर्दा गजलमा माथिदेखि तलसम्म एउटै छन्द, अनि काफिया ए ए, बी ए, सी ए, डी ए, इ ए जस्तो क्रममा मिलेर आएको हुन्छ । ए ए भनेको चाहिँ अन्त्यानुप्रास वा काफिया हो । जस्तो मेरै गजलको एउटा उदाहरण हेरौंः
मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन१
भागेर जाऊँ कुन ठाऊँ जाऊँ
मान्छे नमर्ने सहर हुँदैन ।२

यहाँ रहर, प्रहर र सहर काफिया वा अनुप्रास हुन् । यसमा दुई सेर छन् ।

नेपाली साहित्यमा गजलको सुरुवात कसरी भयो ? 
मोतीराम भट्ट बनारस गएका थिए । बच्चैदेखि उनले बनारसमा पढे । त्यहाँ उनले गजल सुने । पन्ना पालसँग सङ्गीत सिक्दै थिए । त्यो सिकेपछि नेपाली लेख्न थाले । नेपालमा आएर पनि उनले गजल लेख्न थाले । उनले बनारसमै पनि मोतीमण्डली बनाएर लेखे । नेपाल आएर पनि कविता लेख्ने एउटा ‘ग्याङ’ बनाए । मोतीमण्डलीको निर्माण गरे । उनले समस्यापूर्ति जस्ता कविता लेखे, लेख्न लगाए । एउटा लाइन एकजनाले लेख्ने र बाँकी श्लोक अरूलाई पूरा गर्न लगाउने जस्ता समस्यापूर्ति कविता लेखे, लेख्न लगाए ।

यो सबै उनले नेपाली भाषा साहित्यको विकासका लागि गरेका थिए । किनभने बनारसमा नेपालीमा पनि साहित्यकार छन् भन्ने देखाउनु थियो उनलाई । त्यतिबेला नेपाली भाषाकै विकासका लागि मोतीरामले समालोचना लेखे, जीवनी लेखे, नाटक लेखे, गजल लेखेका थिए । यसर्थ नेपाली भाषामा चाहिँ मोतीराम भट्टले यसको थालनी गरे । मोती मण्डलीका सदस्यहरू धेरैले लेखे । भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेलहरूले लेखे । 

तपाईंको प्रथम गजल कुन हो ? 
मेरो पहिलो गजल ‘एक फूल अनेक पत्र’मा छापिएको रहेछ । यो साझा प्रकाशनले २०५१ सालमा निकालेको गीत सङ्ग्रह हो । मैले यो गजल लेख्न त २०४५÷०४६ सालतिर लेखेको हुँदो हुँ । त्यो थाहा नपाईकन गजल बनेको रहेछ । विश्वविद्यालयमा गजल पढाउन थालेपछि २०५० सालबाट अलि सचेत भएँ म ।

तपाईंले लेखेको आफैलाई उत्कृष्ट लागेको गजल कुन हो ? 
उत्कृष्ट भन्ने पदावली चाहिँ अलि अफ्ठ्यारो कुरा भयो । मेरो अलि बढी चलेको चाहिँ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ्यौ भन्ने शीर्षकको गजल हो । अर्को भनेको कति दिन बिते यही यादमा भन्ने हो । यो विम्ब एल्बममा छ । अर्को मर्ने कसैलाई रहर हुँदैन । जमाना खराब छ, मान्छेहरूको आफ्नै चाहना खराब छ भन्न त भन्छन् सब, जमाना खराब छ । 

तपाईंलाई मनपर्ने गजलकार र उहाँको मनपर्ने गजल कुन लाग्छ ? 
मनपर्ने गजलकार त मोतीराम भट्ट हुन् । तर उनका पनि कतिपय गजलहरूमा काफिया छैनन् । मोतीरामका ३३ वटा गजल भएकोमा छ वटामा काफिया छैनन् तर छन्द, बहर ठ्याक्कै मिलेको छ । काफिया कमजोर छ, त्यसलाई गजल भन्न मिल्दैन । काफिया अनिवार्य हो, बहर पनि आवश्यक हो, त्यो मिल्नुपर्छ । होइन भने कम्तीमा पनि पद्यात्मक चाहिँ हुनै पर्यो । मोतीरामको गजलकै उदाहरण दिऊँ-

दुई आँखीभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफैँ मालिक भैगयौ सरकार पो किन चाहियो ।

गजलका क्षेत्रमा प्रवेश गरेका नवगजलकारहरूलाई गजल लेख्ने सजिलो तरिका भनिदिनुस् न ।
दुई दुई पङ्क्तिको सेर बनाउनु पर्यो । सेर भनेको बराबरी लम्बाइ भएको; भनेको बराबरी बहरलाई सङ्केत गर्यो त्यसले । मुख्यतः काफिया मिलाएर लेख्नुपर्छ, माथि माथि भनेजस्तै । त्यसरी लेख्दा जतिवटा सेर छन्, ती आफैँमा पूर्ण हुनुपर्छ । एउटा सेरलाई लिएर अर्को सेरमा जोड्न पाइँदैन । जस्तैः 

तिमी मलाई माया गछ्र्यौ भने
तिमी मेरा लागि मर्छ्यौ भने 

यहाँ दुई लाइन भयो, गछ्र्यौ र मछ्र्यौ काफिया पनि मिल्यो तर त्यसको क्रिया पूरा भएन, त्यसैले सेर पनि पूरा भएन । व्याकरण र अर्थ दुवै दृष्टिले अर्थपूर्ण हुनुपर्यो । दोस्रो, तेस्रो, चौथो सेरमा गइसकेपछि पहिलोले जिज्ञासा उठाउनुपर्यो । दोस्रोले समाधान गर्नुपर्यो । त्यसमा गम्भीरताका साथै भावको आवश्यकता पर्छ । विम्ब, प्रतीकहरू हुनुपर्छ । गजल सुन्दा सुनाउँदा वाह ! वाह ! भन्ने खालको भाव हुनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप