ad
x
पुस्तक समीक्षा

‘ऐलानी घाम’ : हाइकु कविताको गहन पुस्तक

person explore access_timeपुस २४, २०७८ chat_bubble_outline0

दिल पौडेलको ‘ऐलानी घाम’ हाइकु सङ्ग्रह प्रकाशनमा आएको छ । पुस्तक एउटै भए पनि यसमा १५१५ वटा हाइकु र ६५३ वटा सेन्र्यु सङ्ग्रह गरिका छन् । सुमिता पौडेलद्वारा प्रकाशित यस कृतिमा १०९ पृष्ठसम्म ‘ऐलानी घाम’ हाइकु सङ्कलन गरिएको छ भने त्यसपछिका पृष्ठमा ‘चिसा अगुल्टा’ सेन्र्यु सङ्ग्रहित छन् । हाइकु पाँच सात पाँच अक्षर संरचना भएको कविता हो । हाइकु र सेन्र्युमा हुने तात्त्विक भिन्नता प्रकृति विम्ब प्रयोग र व्याङ्ग्यात्मकता हो भन्छन् डा. यज्ञेश्वर निरौला । हाइकुमा प्रकृति विम्बको प्रयोग गरिन्छ भने सेन्र्युमा राजनीतिक, सांस्कृतिक चालचलनगत परिस्थितिमा देखापरेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिन्छ ।  


दिल पौडेल २०२८ सालमा सिन्धुलीको दुधौलीमा  जन्मिएका हुन् । सरकारी सेवामा समर्पित उनको पहिलो कृति ‘अधुरो जिन्दगी’ (२०५०) उपन्यास हो । यसका अतिरिक्त उनले फुटकर कविता, हाइकु र गजल सङ्ग्रहका साथै समालोचना र संस्मरणात्मक निबन्ध सङ्ग्रह पनि प्रकाशित छन् । ऐलानी घाम भर्खरै प्रकाशित हाइकु सङ्ग्रह हो ।



हाइकु कविताको सुरुवात कहिलेदेखि भयो भनेर खोज्दै जाँदा १४औँ शताब्दीतिर पुग्नुपर्ने हुन्छ । त्यो समयमा जापानी नागरिक यामाजाकी र आराकिदा मोरिताले यो विधाको सुरुवात गरेका भेटिन्छ तर विधागत संरचनाभित्र समेटिएको पाइँदैन । तर पछि माचुओ बोसोले विधागत संरचनाको निर्माण गरे, हाइकु कविताको सिर्जना, वृद्धि र विकास गरे । उनले नै यसलाई जनमनलाई स्पर्श गर्ने खालका रचना गरे । अनि गुणस्तरीय र उत्कृष्ट लघुतम कविताका रूपमा स्थापित गर्ने काम गरे । यसरी जापानी साहित्यमा नयाँ आयाम थपेका हुनाले उनलाई हाइकुका आदिकवि भन्छि । तर यो विधा नेपाली साहित्यमा धेरै पछि आएको हो । हाइकुलाई नेपाली साहित्यमा भित्र्याउने काम शङ्कर लामिछानेले गरेका हुन् । उनले २०१९ सालमा रूपरेखा पत्रिकाको भदौ अङ्कमा ‘सूर्योदय’ शीर्षकको हाइकु प्रकाशन गरेपछि नेपाली साहित्यमा हाइकु लेखन परम्परा भित्रिएको हो ।



पौडेलले यो हाइकु सङ्ग्रह विश्व महामारी कोभिड–१९ को लहरको निषेधाज्ञाका अवधिमा लेखेका हुन् । यसमा प्रशासनिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरेका छन् । महामारीमा नेपाली जनताले भोगेका पीडाहरुलाई केन्द्रमा राखेर लेखिए पनि यसभित्र कर्मचारीका शोषण, दमन र कानुनी जन्जालबारे व्यङ्ग्य गरिएको छ । तथापि यो हाइकु सङ्ग्रहमा सुरुमा आफूलाई जन्म दिने आमा बुबालाई प्रणाम गरेर सुरु गरेका छन् ।



नव आकाश



प्रणाम बुबा आमा



प्रभा दिवस !



उनले आफूलाई यस धर्तीमा जन्मदिने बुबाआमालाई प्रणाम गरेका छन्, यो उज्यालो संसार देखाउने प्रकाशको किरणका आमाबुवालाई चित्रण गरेका छन् । आफ्नो जन्मिएको हुर्किएका गाउँका, समाजका, संस्कृतिका विम्बहरु यसमा धेरै आएका छन् ।

रातमै घम

थुम्की गाउँ प्रणाम

टाँकीको लाम !

उनले आफ्नो थुम्की गाउँप्रति श्रद्धा प्रकट गरेका छन् । उनले जटायु, अग्निकुण्ड, गङ्गा, शालिग्राम, पाण्डव जस्ता पौराणिक विम्बहरुको पनि प्रयोग गरेका छन् ।

दशौँ हाइकुमा यस सङ्ग्रहको नाम ऐलानी घामको विम्ब यसरी प्रयोग गरेका छन् ।

छुसी तुसारो

गढतीरको बाटो

ऐलानी घाम !

ऐलानी घाम यस हाइकु  सङ्ग्रहको नाम हो । ऐलानीको अर्थ आवादका लागि खुला गरिएको तर कसैको नाममा दर्ता नभएको सरकारी जग्गा भन्ने हुन्छ । यसमा आम नागरिकको कुनै हक हुँदैन । कोभिडको विपत्तिमा रहेका बेला रचिएको हुनाले यसलाई सोही सन्दर्भमा हेर्नुपर्ने हुन्छ । केभिडले थला परेका नागरिकहरु उपचार नपाएर सरकारलाई हारगुहार गरिरहेका थिए । तर सरकारमा रहेका व्यक्तिहरु भने लास गनेर त्यसैका नाममा भ्रष्टाचार गर्दै थिए । खोप ल्याउने नाममा, औषधि खरिद गर्ने नाममा धेरै भ्रष्टाचारहरु भए । यी हाइकु लेख्दै गर्दा अधिकांश अस्पतालमा कोभिडका बिरामीहरु बेड नपाएर चौरमा नै बस्न बाध्य थिए । बिरामीहरु अक्सिजन नपाएर अस्पतालका भुइँभरि छटपटाइरहेका थिए, बिरामीका आफन्तहरुबीच अक्सिजन सिलिन्डर खोसाखोसको अवस्था थियो । तर जनताको करमा हालीमुहाली गर्नेहरु कताबाट भ्रष्टाचार गर्न पाइन्छ भनेर लागिरहेका थिए । त्यो अवस्थालाई लेखकले चित्रण गरेका छन् । दुःखी गरिब जनताको सेवा गर्छु भनेर राज्यको बागडोर सम्हालेका नेता र नेतृत्वप्रति उनले व्यङ्ग्य गरेको छ । केही उदाहरण ः

हुँडार वेश

काँडाहरू बग्रेल्ती

झर्झर देश ! (१६)

जीवन टोटा

नेतालाई तिहार

झुपडी तट ! (१८)

भूत झटारो

महाभारत यम

कोब्राको राज्य ! (२०)

सत्ताका जुम्रा

कुरापार्कमा लाम !

कालो बदाम ! (१५६)

सत्ताको डण्डा

योजना डाँबाडोल

जेठमा ठण्डा ! (३१०)

देशमा राणा शासन अन्त्य भयो, पञ्चायती व्यवस्थाको अन्त्य भयो तर सरकारी कर्मचारीको मानसिकतामा कुनै परिवर्तन हुन नसकेको उनका हइकुमा पाइन्छ । जसले हाकिमको चाकडी, चाप्लुसी र सेवा गर्यो उसैको बढुवा हुने, सेवा सुविधा पाउने जस्ता विकृति झन् बढ्दै गएको चित्रण यसमा छ । शासन व्यवस्था फेरिए पनि कर्मचारीमा राणकालीन र पञ्चायतकालीन चाप्लुसी र भ्रष्टाचारी प्रवृत्तिमा कुनै परिवर्तन नआएको प्रति यसरी व्यङ्ग्य गर्छन् ।

बुद्धिको व्यापार

रकमी कर्मचारी

खाँटी गुलाम ! (५७)

हाकिम मोटा

अड्डाको बहिरङ्ग

राजस्व खोटा (२२३)

शठ सहारा

फाइल तलमाथि

पुग्दो आहारा ! (२१०)

यसरी रकम (घुस) लिएर मात्र काम गर्ने प्रवृत्ति कर्मचारीमा बढ्दै गएको, तल्ला तहका कर्मचारी खाटी गुलाम भएको, घुस नदिने सेवाग्राही जनताको फाइल नै गायव गरिदिने घृणित कार्यप्रति  व्यङ्य गरिएको छ । यस्ता कार्य जनताले रातदिन भोग्दै आएका छन् । हरेक कुरामा दलाल नलगाई काम हुने अवस्था छैन । घुसबिना कुनै काम हुन सक्दैन । यो आम नेपालीजनको भोगाइ हो ।

त्यतिमात्र होइन, शासन व्यवस्था खराब भयो भनेर विभिन्न समयमा आन्दोलन र क्रान्ति गर्ने राजनीतिक दलहरुले पनि जनतालाई दिएको सास्ती कम छैन । परिवर्तन पछि समृद्धि हासिल हुने चाहनाले हजारौँ हजार जनताले त्याग र बलिदान दिए । देशमा लोकतन्त्र आयो तर यस लोकतन्त्रबाट सर्वसाधारणले झन् बढी दुःख पाए । लोकतन्त्र र गणतन्त्रको नाममा सुकिला मुकिला, धनसम्पत्ति र शक्ति सम्पन्नले मात्रै राज्यका सेवा सुविधाको उपयोग गरे । यस्ता घृणित कार्यप्रति हाइकु कवि पौडेलले कडा व्यङ्ग्य हानेका छन् । सुख समृद्धि र स्वतन्त्रताका लागि मधेसमा धेरै युवाले ज्यानको आहुति दिए तर त्यसको दुरुपयोग भयो । सबै फुट र राज गरमा मात्र केन्द्रित भए । त्यसका नाइकेहरु पनि सत्ताकै चाकडीमा लागे र जनतालाई बेवास्ता गरको प्रति कविले यसरी व्यङ्ग्य गरेका छन् ।

घाउ मधेस

युद्धभूमिमा प्रवेश

लडका दोहन ! (७१)

फुटमा लुट

बलिदानका मर्म

कुरो न चुरो ! (४५)

अतः कवि दिल पौडेलका हाइकु र सेन्र्यु कानुन, राजनीति, प्रजातन्त्र, सरकारका विकृति, गरिबी प्रेम आदिका विषयमा केन्द्रित छन् । उनले मानव जीवन, समाज तथा देशमा देखापरेका विकृतिलाई यथार्थ तरिकाले व्यङ्ग्य गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।