शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति अस्पतालमा आइभीएफ सेवा पुनः सुरु

सातै प्रदेशमा सेवा सञ्चालन गर्ने उद्घोष
शुक्रबार, २३ पुस २०७८, १५ : ४९
शुक्रबार, २३ पुस २०७८

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले कृत्रिम गर्भाधान अर्थात् आइभीएफ सेवा पुनः सञ्चालनमा ल्याएको छ । २०७२ सालको भूकम्पपछि प्रसूतीमा आइभीएफ सेवा करिब ५ वर्षसम्म बन्द थियो । अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार आइभीएफ सेवा गत मङ्सिरबाट पहिलो ब्याच सुरु भएको हो । अब दोस्रो ब्याच फागुनकोे दोस्रो साताबाट सुरु गर्ने योजना छ ।  

प्रसूति गृहले ०६९ सालबाट आइभीएफ सेवा सुरु गरेपछि  ५ वर्षको अवधिमा १९ ब्याचमा १२९ जनाले सेवा लिएका थिए ।  यस सेवाको अधिक माग भएपनि भौतिक संरचना र जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन नसकिएको उपनिर्देशक डा. अधिकारीले बताए । 

प्रसूति अस्पतालले ०२९ सालबाट ‘इनफर्टिलिटी क्लिनिक’ सातामा एक पटक सञ्चालनमा ल्याएको थियो । त्यसपछि २०६३ सालमा आइयुआइ (इन्ट्रायुटेरिन इन्सिमिनेसन) सुरु भएको डा. अधिकारीले जानकारी दिए । यस प्रविधिबाट दैनिक ३ देखि ७ जनाले सेवा लिइरहेको जनाउँदै उनले भने, ‘यस प्रविधिबाट पुरुषमा वीर्य कम भएमा वीर्यलाई धोएर पाठेघरमा राखिन्छ ।’  

प्रसूति अस्पतालमा बार्षिक २० देखि २२ हजार गर्भवती महिलाले प्रसूति सेवा लिने गर्छन् । प्रत्येक दिन २ सय ५० देखि ३ सय जना महिलाले स्त्रीरोगसम्बन्धि जाँच गराउँछन्, जसमध्ये १० देखि १५ प्रतिशत महिलामा बाँझोपनको समस्या देखिन्छ । तीमध्ये ५ देखि ७ जनालाई आइभीएफ सेवा आवश्यकता पर्ने देखिएको डा.अधिकारीले बताए । 

सरकारीमा आइभीएफ सेवा सस्तो 

नेपालमा करिब १३ वटा आइभीएफ सेन्टर सञ्चालनमा छन् । आइभीएफ सेवा निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा सस्तो र सुलभ छ ।  डा. अधिकारीका अनुसार निजीमा यो सेवा लिँदा साढे २ लाखदेखि ५ लाख रुपैंयासम्म खर्च हुन्छ । प्रसूति गृहमा भने जम्मा दुईदेखि साढे दुई लाखसम्म खर्च लाग्छ । 

प्रसूति अस्पतालले आइभीएफ सेवा पुनः सञ्चालन गरेपनि पर्याप्त जनशक्ति छैन । आइभीएफ सेन्टर सञ्चालनका लागि स्त्रीरोग विशेषज्ञ, इम्ब्रायोलोजिस्ट, नर्स लगायतको कम्तिमा १० जना जनशक्तिसहित चाहिन्छ । तर सो सेवाका लागि हाल ८ जना मात्रै रहेको अस्पतालले जनाएको छ । 

यस्तै, प्रसूति अस्पतालले आइभीएफसम्बन्धी रिप्रोडक्टिभ एण्ड इन्डोक्राइनोलोस्टि सम्बन्धि एक बर्षे फेलोसिप कोर्स सञ्चालनका लागि न्याम्समा प्रस्ताव राखेको समेत डा. अधिकारीले जनाए । आइभीएफका लागि बाहिरबाट विषेशज्ञ ल्याउनुपर्ने भएकाले यो सेवा मँहगो पर्ने हुँदा यससम्बन्धी तालिम नेपालमै दिन सके धेरै सहज हुने उनको भनाइ छ । 

उपत्यकाकै सरकारी आइभीएफ सेवा दक्ष जनशक्ति र प्रविधिको अभावमा निरन्तर सञ्चालनमा ल्याउन हम्मे हम्मे परिरहेको छ । तर सरकारले सातै प्रदेशमा आइभीएफ सेवा सञ्चालन गर्ने महत्वाकांक्षी योजना उद्घोष गरेको छ । 

यी कारणले हुन्छ बाँझोपन

पछिल्लो समय बाँझोपनको समस्या तुलनात्मक रुपमा बढ्दै गएको छ । विश्वव्यापी अध्ययनलाई हेर्दा पनि बच्चा जन्माउने उमेरका महिला र पुरुषहरुमध्ये १० देखि १५ प्रतिशतमा बाँझोपनको समस्या देखिने गर्छ । पछिल्लो समय  ढिला विवाह गर्ने तथा ढिला बच्चा जन्माउने, असुरक्षित यौन सम्पर्कका कारण असुरक्षित गर्भपतन, जथाभावी गर्भनिरोधक औषधिको सेवन, मोटोपन, असन्तुलित खानपान, मद्यपान, धुम्रपान आदिका कारण बाँझोपनको समस्या बढ्दै गएको डा अधिकारी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप