शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले हार स्वीकार गरिसके : माधव नेपाल

शुक्रबार, २३ पुस २०७८, १६ : २७
शुक्रबार, २३ पुस २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् । 

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । सोही भनाईलाई उदृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे ।

उनले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए । जिल्ला जिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाई थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए ।

उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दावी पनि गरे  । अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याए ।

उनले भने, ‘आज तपाईहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । सुन्नुभयो, हैन ? हार स्वीकार गरेका छन् । पराजय स्वीकार गरेका छन् । तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने । ७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभरी एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन ।’ 

अध्यक्ष नेपालले थप भने, ‘जिल्ला जिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो । तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन । एकल नेतृत्व । नेताको देवत्वकरण, उनीलाई देउताजस्तो मान्ने । त्यहाँ आलोचनात्मक चेत भएका मानिसहरु छैनन् ।  त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरू, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै त्यहाँ ठाउँ छ । त्यसो हुनाले त्यो समूहभित्र विद्रोह भइरहेको छ ।’

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए ।  उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप