शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा एमाले खोटाङको बन्दसत्र सुरु

शुक्रबार, २३ पुस २०७८, २१ : २७
शुक्रबार, २३ पुस २०७८

नेकपा एमाले खोटाङको बन्दसत्र सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी सातौं जिल्ला अधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको हो । बन्दसत्र एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

शुक्रबार बेलुका ७ बजेपछि सुरु भएको बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत भइरहेको छ । प्रस्तुत प्रतिवेदन छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको चरणमा बन्दसत्र पुग्ने छ । 

‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्र गतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारा सहित सुरु भएको अधिवेशनमा आकांक्षी धेरै देखिए पनि सर्व सहमतिमा एमालेको नेतृत्व चयन हुने एमालेले जनाएको छ । 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने छ । बन्दसत्रका लागि प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य भट्टराईको संयोजकत्वमा आठ सदस्यीय अध्यक्ष मण्डल र नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । 

अधिवेशन उद्घाटन–सत्रमा प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य भट्टराई, केन्द्रीय सदस्यहरू खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

अधिवेशनमा जिल्ला अधिवेशनमा वडा, गाउँपालिका, नगरपालिका कमिटी, सल्लाहकार परिषद्, कम्युनिस्ट मञ्च, खोटाङ–काठमाडौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसङ्ख्यक, सीमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागिता रहेको अधिवेशन प्रचार–प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप