शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

संकटा हारबाट जोगिँदा एपिएफ र जावलाखेलले अंक बाँडे

शुक्रबार, २३ पुस २०७८, १९ : ०९
शुक्रबार, २३ पुस २०७८

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले लिएको थियो । २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो । तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीको अवस्थामा ल्याएका थिए । दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौ बराबरी खेलेको छ । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम ररहेको छ ।

यस्तो शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । तालिकामा सम्मान जनक स्थान हाँसिल गर्न जितको खोजिमा रहेका दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।

बराबरीपछि  एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ  । जावलाखेल नवौं स्थानमा यथावत रहेको छ । लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप